हिमपातले विकास निर्माण ठप्प

हुम्ला : लगातारको हिमपातका कारण हुम्लाका तीन वटा गाउँपालिकाहरु नाम्खा, सिमकोट र खार्पुनाथमा विकास निर्माणका काम दुई महिनादेखि ठप्प भएका छन् ।
गाउँपालिकामा पूर्वाधार विकासका योजना हिमपातका कारण अघि बढाउन नसकिएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए ।

चालु आर्थिक वर्षमा नाम्खा गाउँपालिकामा डेढ दर्जन पूर्वाधारका योजनाहरु रहेको लामाको भनाइ छ । टेण्डर गरेर निर्माण कम्पनी छनौट भइसकेको भएपनि हिमपातका कारण कुनै पनि योजनाको काम अगाडि बढाउन नसकिएको सिमकोट गाउँपालिकाका उपाध्यक्ष बली रावतले बताए। सबैभन्दा धेरै सडक निर्माणका योजनाहरु प्रभावित भएको उनले बताए ।

शिक्षा, स्वास्थ्य, कृषि, प्रधानमन्त्री रोजगार लगायतका कार्यक्रमका कामहरु पनि रोकिएको उनको भनाइ छ । त्यसैगरी खार्पुनाथ गाउँपालिकामा पनि हिमपातकै कारण कुनै पनि विकासे काम अगाडी बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले बताए । सडक, खानेपानी, सिँचाई, विद्यालय भवन, घोरेटो बाटो जस्ता योजनाहरु चालु आर्थिक वर्षमा हिमपातकै कारण अघि नबढेको अध्यक्ष रावलको भनाइ छ ।

हुम्लामा गत मंसिर १२ गतेबाट यस वर्षको हिमपात सुरु भएको थियो। पटक–पटक गरी आधा दर्जनभन्दा धेरै पटक हुम्ला हिमपात भइसकेको छ ।
हिमपातकै कारण गाउँपालिकाको मात्र नभइ सिमकोट–हिल्सा सडक आयोजनाका ११ वटा योजनाको काम पनि प्रभावित भएको आयोजना योजना प्रमुख शशांक मिश्रले बताए ।

तपाईको प्रतिक्रिया