राष्ट्रिय धान दिवस

किसानलाई कोरोना र सलहले थप्यो चुनौती

सुर्खेतमा औपचारिक कार्यक्रम नहुने

सुर्खेत, १५ असार । आज असार १५ गते राष्ट्रिय धान दिवस । आजको दिन दही च्यूरा खाने दिनका रुपमा पनि प्रचलित छ । ‘मुठी खाएर मुरी उब्जाउने’ महिनाका रुपका लिइने असार १५ का दिन भने नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाउने गरिन्छ । कृषि प्रधान देश नेपालका अधिकांश मानिसको पेशा कृषि नै हो ।

कृषि प्रधान देश भएपनि कृषि खेतीमा प्रविधि र यान्त्रिकीकरण गर्न नसक्दा, जनशक्ति कामका लागि आफ्नो ठाउँ छोडी विदेश पलायन हुँदा मुलुक खाद्यान्नका लागि परनिर्भर हुने गरेको छ । यस वर्ष कृषकलाई कोरोनाको कहर त थियो नै सलहको अर्को प्राकृतिक आपत् पनि थपिएको छ । जसले किसान चिन्तित भएका छन् ।

नेपालको मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा धान खेती हुँदै आएको छ । नेपालमा मौसमको आधारमा चैते, बर्खे, घैया र बोरो धानको खेती हुँदै आएको छ । नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४८ दशमलव ३ प्रतिशत जमिनमा धान खेती गरिन्छ । त्यस्तै, कर्णाली प्रदेशमा धान उत्पादन हुने ४९ हजार ४ सय २५ हेक्टर जमिन छ । त्यसमध्ये आइतवारसम्म १९ हजार १ सय १७ हेक्टर जमिनमा रोपाई सम्पन्न भइसकेको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।

नेपालमा वि.सं. २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि संयुक्त राष्ट्रसंघले समेत सन् १९६६ लाई धानबाली बर्षका रूपमा मनाएको थियो ।

नेपालमा करिब १४ लाख २५ हजार हेक्टर जमिन धान खेतीका लागि योग्य रहेको कृषि मन्त्रालयको आँकडा छ । नेपालको कुल ग्राहस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशत कृषि क्षेत्रको योगदान छ ।

आज खेतखेतमा रोपाँईको चटारो देखिन्छ भने रोपाँई गरिसकेका किसानले खेतमा गएर दहि चिउरा खाने गर्दछन् । रोपाँईमा असारको फल मानिने आँप, कटहर सहित दहि र चिउरा खाइन्छ । असारे भाखा हाली गीत गाउँनु रोपाँईको अर्को आकर्षण हो । रोपाँईमा बाउसे र लाठेहरुले गरा सम्याउने र आली मिलाउने काम गर्दछन् भने रोपाहारहरुले धानको बिउ खेतको हिलोमा रोप्दछन् ।

यसवर्ष असार लागेसँगै मनसुन शुरु भएकाले कृषकलाई असार १५ चटारोका रुपमा देखिएको छ । नेपालमा सामान्यतया जेठ अन्तिम सातादेखि मनसुन सुरू हुने गर्दछ । अधिकांश किसान अकाशे पानीमा भर पर्नुपर्ने बाध्यताका कारण पनि जहिले पानी पर्छ त्यही बेला मौका छोप्नुपर्ने अवस्था छ । देशमा कुल धान खेतीको करिब २१ प्रतिशत क्षेत्रफलमा मात्रै सिंचाई सुविधा उपलब्ध छ ।

जुम्लाको मार्सी धान नेपालभरी नै कहलिएको धान हो । आइतवारसम्म जुम्लामा ९७ प्रतिशत रोपाई सकिएको छ ।

धान विश्वको प्रमुख बाली हो । यसको वैज्ञानिक नाम ओरिजा सेटिभा हो । खोज अनुसन्धान अनुसार धान सबैभन्दा पुरानो बालीमध्ये एक हो । यसको खेती हजारौं वर्ष पहिले नै गरिएको थियो ।

औपचारिक कार्यक्रम नहुने

यस वर्ष असार १५ गते धान दिवसका दिन कुनै पनि औपचारिक कार्यक्रम नहुने भएका छन् । अघिल्ला वर्षमा तामझामसहित मनाइएको धान दिवस यस वर्ष कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण कुनै औैपचारिक कार्यक्रम नहुने भएका हुन् ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यस वर्ष कोरोनाका कारण कार्यक्रमको आयोजना नगर्ने बताएको छ । मन्त्रालयका प्रवक्ता हरि पण्डितले कोरोना जोखिमका कारण पहिलेको जस्तो औपचारिक कार्यक्रम नराखिएको बताए ।

तपाईको प्रतिक्रिया