उच्च तहका पाँच नेतादेखि टोल कमिटी परिचालन

इन्चार्ज शर्मा र सहइन्चार्ज कँडेल : अन्तरप्रदेश, अन्तर सरकार समन्वय

चौरजहारीमा  : कालि बहादुर मल्ल (सहइन्चार्ज)

जुम्लामा  : गोरख बोगटी (प्रदेश अध्यक्ष)

सुर्खेतमा  : माया प्रसाद शर्मा (प्रदेश सचिव)

सुर्खेत, २ बैशाख ।

कोरोना भाईरस (कोभिड–१९) विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । नेपालमा १४ जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ । नेपाल सरकारले चैत्र ११ गतेदेखि लागु गरेको लकडाउन तेस्रो चरण बैशाख ३ गते सकिँदैछ । कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले अब चौथो चरणको कदम चाल्दैछ । संघ, प्रदेश र स्थानीय सरकार पूर्ण रुपमा कोरोना रोकथाम, नियन्त्रण, उपचार र राहतमै केन्द्रीत भएको छ ।

सरकारले चालेका अभियानमा सहयोग पुग्ने गरी नेकपा प्रदेश कमिटीले जिल्ला, निर्वाचन क्षेत्र, स्थानीय तह, वडा र टोल कमिटीलाई परिचालन गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेशको पार्टी कार्यालयको बैठक काठमाडौंमा सम्पन्न भएको छ । काठमाण्डौंमा उपलब्ध सहइन्चार्ज यामलाल कँडेल, प्रदेश अध्यक्ष गोरख बोगटीको प्रत्यक्ष उपस्थिति रहेको थियो भने अन्य पदाधिकारीसंग भिडियो कन्फरेन्समार्फत पनि छलफल गरिएको थियो । बैठकले जिल्ला, स्थानीय तह, वडा र टोल टोलमा अलग अलग जनपरिचालन गर्ने निर्णय गरी योजना तय गरेका छ ।

कर्णालीका जनताको आवश्यकताअनुसार लकडाउनलाई कार्यान्वयन गर्नुपर्ने भएकाले त्यही तरिकाले जानुपर्छ भनेर अलग अलग जनपरिचालनको निर्माण गरिएको प्रदेश कमिटी अध्यक्ष गोरख वोगटीले जानकारी दिए । जसमा स्थानीय तहका ५ देखि ७ घरको एउटा सहकार्य युनिट बनाउने र त्यो युनिटले आपसमा मिलेर जनताका समस्याको सहजीकरणमा लाग्नुपर्नेछ । ‘पहाडको ठाउँमा मेलापात गर्नुपर्ने हुन्छ, यतिबेला अन्न बाली पाकिरहेको छ, त्यसलाई काट्नुपर्ने भएकाले त्यो युनिटलाई परिचालित भएर काम गर्ने व्यवस्था गर्दैछाँै ।’ ‘त्यहाँ खाद्यान्नको समस्या भए माथि रिपोर्ट गर्ने भनियो । वडामा एउटा व्यवस्थापन समिति र अर्को क्विक रेस्पोन्स टाक्सफोर्स बनाउन लगाएका छाँै । जहाँ स्वास्थ्यकर्मी र वडा सरकार पनि हुन्छ’ प्रदेश अध्यक्ष बोगटीको भनाई छ ।

कुनै समस्या आयो भने त्यसले काम गर्नेगरी साधन स्रोत पनि उपलब्ध गर्ने भन्ने नीति बनाइएको छ । त्यसैगरी पालिकामा जिल्लाले संयोजन गरेर विपद् व्यवस्थापन समितिमार्फत समाधान गरिनेछ । त्यहाँ पालिकाले समाधान गर्न नसकेको जिल्लामा पठाउने, जिल्लाले नसकेको प्रदेश कमिटी कहाँ पठाउने र प्रदेश सरकारमार्फत समाधान खोजिने जनाइएको छ । यसका साथै कर्णालीमा खाद्य आपूर्ति कसरी गर्ने भनेर छलफल गरिएको थियो । खाद्य के कति चाहिन्छ, त्यसको रेकर्ड पठाउन पार्टी कमिटी मार्फत मागिएको छ । यो राहत वितरण गर्दा अनावश्यक वितरण नहोस् भनेर यसलाई राहत नभनेर खाना दिने भन्ने पार्टीको नीति बनाइएको छ । प्रदेशमा पदाधिकारीहरुको जिम्मेवारी समेत बाँडफाँड गरिएको छ ।

इन्चार्ज जनार्दन शर्मा र सहइन्चार्ज यामलाल कँडेलले अन्तरप्रदेश समायोजन गर्ने, अन्तर्राष्ट्रिय अनुभव तल सम्प्रेषण गर्दे जाने, कर्णाली प्रदेशका मान्छे जहाँ छन, तिनको खाने बस्ने व्यवस्थापन गर्ने, तलबाट आएको रिपोर्टको विश्लेषण गर्ने, आपूर्ति बारे संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी आवश्यक कार्य अगाडि बढाउने, स्वास्थ्य उपचार सामग्रीको अभाव देखिए उपलब्धताका लागि पहल गर्ने जिम्मेवारी तोकिएको छ ।

कर्णाली प्रदेशलाई सुर्खेत, जुम्ला र चौरजहारी गरी तीनवटा केन्द्र भनिएको छ । चौरजहारीमा कालीबहादुर मल्ल, सुर्खेतमा मायाप्रसाद शर्मा, जुम्लामा प्रदेश अध्यक्ष गोरख बोगटीजीले संयोजन गर्नेगरी कार्य विभाजन गरिएको छ । पार्टीका सबै केन्द्रीय सदस्य पनि आफ्नो जिल्लामा जोडिएर एकसाथ जाने गरी अलग अलग जनपरिचालन गर्ने योजना बनाइएको छ ।

इन्चार्ज शर्मा गृह जिल्ला पश्चिम रुकुम पुगेर जनता, सुरक्षाकर्मी स्वास्थ्यकर्मी र स्थानीय सरकारको अवस्था बुझेका छन् । उनले मुसीकोट अस्पताल, चौरजहारी अस्पताल र आठबिसकोटाको अस्पताल पुगेर त्यहाँका स्वास्थ्यकर्मीको कामको उच्च प्रशंसा गर्दै मनोबल बढाउन छलफल र संवाद गरेका थिए । त्यहाँका तीनवटै अस्पतालमा आइसोलेसन निर्माण लागि आफै पुगेर सहजीकरण गरेका हुन ।

तपाईको प्रतिक्रिया