मुगुका १२ गाउँ पहिरोको उच्च जोखिममा

मुगु, ३२ साउन ।
मुगुका १२ वटा गाउँ पहिरोको उच्च जोखिममा छन् । रिघा, कम्फा, चराप, कालापाल्ता, रावलबाडा, भियालबाडा, माग्री, गमगढी, गाडेखोला, भटडाडी, चरापलगायत बस्ती पहिरोको जोखिममा परेका हुन् । छायानाथरारा नगरपालिकास्थित २१ घरधुरी रहेको भियालबाडा दलित बस्तीमा वर्षा सुरु भएसँगै गाउँमाथिबाट पहिरो खस्ने क्रम जारी छ ।

गाउँमुनि कर्णाली नदीले जमिन कटान गर्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन् । केही घरहरु पहिरोले पुरिन थालेपछि नजिकैको लुम्सबगरमा बस्न थालेको स्थानीय नन्दबहादुर नेपालीले बताए । उनका अनुसार नजिकैको भटडाडीगाउँमा पनि पहिरोको त्रास छ । गाउँमुनिबाट पहिरो खस् न थालेपछि कम्फाका ४२ परिवार पनि त्रासै त्रासमा घरमा बस्न बाध्य भएको उनले जानकारी दिए ।

खत्याड गाउँपालिका–७ र ८ स्थित रिघागाउँ पहिरोको उच्च जोखिममा परेपछि ठूलो वर्षा हुँदा स्थानीयबासी पिपलचौतारामा जम्मा भएर बस्ने गरेका छन् । २ वर्षअघि गाउँमाथिबाट खसेको पहिरोले १४ घर पुरेको थियो । ‘फेरि ठूलो पहिरो आएर गाउँ नै पुर्ने हो कि भन् ने चिन्ता छ,’ स्थानीय मनोज गिरीले भने, ‘पहिरोको डरले धेरै रात अनिदो बसियो ।’

ताल्चा विमानस्थलको ढल कालापाल्ता बस्तीमा पस् न थालेपछि एक दर्जन स्थानीयको जग्गा पहिरोले बगाएको छ । पहिरोको जोखिम बढ्दै गएपछि पानी परेको रात जाग्राम बस्ने गरेको स्थानीय प्रविण रावलले गुनासो गरे । बाढी–पहिरो जानसक्ने क्षेत्रमा पूर्वतयारी थालिएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौला बताउँछन् । ‘प्रकोप भए ठूलो क्षति नहोस् भनेर उद्दार टोली तयारी अवस्थामा राखेका छौं,’ उनले भने, ‘सबै स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गरी पूर्वतयारीका लागि क्रियाशील बनाइएको छ ।’

तपाईको प्रतिक्रिया