अब कर्णाली भित्रिने दुर्गमका नागरिकलाई सुर्खेतमै राखिने

सुर्खेत, १९ जेष्ठ ।
कर्णालीमा अब बाहिरबाट भित्रिने दुर्गम जिल्लाका नागरिकलाई सुर्खेतमै स्थापना गरिएका क्वारेन्टाइनमा राखिने भएको छ । कोरोना संक्रमित क्षेत्र, भारत र तेस्रो मुलुकबाट आउने हुम्ला, डोल्पा र मुगुका नागरिकलाई सुर्खेतकै क्वारेन्टाइनमा राखिने भएको हो । सुर्खेतको क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य परीक्षण अर्थात कोरोना नभएको पुष्टि भएपछि मात्रै गाउँ पठाइने प्रदेश सरकारले निर्णय गरेको छ । ति जिल्लाका नागरिकलाई पहिले गाडीमा घर पठाउने र हेलिकोप्टर चार्टर्ड गरेर स्वास्थ्य परीक्षण तथा डाक्टरहरु खटाउँदा सरकारको दोब्बरो खर्च गरिरहेको भन्दै आलोचना हुन थालेपछि आइतबार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

‘डोल्पा, मुगु र हुम्लामा कोरोना संक्रमणको जोखिम कम छ, ति जिल्लामा अब बाहिरबाट आउने नागरिकहरु पनि थोरै छन्’ मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले भन्यो,‘दुर्गममा संक्रमण रोक्न र सरकारको दोहोर खर्च जोगाउन पनि यस्तो निर्णय गरिएको हो ।’ तीन जिल्ला मध्ये डोल्पामा सबैभन्दा कम अर्थात एकहजार नागरिक मात्रै भित्रन सक्ने अनुमान केन्द्रले गरेको छ । ‘पहिले पनि दुर्गमका नागरिकलाई सुर्खेतमा रोक्न नसक्दा हेलिकोप्टर चार्टर्ड गरेर स्वाब संकलन गर्दा दोम्बर खर्च लाग्यो, त्यो खर्चले उहाँहरुलाई सुर्खेतमा राख्न सकिने रहेछ’ स्रोतले भन्यो, ‘हिमाली जिल्लाका नागरिकलाई सुर्खेतमै राख्दा सरकारको खर्च कटौती हुन्छ, दुर्गममा संक्रमणको खत्तरा पनि कम हुन्छ ।’

यसअघि पनि ति जिल्लामा गएका सम्पूर्ण नागरिकलाई कोरोना परीक्षण गरि सकिएको छ । पुल टेष्ट अर्थात संयुक्त विधिबाट गरिएको परीक्षणमा ती जिल्लाहरु कोरोना संक्रमणमुक्त देखिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले मुगु र हुम्लामा विदेशबाट आएका सम्पूर्ण नागरिकको पुल टेष्ट विधिबाट कोरोना परीक्षण गरिसकेको छ ।

परीक्षणका कुनै पनि नागरिक कोरोना संक्रमण देखिएको छैन । अब पनि दुर्गममा संक्रमण फैलिए थेग्न गाह्रो हुने र महामारीको रुप लिनसक्ने समितिको निष्कर्ष छ । यही जोखिमलाई मध्यनजर गर्दै अब बाहिरबाट आउने हुम्ला, डोल्पा र मुगुका नागरिकलाई सुर्खेतकै क्वारेन्टाइनमा राख्ने र कोरोना संक्रमण नभएको पुष्टि भएपछि मात्रै गाउँ पठाउने निर्णय गरिएको हो ।

साविक कर्णालीमा स्कुल खुलाउन अनुरोध
यस्तै कर्णाली प्रदेश सरकारले साविक कर्णालीका पाँच जिल्लामा शैक्षिक संस्था सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले डोल्पा, मुगु, हुम्ला, जुम्ला र कालिकोट जिल्लाका विद्यालयहरु खोल्न सकिने निष्कर्ष निकालेको हो । ति उच्च सतर्कता अपनाउँदै विद्यालय सञ्चालन गर्न सकिने निष्कर्ष निकाल्दै केन्द्रीय विपद् व्यवस्थापन समितिसँग शैक्षिकसत्र सुरु गर्नका लागि अनुमतिसमेत माग गरिएको छ ।

पाँच जिल्लामध्ये कालिकोटमा बोहेक अन्य जिल्ला कोरोना संक्रमणमुक्त देखिएका छन् । कालिकोटमा शनिबार मात्रै १८ जनामा कोरोना भाइरसका संक्रमितहरु पुष्टि भइसकेका छन् । उच्च सावधानीसहित पाँच जिल्लामा पठनपाठन सञ्चालन गर्न सकिने भन्दै केन्द्रले विपद् व्यवस्थान कार्यसञ्चालन केन्द्र र नेपाल सरकारलाई लेखी पठाउने निर्णय गरेको छ । ति जिल्लामा संक्रमण नभएकाले स्कुल संचालन गर्ने निर्णयमा प्रदेश सरकार पुगेको हो ।


जेठ २५ गतेदेखि यार्सा संकलन खुलाउन सिफारिस
यही जेठ २५ गतेदेखि यार्सा संकलन खुल्ला गरिने भएको छ । उच्च हिमाली जिल्लाका नागरिकहरुको मुख्य आम्दानीका रुपमा रहेको यार्सा संकलन रोकिएमा ठूलो भोकमरी र आर्थिक संकट पर्नसक्ने भन्दै प्रदेश विपद् व्यवस्थापन केन्द्रले यार्सा संकलन खुल्ला गर्ने निर्णय गरेको हो ।

यद्यपी कर्णाली प्रदेश विपद् व्यवस्थापनको निर्णय कार्यान्वयनका लागि भने संघीय सरकारले अनुमति पाउनुपर्छ । ‘जेठ २५ गतेदेखि यार्सा संकलन खुल्ला गर्ने निर्णय भएको छ’ स्रोतले भन्यो, ‘केन्द्रीय विपद् व्यवस्थापन समितिले अनुमति दिएको खण्डमा यार्सा संकलन खुल्ला गरिनेछ ।’ तर यसवर्ष भारतबाट भित्रिने ति जिल्लाका नागरिकले यार्सा संकलनका लागि प्रवेश पाउने छैनन् ।

‘अब भारतबाट आएका नागरिक यार्सा संकलनमा जान पाउने छैनन्, उनीहरुलाई सुर्खेतमै रोकिने छ’ मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो, ‘ हिमाली जिल्लामा संक्रमण छैन, बाहिरबाट जान बन्द गरेर यार्सा संकलन खुलाउने निस्कर्षमा पुगिएको हो ।’ भारतमा कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै त्यहाँबाट गाउँ फर्किएका र कोरोना संक्रमणमुक्त भएपछि मात्रै जिल्ला पठाइनेछ ।

प्रदेश सांसदलाई वीरेन्द्रनगर नछोड्न रुलिङ
कर्णाली प्रदेश सभाका सांसदहरुलाई वीरेन्द्रनगर नछोड्न रुलिङ गरिएको छ । कोरोना त्रासका कारण कुनै पनि सांसदलाई वीरेन्द्रनगर नछोड्न रुलिङ गरिएको हो । कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले आइतवार सांसदहरुलाई अबदेखि वीरेन्द्रनगर बाहिर नजान रुलिङ गरेका हुन् ।

‘कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखि सबै सांसदहरुको पीसीआर परीक्षण र अन्य सतर्कता अपनाइएको छ’ सांसदहरुलाई रुलिङ गर्दै सभामुख शाहीले भने, ‘कोरोना संक्रमणका लागि संसदले बनाएको र अपनाएको आचारसंहिता अनुसार निरर्थक हुनेगरी कुनै पनि असावधानिक पूर्ण भेटघाट र जिल्ला बाहिर नजान रुलिङ गर्दछु ।’ यद्यपी वीरेन्द्रनगर छोड्नैपर्ने बाध्यात्मक अवस्था आएको खण्डमा प्रदेशसभाको अनुमति लिएर मात्र जान मिल्ने र अनिवार्य रुपमा पीसीआर परीक्षण गरेर मात्रै सभामा सहभागी हुन पाइने छ । (२०७७ जेष्ठ १९ गते सोमबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार