जुवा खालबाट वडा अध्यक्षसहित १५ पक्राउ

सुर्खेत, ३० कार्तिक
जुवाको खालबाट वडा अध्यक्षसहित १५ जना पक्राउ परेका छन् । पञ्चपुरी नगरपालिका वडा नं. २ साल्कोटका वडा अध्यक्ष जगत विसीसहित १५ जनालाई शनिबार राती प्रहरीले श्रीचौरबाट पक्राउ गरेको हो । तिहारको अवसरमा जुवा खेल्दै गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बावियाचौरबाट खटिएको प्रहरी टोलीले जुवाडेहरुलाई पक्राउ गरेको थियो ।

जुवाको खालबाट तीन लाखबढी नगद सहित १५ जना जुवाडेहरु पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।  जुवाको खालबाट वडा अध्यक्ष सहित पक्राउ परेपछि इलाका प्रहरी कार्यालय वावियाचौरलाई घटना थामथुम पार्न हम्मेहम्मे परेको छ । भर्खरै इलाका प्रहरी कार्यालय वावियाचौरको नेतृत्व सम्हालेका प्रहरी निरिक्षक बखत शाहीलाई पक्राउ परेका वडा अध्यक्षसहित जिल्ला बुझाउने कि उनलाई छोडेर अरुलाई जिल्ला पठाउने दोधारमा परेका छन् ।


इलाका प्रहरी कार्यालयको नेतृत्व सम्हालेको केही दिनमै जुवाडे जनप्रतिनिधि पक्राउ गरेपछि राजनीतिक बृत्तमा जनप्रतिनिधि जोगाउन सहयोग गर्न ठुलै राजनीतिक दवाव परेको छ । नगद र केही धनमालसहित जुवाको खालबाट पक्राउ परेका जनप्रनिधिलाई जोगाउने वा मुद्धा चलाउने भन्ने विषयमा प्रहरीभित्र ठुलै खैलाबैला मच्चिएको छ ।

जिल्ला प्रहरी स्रोतले दिएको जानकारी अनुसार पञ्चपुरी न.पा. का रमेश बोहोरा बर्ष ३१, नविन शर्मा बर्ष ३०, चन्द्रविर रावत बर्ष ५०, बालाराम रोकाय बर्ष २८, जगत बहादुर विसी ५४ बर्ष, अग्नी शर्मा बर्ष ६१, पूर्ण सुवेदी बर्ष ३८, खगेन्द्र जैसी बर्ष ३४, सुशिल कुमार बुढा बर्ष ३८, नवराज शर्मा बर्ष ४८, हर्क बहादुर बुढा बर्ष ३४, लिल बहादुर बर्ष १९, कर्ण बहादुर बुढा बर्ष २४, शिव खनाल बर्ष ४० र बराहताल–७ का चक्र बहादुर खड्का पक्राउ गरी बावियाचौर प्रहरी कार्यालय हिरासतमा राखिएको छ ।


1 thought on “जुवा खालबाट वडा अध्यक्षसहित १५ पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार