नेपालगञ्जमा ६१ घण्टा कर्फ्यु घाेषणा

बाँके, २२ बैशाख ।
कोरोना भाईरस संक्रमितको संख्या बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा सुरक्षा सर्तकता बढाइएको छ । हाल सम्म १६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोना संक्रमण फैलिन नदिन भन्दै नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण निषेधित क्षेत्र घोषणा गर्दै कर्फ्यु लगाइएको छ ।

संक्रमण भएका स्थानहरुमा रहेकाहरुको स्वाव परीक्षण सहज होस् भन्ने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण निषेधित क्षेत्र घोषणा गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताए । भोली मंगलबार बिहान ११ बजे देखि बैशाख २५ गते मध्यरातिसम्म पूर्ण रुपमा निषेधित क्षेत्र घोषणा गरेको भन्दै नागरिकलाई निषेधाज्ञाको पूर्ण पालना गर्न उनले आग्रह गरे । म‌गलबार, बुधबार र विहबार गरी कुल ६१ घण्टा कर्फ्यु लागु गरिएकाे छ ।

त्यसअवधिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनमा खटिने स्वास्थ्यकर्मीबाहेक अरु कोही पनि घरबाहिर निस्कन नपाउने निर्णय भएको छ ।  त्यस्तै आफ्नो टोल क्षेत्रलाई सुरक्षित राख्ने बाहनामा बाटो अवरुद्ध नगर्न पनि बैठकले निर्णय गरेको छ । नेपालगञ्जमा भेटिएका कोरोना संक्रमितमा कोरोनाका केही लक्षण नदेखिएको पाइएपछि कोरोना समुदायमा प्रवेश गरेको आकलन गरिएको छ ।

कर्फ्युको समयमा नेपालगन्जमा औषधि पसलबाहेक सबैखाले पसल, व्यवसाय खोल्न नपाइने प्रजिअ खड्काले बताए । बाँकेमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालसहितको टोली सोमबार नेपालगञ्ज पुगेर कम्तीमा तीन दिन कर्फ्यु लगाउन जिल्ला प्रशासनलाई सुझाव दिएको थियो ।
नेपालगञ्जको अन्सारी मस्जिदका ६० वर्षीय मौलानामा वैशाख १९ गते कोरोना संक्रमण देखिएको थियो । त्यसको दुई दिनपछि उनीसँग सम्पर्कमा रहेका १५ जनामा पनि कोरोना संक्रमणको पुष्टी भएको हो । पहिलो संक्रमित व्यक्तिसँग सम्पर्क भएका ९० जनाको स्वाब संकलन गरेर ६० जनाको परीक्षण गर्दा नेपालगञ्जको एउटै टोलका १५ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको डा. गिरीले बताए । आइतबार संकलन गरिएका स्वाबमध्ये ३० जनाको रिपोर्ट आउन बाँकी छ । संक्रमित सबैलाई बाँकेको खजुरामा रहेको सुशील कोइराला क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको र अवस्था सामान्य रहेको उनले बताए ।


स्वास्थ्य टोली र उपकरण पठाउन माग
कोरोना संक्रमितको संख्या बढेपछि बाँकेका संघीय सांसदहरूले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेटेर बाँकेमा कोरोना परीक्षण किट पठाउन, उपकरण र प्राविधिक टोली पठाउन र नेपालगन्जवासीको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन माग गरेका छन् ।

सांसद पूर्णाकुमारी सुवेदी, बाँके–२ का सांसद मोहम्मद इस्तियाक राई, बाँके ३ का सांसद नन्दलाल रोकाया, अर्का सांसद सर्वतआरा खानले स्वास्थ्यमन्त्री ढकाललाई मन्त्रालयमै पुगेर भेट गरी माग राखेका हुन् । भेटमा स्वास्थ्यमन्त्री ढकालले दुई सय ५० थान किट पठाउन लगाएको र अन्य सामग्री पठाउने तयारी भइरहेको जानकारी दिएका थिए ।

खजुराका सबै नाका बन्द
बाँकेको खजुरा गाउँपालिकाले सबै नाकाहरू बन्द गरेको छ । सीमा जोडिएको नेपालगञ्जमा १६ जनामा कोरोना पोजेटिभ देखिएपछि स्थानीय तहले चारैतिरका नाका बन्द गर्ने निर्णय गरेको अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । खजुराले स्थानीय तहभित्रका वडा पनि सिल गरेको छ । उसले वडा नम्बर ५, ६, ७ र ८ लाई पनि लक गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार