सल्यान, १७ असार ।
दार्मा गाउँपालिका दुई कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयबाट प्रदान हुने सबै सेवा बन्द गरिएको छ । सोमबार गाउँपालिकाका पाँचजनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये दुई कर्मचारी र तीनजना क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् ।
उनीहरुलाई गाउँपालिकाको आइसोलेसनमा राखिएको छ । कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएकाले समुदाय स्तरमा नफैलियोस् भनी गाउँपालिकाका कार्यालयको सबै नियमित कामकाज बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले जानकारी दिए ।
कर्मचारीमा कोरोना पुष्टि भएपछि गाउँपालिकाले सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी र संक्रमितको सम्पर्कमा आएकाहरुको मंगलबार स्वाव संकलन गरिने खड्काले बताए । दार्मा गाउँपालिकामा यसअघि नौजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसबै निको भएर घर फर्किसकेका छन् ।
युग संवाददाता । । १७ असार २०७७, बुधबार १०:२७