अब्बल बन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

जुम्ला, १९ जेष्ठ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा आफ्नो अब्बलता प्रस्तुत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना उपचारका लागि निर्धारण गरेका देशका अस्पतालमध्ये सो अस्पताल अहिले दोस्रो स्थानमा रहेको जनाइएको छ ।

कोरोनाको सम्भावित जोखिमलाई ध्यानदिँदै प्रतिष्ठानका नेतृत्वले शुरुमै यसको नियन्त्रण तथा उपचारमा स्वास्थ्यकर्मीबीचको छलफललाई सघनता दिएका थिए । अस्पताल निर्देशक डा. मङ्गल रावल भने, ‘नेपालमा कोरोनाका बिरामी देखा परेसँगै प्रतिष्ठानले कोभिड टाक्स ग्रुप बनाएर आफ्नो गतिविधि अगाडि बढाइसकेको थियो । प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई जोखिमका बारेमा पूर्व तयारीमा रहन ध्यान आन्तरिक तयार गरेका थिऔँ ।’

शुरुवाति दिनमा स्थानीयस्तरमै पीपीइ सेट तथा स्यानिटाइजरको प्रतिष्ठानले आफैले व्यवस्थापन थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मूल्याङ्कनका अनुसार कोरोना सम्बन्धी सेवा तथा उपचारका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पछि प्रतिष्ठान परेको छ ।

आगामी वर्षको बजेटमा समेत प्रतिष्ठान उच्च प्रथामिकतामा परेको छ । ‘कर्णावासीलाई स्वास्थ्य सेवा दिन प्रतिष्ठानले अहोरात्र जुटिरहेको छ ।’ प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज बाग्लेले भने । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी बनेको उच्चस्तरीय समिति सिसिएमसीको बैठकमा प्रतिष्ठानको कामले यतिबेला चर्चा पाएको छ । प्रतिष्ठानले परिचालन गरेको जनशक्ति र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको बिधि (मोडालिटी) देशभरिका लागि नै अनुशरण योग्य भएको बताइएको छ । माथिल्लो कर्णालीको मात्र कोरोना परीक्षण जिम्मेवारी पाएको प्रतिष्ठानले सुर्खेत र दैलेख जिल्लाका पनि स्वाब परीक्षण गर्न थालेको छ । ती जिल्लाका एक हजार ४० जनाको स्वाब परीक्षणमा दैलेख नारायण नगरपालिकाभित्रका १४ जना कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुनमगरले जानकारी दिए ।


गत वैशाख २२ देखि सञ्चालनमा ल्याएको पीसीआर उपकरणबाट अहिलेसम्म तीन हजार बढीको स्वाब परीक्षण भएको प्रतिष्ठानका शिक्षाध्यक्ष डा.निरेश थापाले जानकारी दिए । सबैभन्दापछि उपकरण सञ्चालनमा ल्याए पनि काम द्रुतगतिमा भइरहेको प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिए । प्रतिष्ठानमा कार्यरत विशेषज्ञ चिकित्सक अशोक गौतम हुम्लामा स्वास्थ्य सेवा प्रदान गरिरहनुभएको छ । दैनिक आठ घण्टाको यात्रा गरेर सर्वसाधारणलाई स्वास्थ्य सेवा दिइरहेका छन् ।

कोरोना भाइरस सङ्क्रमण फैलन अपनाउनुपर्ने सावधानीका विषयमा स्थानीयवासीलाई सतर्क गरिरहेका छन् । सधैँ प्रतिष्ठानमा आउने बिरामीको मात्र हेरबिचार गर्नुभएका उनी दुर्गममा निकै जमेका छन् । उनीसँगै स्वास्थ्यकर्मी कर्मेन्द्र न्यौपाने रहेका छन् । सदरमुकाम सिमिकोटबाट झण्डै तीन दिनको यात्रा गरेर पुगिने दुर्गम क्षेत्रका सेवा गर्दै आएका छन् ।

प्रतिष्ठानका अर्का विशेषज्ञ चिकित्सक शेरमान गुरुङ मुगुको कार्मारोङमा खटिएका छन् । उनी निकै खुशी छन् । कर्णाली पहिलेदेखि स्वास्थ्य सेवाका हिसाबले निकै कमजोर क्षेत्र हो । तर अहिले गाउँगाउँमा विशेषज्ञ सेवा सञ्चालन भइरहेको छ । कोराना भाइरसको जोखिमका समयमा उनी स्वाब सङ्कलन गर्ने र बिरामीको जाँच गर्ने कार्य गरिरहेका छन् । विशेषज्ञ चिकित्सक टङ्क आचार्य कालिकोटमा सेवारत रहेका छन् । उनी यतिबेला बिरामीको उपचार तथा स्वाब सङ्कलनमा ब्यस्त छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार