क्वारेन्टाइनका नागरिकलाई मनोपरामर्श सेवा

दुर्गा विसि,
सल्लीबजार (सल्यान), १६ जेष्ठ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको क्वारेन्टाइनमा रहेका नागरिकलाई मनोपरामर्श प्रशिक्षण दिएको छ । क्वारेन्टाइनमा अत्यधिक चाप बढेपछि भित्र र बाहिर आवत जावत तथा कोभिड–१९ का विषयमा उनीहरुलाई प्रष्ट पारिएको हो । क्वारेन्टाइनमा कसरी बस्ने, कसरी सुरक्षित रहने, भौतिक दुरी कायम गर्दाका फाईदाका विषयमा जानकारी दिने गरिएको छ ।

यहाँका विभिन्न क्वारेन्टाइन पुगेर इन्सेक सल्यानका सहज कर्ता रामचन्द्र रेग्मी र मनोविद्द मनोपरार्शदाता विजयशरण आचार्यले प्रशिक्षण दिनुभएको छ । प्रत्येक क्वारेन्टाइनमा पुगेर सुत्केरी, बालबालिका, महिला र बृद्धबृद्धाहरु कसरी बस्ने तथा आ–आफ्नो सुरक्षा कसरी गर्न सकिन्छ भन्ने बिषयमा बढि केन्द्रित रहेको इन्सेक जिल्ला सहजकर्ता रेग्मीको भनाई छ । बनगाड कुपिण्डेमा भारतबाट आउने नागरिकको ९ सय बढी संख्या रहेको छ ।

नगरले तयारी गरेको क्वारेन्टाइन भन्दा बढी नागरिक थेग्न नसकिने गरी नागरिक भित्रिएपछि क्षमता भन्दा बढी राख्नु परेको बाध्यता नगर प्रमुख गोविन्द कुमार पुनले बताउनु भएको छ । करिब करिब नगरका १५ भन्दा बढी बिद्यालयहरुमा भारतबाट भित्र्ने नागरिकलाई क्वारेन्टाइन बनाई राखिएको छ । सबैलाई सचेत पार्नका लागि र भयावह अवस्था सृजना नहोस भनेर क्वारेन्टाइन भित्र र बाहिरका नागरिकलाई यस विषयमा सचेतिकरण हुनु नितान्त जरुरी देखिएको नगर प्रमुख पुनको भनाई छ ।

तपाईको प्रतिक्रिया