सिमा क्षेत्रमा १६३ नेपाली अलपत्र, सरकार मुखदर्शक

सुर्खेत, १९ चैत ।

कोबिड–१९ (नोबल कोरना) भाईरसको संक्रमण फैलन नदिन आव्हान गरिएको लकडाउनको कारण भारतमा आफु कार्यरत रहेको ठाँउबाट निकालिएका नेपाली नागरिकको बितेको तीन दिन देखि दशगजामा बिचल्ली भएको छ । भारतका विभिन्न ठाउँबाट मजदुरी गरि फर्किएका १ सय ६३ जना नेपाली कामदारहरु यतिखेर नेपाल भारत सिमानाको दशगजा क्षेत्रमा बिचल्लीमा परेका छन ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरसङ्ग सिमाना जोडिएको नेपाल–भारत सिमाक्षेत्रको दशगजाको खुला आकाशमुनी ५ नाबालक, तीन महिला, एक नेत्रहीन पुरुष सहित १ सय ६३ जना नेपाली नागरिक अहिले उद्दारको पर्खाइमा छन् । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि ५ नम्बर प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने र ती नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपीनको व्यवस्था गर्ने भनेर पहिलो बुदामै उल्लेख भए पनि बाँकेमा भने सो पालना भएको छैन ।

प्रदेश सरकारले निर्णय गरेको भए पनि उनीहरुको उद्दारमा स्थानीय प्रशासनले ‘माथिको आदेश छैन’ भन्दै दिउसोको टन्टलापुरे घाम र रातीको शितमा पानी, विजुली र शौचालय नै नभएको ठाँउमा रुखमुनी राज्य बिहीन झै बस्न बाध्य बनाईएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले उनीहरुलाई दशगजामा नै क्वारेन्टाईनमा राख्ने व्यवस्था गरिएको बताए पनि दशगजामा कुनै पनि क्वारेन्टाईन त परको कुरा उनीहरु झण्डै तीनदिनदेखि खुुला आकाशमुनी समय कटाउन बाध्य छन् ।

दशगजामा बिचल्लीमा परेकालाई भारतीय प्रहरीले बेग्ला बेग्लै झुण्ड बनाई रातको समयमा नेपालको चोर नाकाबाट नेपाल प्रवेश गराएको बताउँछन् उनिहरु । नाका पार गरेर नेपाल प्रवेश गरेका उनिहरुलाई नेपालगन्जको विभिन्न क्षेत्रबाट स्थानीय, जनप्रतिनिधि तथा प्रहरीले समातेर त्यहाँ पुन दशगजामै पुराएका थिए ।

रातभर सीमा क्षेत्रबाट हिडेर नेपालगञ्ज–१७ ढोडेगाउमा पुगेका ४९ जनालाई बिहानको खाजा र खानाको व्यवस्था नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर र वडा नम्बर १६ का अध्यक्ष अजय पाठकले गरेका थिए । आफुले उनिहरुलाई चाहेर पनि नेपाल प्रवेश गराउन नसकेको बताउछिन नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर । उनले खाना, खाजा र पानीको व्यवस्थापन भन्दा अरु केही गर्ने आफुसङ्ग अधिकार नभएको बताईन ।

उनका अनुसार यसरी बिचल्लीमा परेकाहरुमा बाँकेका २७, बर्दियाका १४, दाङका ३१, सल्यानका ९, जुम्लाका १५, सुर्खेतका ७, डोल्पाका ३, अछामका ५, प्युठानका २, रोल्पाका १३, रुकुमका १०, सप्तरीका १, उदयपुरका १, स्याङ्जाका २, दैलेखका १०, झापाका ५, रुपन्देहीका १, नवलपरासीका २, मुगुका २ र अर्घाखाँचीका १ जना रहेका छन । बिचल्लीमा परेका मध्येमा एक जना दृष्टिबिहिन, पाँच जना ५ बर्ष मुनिका बालबालिका र तीन महिला रहेका छन ।

गुराँसका युवाहरु अलपत्र

कोरोना भाइरसको त्रास बढेपछि भारतिय पक्षले घर फिर्ता हुन दवाव दिएपछि घरतर्फ फर्किएका नागरिकहरु कञ्चनपुर नजिकको दोधारा चाँदनी र त्यस नजिकको नाका क्षेत्रमा अलपत्र परेका हुन् । भारतबाट फर्किएका उनिहरुलाई नेपाल तर्फको प्रशासनले पनि कडाई गरिरहेको छ भने भारततर्फ फिर्ता हुने अवस्था पनि छैन ।

भारतबाट फर्किएकामध्ये केही भारततर्फ र केही नेपालतर्फ प्रवेश गरिसकेको गुराँस गाउँपालिका वडानम्वर ८ दैलेखका यामबहादुर खड्काले बताए । नेपाल तर्फ आइसकेका आफुहरुलाई त्यहाँको स्थानिय तह र सुरक्षाकर्मीले खाना खुवाई त्रिपालमूनी राख्ने गरेको उनको भनाई छ । नेपालतर्फ गुराँस गाउँपालिका वडा नम्वर ६, ७ र ८ का गरी २३ जनाले प्रवेश गरिसकेका छन् । आफूहरुलाई सुदुरपश्चिम प्रदेश वा कर्णाली प्रदेश जहाँ क्वारेन्टाइन बनाएर राखे पनि १४ दिन बस्न तयार रहेको बताउँदै खड्काले अलपत्र नपार्न अनुरोध गरेका छन् ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले नेपाल तर्फ आइसकेका नागरिकको हकमा दुईवटा प्रदेश सरकारबीच समन्वय भइरहेको बताए । भारततर्फ रहेका नागरिकलाई भारतमै बस्ने व्यवस्था गरिने र नेपाल तर्फ आइसकेकाहरुलाई क्वारेन्टाइनमा राख्ने तयारी रहेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया