सम्पादकीय : संक्रमण समुदायमा पुग्नै नदिने उपाय

कर्णालीमा दिनहुँ कोरोना संक्रमितको संख्या थपिदो क्रममा छ । देशका अन्य प्रदेशभन्दा सबैभन्दा अन्तिमा संक्रमण देखिएको थियो कर्णालीमा । तर पछिल्लो समय दिनहुँ संक्रमण पुष्टि हुन थालेको छ । संक्रमितको संख्या बढे पनि यहाँ संक्रमण पहिलो चरणमै रहेको छ । चिकित्सकका अनुसार अहिले भारतबाट भित्रिएकाहरुमा मात्र संक्रमण देखिएको छ । अर्थात प्रदेशभित्र एउटाले अर्कोलाई संक्रमण सारेको अवस्था छैन । यो अवस्थालाई पहिलो चरण भनिन्छ । यो अवस्थामा संक्रमितको पहिचान गर्न सकिन्छ । अर्थात कोबाट कसलाई संक्रमण सरेको हो भन्ने पहिचान गर्न सकिन्छ । अहिले कर्णालीमा त्यही अवस्था भएका कारण पनि संक्रमण पहिलो चरणमै छ । संक्रमण पहिलो चरणमै भएका कारण समुदायमा फैलिन पाएको छैन । भारतबाट भित्रिनेहरुबाटै संक्रमण भित्रिएको र उनीहरुको नाकामै जाँच गरिएकाले संक्रमितहरु समुदायमा पुग्न पाएका छैनन् । यसले पनि संक्रमण समुदायमा फैलिसकेको छैन । यसकारण पनि कर्णालीमा संक्रमण बढे पनि आत्तिनुपर्ने अवस्था आइनसकेको विज्ञहरु बताउँछन् । यसकारण पनि संक्रमणलाई पहिलो चरणमै रोक्ने कसरतमा प्रदेश सरकार लागेको देखिन्छ ।

बाहिरबाट भित्रिएका संक्रमितबाट समुदायमा संक्रमण भएको अवस्थालाई दोस्रो चरणका रुपमा लिइन्छ ।संक्रमणको दोस्रो चरण भनको जटिल हुन्छ, यो चरणमा कोबाट कसलाई संक्रमण भयो भन्ने एकीन गर्न सकिदैन । विज्ञहरुका अनुसार संक्रमितको मृत्यु हुने अवस्थालाई तेस्रो चरणका रुपमा लिइन्छ । प्रदेश सरकारले भने कर्णालीमा संक्रमणलाई पहिलो चरणमै रोक्ने वा नियन्त्रणमा लिने रणनीति अपनाइएको जनाएको छ । चिकित्सकहरुले पनि कर्णालीमा कोरोनालाई पहिलो चरणमै रोक्ने वा नियन्त्रण गर्नका लागि विभिन्न उपायहरु सुझाएका छन् । प्रदेशमा संक्रमणलाई समुदाय स्तरमा फैलिन नदिने उत्तम उपाय भनेकै भारतबाट भित्रिएकाहरुको नाकामै निगरानी र क्वारेन्टाइनमा उचित व्यवस्थापन हो । भारतबाट आएकाहरुमा मात्र कोरोना देखिएकाले अब भारतबाट भित्रिनेहरुको व्यवस्थापन गर्नु नै मुख्य हो । नाकामै परीक्षण गर्ने र अन्तिम रिपोर्ट नआउँदासम्म समुदायमा नपठाउने हो भने कोरोनालाई पहिलो चरणमै रोक्न सक्ने अवस्था रहन्छ । भारतबाट भित्रिनेको संख्या धेरै भएपछि स्थानीय तहलाई थेग्नै सकस भएको छ । यसकारण उनीहरुलाई सुरक्षित र व्यवस्थित रुपमा मापदण्ड अनुसार क्वारेन्टाइनमा राख्न सकेमा पनि संक्रमण सुमदायमा फैलिनलाई रोक्न सकिन्छ ।

यस्तै परीक्षणको दायरा पनि बढाउनु पर्दछ । कर्णालीमा परीक्षणको अवस्था सुस्त छ । किट र जनशक्ति अभावमा भारतबाट भित्रिएकाहरुको स्वास्थ्य परीक्षण हुन सकिरहेको छैन । यसले गर्दा पनि संक्रमण फैलिने खतरा छ । कतिपय क्वारेन्टाइनबाट भागेर गाउँ पस्ने गरेका छन् । यसका लागि उचित सुरक्षाको व्यवस्थापन हुनु आवश्यक छ । क्वारेन्टाइनको उचित व्यवस्थापन, सुरक्षा र पीसीआर परीक्षणको दायरा बढाउने हो भने संक्रमणलाई नियन्त्रणमा लिन सकिन्छ । यस्तै भारतबाट भित्रिनेहरुलाई सकभर नाकामै परीक्षण गरेर क्वारेन्टाइनमा राख्न सकेमा पनि यसलाई समुदायमा फैलिनबाट रोक्न सक्ने सम्भावना छ । यसतर्फ प्रदेश सरकार, स्थानीय सरकार र स्वयम् भारतबाट भित्रिनेहरुले पनि ध्यान दिन आवश्यक छ । (२०७७ जेष्ठ १५ गते विहीबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया