कोरोना संक्रमणबाट एक किशोरीको मृत्यु

काठमाडौं, १० साउन ।

बारामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा स्थायी घर भएकी १७ वर्षिया किशोरीको कोरोनाका कारण मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बाराको परवानीपुर ८ की १७ वर्षिया किशोरीको साउन ९ गते शुक्रबार गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । बुधबार स्वास्थ्यमा समस्या आएपछि विरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना भएकी ती किशोरीको आरडिटी पोेजेटिभ देखिएको थियो ।

त्यस लगत्तै उनलाई कोभिड अस्पताल रिफर गरिएको थियो । ८ गते स्वाव संकलन गरिएकोमा ९ गते कोरोना पुष्टि भएको थियो । किशोरीमा अक्सिजनको मात्रा कम हुनुका साथै पाखाला लाग्ने, जिउ काप्ने र स्वासप्रश्वासमा समेत समस्या देखिएको प्रवक्ता डा. गौतमले बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

यस्तै नेपालभर शनिबार १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न अस्पतालमा ४ हजार ७५ पीसीआर परीक्षणमा १ सय ९ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ ।

हाल देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ३ सय ८५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । शनिबार १ सय ६ जना संक्रमणमुक्त भई घर फर्किएका छन् । योसंगै कोरोना संक्रमण मुक्त भई घर फर्किनेको संख्या १३ हजार ५३ पुगेको छ ।

तपाईको प्रतिक्रिया