कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्रीको बालुटारमा चर्चा

दीपक बुढा/सुर्खेत, ९ भदौं ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको विवाद करिव करिव टुङ्गीने चरणमा पुगेकोछ । नेकपा दुई अध्यक्षको प्रस्तावमा सचिवालयले गठन गरेको विवाद समाधान कार्यदलको प्रतिवेदन दुवै अध्यक्षलाई बुझाइएको छ । कार्यदलको प्रतिवेदनमा दुवै अध्यक्ष केपि शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले सहमति जनाएपछि विवाद करिव टुङ्गीएको हो ।

नेकपा सचिवालय बैठकबाट प्रतिवेदन निर्णय गरेर औपचारिक रुपमा स्वीकृत गर्न भने बाँकी रहेको छ । प्रतिवेदन सार्वजनिक भएपछि कार्यान्वयनको छलफल नेता तहमा चलेको छ । संघीय सरकारका मन्त्री र प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीहरु फेरबदल गर्ने गरी संघीय राजधानी काठमाडांै, प्रधानमन्त्री सरकारी निवास बालुटारमा चर्चा सुरु भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओलीले कर्णाली प्रदेश, नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ नम्बर प्रदेश, नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले वागमती प्रदेश र नेकपा नेता झलनाथ खनालले १ नम्बर प्रदेश लिने गरी करिव करिव सहमतिका लागि प्रस्तावहरु आएको स्रोतको दावि छ ।

मन्त्री भएको दुई बर्ष अवधि पुरा भएका संघीय सरकारका मन्त्री, चार वटा प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु परिवर्तनको चर्चा सुरु भएको छ । प्रदेश नं. १ को मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेशको मुख्यमन्त्री डोरमणी पौडेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही परिवर्तनको लिष्टमा परेको कार्यदल एक सदस्यको भनाई छ । कमजोर कार्यक्षमता भएका कारण र नेकपा भित्रका अन्य नेताहरुलाई समेत व्यवस्थापन गर्नुपर्ने देखिएपछि प्रदेशका मुख्यमन्त्रीहरु परिवर्तन गर्ने पक्षमा दुवै अध्यक्षवीच छलफल चलिरहेको जनाइएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओलीले आफ्नो सचिवालयमा वा पार्टीभित्रको काममा भूमिका बढाउने आवश्यकता ठानेपछि प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई मुख्यमन्त्रीबाट राजिनामा गराएर साविक एनेकपा माओवादीलाई दिने तयारी भैरहेको स्रोतको दावि छ । प्रदेश नं. ५ एनेकपा माओवादीलाई दिँदा कर्णाली प्रदेश साविक नेकपा एमालेका नेताका लागि बाटो खुल्ला भएको छ ।

नेकपा नेताहरुले समेत आ–आफ्नो प्रदेशमा नाम लिष्ट तयारी गरेर बसेका छन् । प्रदेश नं. १ मा शेरधन राईको ठाउँमा नेकपा बरिष्ठ नेता झलनाथ खनालले साविक एमालेका सचिवसमेत रहेका भिम आचार्य मुख्यमन्त्री बनाउने प्रस्ताव गरेका छन् । वागमती प्रदेश नेकपा बरिष्ठ नेता माधव नेपाल पक्षले अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरेको स्रोतको दावि छ । प्रदेश नं. ५ मा नेकपा अध्यक्ष प्रचण्डले हालका गृहमन्त्री कुल प्रसाद केसीलाई मुख्यमन्त्री बनाउने कि नयाँ अनुसार पठाउने छलफलमै रहेको, मुख नखोलेको स्रोतको दावि छ । कर्णाली प्रदेश प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओलीले आफुलाई दिनुपर्ने प्रस्ताव गरेका छन् ।

मुख्यमन्त्रीको लागि तयारी अवस्थामा रहेका नेकपा कर्णाली प्रदेश सहइन्चार्ज यामलाल कँडेल र भागबण्डाको दाउ हेरेर बसेका हालका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । कर्णाली प्रदेश साविक नेकपा एमालेको भागमा पर्दा दुवै नेता मुख्यमन्त्रीका लागि तयारी अवस्थामा रहेका छन् । ज्वाला मन्त्री भैसकेको हुँदा मुख्यमन्त्री कुरेर बसेका नेकपा कर्णाली प्रदेश सहइन्चार्ज तथा प्रदेश सभा सदस्य यमलाल कँडेललाई मुख्यमन्त्री बनाउने विषयमा संघीय राजधानी काठमाडौं बालुवाटार, खुमलटार, भैसेपाटी, कोटेश्वरमा नेकपा अध्यक्षद्धय, बरिष्ठ नेताहरु, कार्यदल सदस्यहरुका बिच छलफल पेचिलो बनेको छ ।

नेकपाका दुई अध्यक्षवीच भएको छलफलमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश साविक नेकपा एमालेको लागि प्रस्ताव गरेको स्रोतको भनाई छ । ओलीको प्रस्तावपछि अर्का अध्यक्ष प्रचण्डले छलफल गरेर प्रस्तावको टुङ्गो लगाउने तयारीमा रहेको एक कार्यदल सदस्यले जानकारी दिए । नेकपा अध्यक्ष प्रचण्डले नेकपा नेता माधव नेपाल पक्षसंग छलफल गरेपछि प्याकेजमै मन्त्री, मुख्यमन्त्री र प्रदेशका मन्त्रीहरु परिवर्तनको टुङ्गो लाग्ने स्रोतको दावि छ । एक साताभित्र मन्त्री, मुख्यमन्त्री प्रदेशका मन्त्रीहरु टुङ्गो लाग्ने गरी छलफल चलिरहेको स्रोतको दावि छ ।

तपाईको प्रतिक्रिया