प्रदेश १ बाट प्रधानमन्त्री ओलीको ‘एक्सन’

काठमाडौं, २० कात्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमाले एकाबद्ध गर्ने अभियान प्रदेश १ बाट सुरु गरेका छन् । एकता महाधिवेश आउँदो चैत २५देखि ३० गतेसम्म गर्ने मिति तय गरिसकिएको छ ।

तर, सो महाधिवेशनको तयारीमा नेकपा लागेको देखिँदैन, बरु नेतृत्वले पूर्व एमाले र पूर्व माओवादी पक्षधरलाई आ–आफ्नो बाटोमा हिँड्न र हिँडाउने खोजेको देखिन्छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले अलग अलग बाटो हिँड्न प्रस्ताव गरेको अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूनिकटका नेताहरुलाई जानकारी गराएका छन् ।
एकीकरणको घोषणा गरेर एउटै पार्टीको झण्डामुनि देखिएका नेकपाका शीर्ष नेतादेखि कार्यकर्तासम्म भने एकताको भावना देखिँदैन ।
ओलीले अलग अलग बाटो हिँड्न प्रचण्डलाई प्रस्ताव मात्रै गरेका छैनन, पूर्व एमाले पक्षधरलाई एकताबद्ध गर्न लागेका छन् । केही वर्षयता निस्क्रिय रहेका प्रदीप नेपाललाई सक्रिय बनाएका ओलीले प्रदेश १ बाट पूर्व एमालेलाई एकताबद्ध गर्न लागेका छन् ।
पूर्व एमालेले लिएको जनताको बहुदलीय जनवाद (जबज) लाई प्रदेश १बाट ब्यूँताउन ओलीले निर्देशन दिएका छन् । नेकपाले थाती राखेको जबजलाई ब्यूँताउन उद्देश्यका साथ अध्यक्ष ओली र सचिवालय सदस्य ईश्वर पोखरेलले प्रदेश १ का आफूनिकटका नेताहरुको भर्चुअल बैठक राखेर जबज ब्यूँताउन मदन भण्डारी फाउन्डेसनलाई वडास्तरसम्म विस्तार गर्न निर्देशन दिएका छन् ।
मदन भण्डारी फाउन्डेसनलाई बलियो र सक्रिय बनाएर प्रदेश १ बाट पूर्वमाओवादीको पकडबाट जोगाउनु पर्ने उनीहरुले जोड दिएका छन् ।
पूर्वमाओवादी पक्षधरका नेताहरुले जबजलाई स्वीकारेका छन् । पूर्व एमालेको जबज र पूर्व माओवादीको ‘एक्काइसौं शताब्दीको जनवाद’लाई जोडेर नेकपाले ‘जनताको जनवाद’ स्वीकारेको छ । तर, सिङ्गो पार्टीले स्वीकारेकोभन्दा फरक जबजलाई ब्यूँताउन ओली र उनीनिकट नेताहरु लागि परेका छन् ।





