सम्बन्धविच्छेदको डरलाग्दो तथ्यांक : विहेको तीन महिनामै डिभोर्स !

सुर्खेत : विहेपछिको सम्बन्ध प्रेमिल र सुखमय होस् भन्ने चाहना हरेक जोडीको हुन्छ । अझ प्रेम विवाह गरेका जोडीले विहे पछिको सम्बन्धलाई रंगिन् बनाउने कसम नै खाएका हुन्छन् । त्यसकारण पनि विवाहित जोडी र उनीहरुका आफन्तका लागि सम्बन्धविच्छेद अर्थात् (डिभोर्स) अप्रीय घटना हो ।

तर पछिल्लो समय सम्बन्धविच्छेदका घटनाहरु बढेका छन् । अदालतमा सम्बन्धविच्छेदका मद्दाको चाङ लाग्न थालेको छ । कर्णाली प्रदेशको राजधानी भएपछि सुर्खेतमा जनघनत्व बढेको छ । जनघनत्वसँगै हतारमा विहे गर्ने र फुर्सदमा पछुताउने जोडीको संख्या पनि बढ्दो छ । विशेषगरी प्रेम विवाह गरेका जोडीले नै डिभोर्स माग्दै अदालतमा धाउनेक्रम बढेको पाइएको हो ।

सम्बन्धविच्छेद बढेपछि अधिकांश परिवार टुक्रिन थालेका छन् पनि उनीहरुका बालबालिका अलपत्र परिरहेका छन् । यसले अपराध पनि बढाएको प्रहरीको भनाइ छ । जिल्ला अदालत सुर्खेतमा डिभोर्स माग्दै जाने पुरुषहरुको संख्या पनि बढेको पाइएको छ । अदालतका अनुसार विहे गरेको तीन महिना वित्न नपाउँदै जोडीले डिभोर्स गर्ने गरेका छन् । वर्षौंसम्म प्रेममा रहने र विहे गरेको तीन महिनामै डिभोर्सका लागि अदालतमा आउने गरेको जिल्ला अदालत सुर्खेतका न्यायाधिश डा.राजेन्द्रकुमार आचार्यले बताए ।

उनले भने,‘अदालतमा दर्ता भएका सम्बन्धविच्छेदका मुद्दाको तथ्याकं डरलाग्दो छ । कतिपय घटनायस्ता पनि छन्, विहेको तीन महिनामै पनि डिभोर्सका लागि अदालतमा आएका घटना छन् ।’ उनका अनुसार प्रेम विवाह गरेका जोडीले बढी सम्बन्धविच्छेद गर्ने गरेको उनको भनाइ छ । विगतमा अदालतमा महिलाहरुले मात्रै सम्बन्धविच्छेदका लागिमुद्दा दर्ता गराउँदै आएका थिए ।

तर मुलुकी संहिताले पुरुषलाईसमेत सम्बन्धविच्छेद गर्न सक्ने अधिकार दिएपछि अचेल डिभोर्सका लागि अदालतमा धाउने पुरुषको संख्या नै धेरै पाइएको हो । गतवर्ष जिल्ला अदालतमा सम्बन्धविच्छेदका एक सय ४९ वटा मुद्दा दर्ता भएका थिए । तर चालु आर्थिक वर्षको ६ महिनमै दुईसय २१ वटा मुद्दा दर्ता भएका छन् ।

यी मध्ये ५९ वटा मुद्दा पुरुषले दर्ता गराएका हुन् । अधिकांश पुरुषले आफ्नो श्रीमती सम्पर्कमा नआएको, विदेशबाट पठाएको पैसा अपचलन गरेको, अर्कैसँग हिँडेको र अवैध सम्वन्ध राखेकोजस्ता आरोप लगाएर डिभोर्स माग्दै अदालतमा मुद्दा दर्ता गर्न थालेका छन् । यस्तै महिलाले पनि हिंसा गरेको, मदिरा सेवन गरेर दुख दिएको र अर्कै महिलासँग सम्बन्ध बढाएको आरोप लगाउँदै डिभोर्स गर्ने गरेका हुन् ।

पुरुषहिंसाका मुद्दा पनि दर्ता

अदालतमा पुरुषले पनि आफू हिंसामा परेको भन्दै मुद्दा दर्ता गराउन थालेका छन् । चाल आर्थिक वर्षमा अदालतमा दर्ता भएका कुल ३४ मुद्दामध्ये पुरुषहिंसाका नौ र महिलाहिंसाका २५ मुद्दा छन् । मुलुकी संहिता लागू भएपछि जवर्जस्ती करणिका मुद्दाहरु बढेका छन् ।

अदालतमा गत आर्थिक वर्षदेखी हालसम्म पुरुषहिंसाका ८४ वटा मुद्दा दर्ता भएका हुन् । यी मध्ये ४१ वटा मुद्दा फछ्र्यौट भएका छन् । अदालतका अनुसार अझैं ४३ वटा बाँकी छन् । यस्तै लागुऔषधका ४३ मुद्दामध्ये २६ मुद्दा फछ्र्यौट गरिएको अदालतले जनाएको छ । यस्तै अदालतले आत्महत्या दुरुत्साहनका तीन, सवारी ज्यान र कर्तव्य ज्यानका आठ÷आठ, बहुविवाहका १३ र बालविबाहका सात वटा मुद्दा फछ्र्यौट गरेको छ ।

डिभोर्सले अपराध बढाउँछ

डा.राजेन्द्रकुमार आर्चाय
न्यायाधीश, सुर्खेत जिल्ल अदालत

अदालतमा आइरहेको मुद्दामध्ये डरलाग्दो तथ्याङ्क सम्बन्धविच्छेदको छ । सम्बन्धविच्छेदका कारण समाजमा अपराध बढिरहेको छ । सन्तान भएका जोडीले नै सम्बन् विच्छेद बढी गर्छन् । सन्तान आमा वा बाबुले नै पाल्नुपर्ने व्यवस्था छ ।

तर डिभोर्सपछि आमा वा बुवाले अर्को बिहे गर्ने र बच्चाले आमा बुवाको माया नपाउँदा बालबालिकाहरु अपराधतिर उन्मुख हुन्छन् । रुखो बोल्ने, ड्रग्स सेवन गर्ने, बलात्कार, चोरी जस्ता विभिन्न अपराधमा उनीहरुको संलग्नता हुन्छ । सम्बन्धविच्छेदले जोडीलाई शुरुमा फाइदा त होला । तर तिनबाट जन्मिएका बालबालिकामा ठूलो समस्या परिरहेका कयौं घटना छन् ।

यसले समाजलाई ठूलो असरपर्छ ।  बहुविवाह, जवर्जस्तीकरणी जस्ता मुद्दामा होस्टायल धेरै हुन्छन् । पीडितले होस्टायल गर्दा समाजमा अपराधी झन् खुलेआम हिँडिरहेको हामीले पाएका छौं । अनुसन्धान प्रहरीले गर्ने तर त्यो अनुसन्धान अनुसार बकपत्र गराउँदा पीडित भनिएको व्यक्ति अदालतमा आउँदा बयान फेर्ने प्रवुत्ति बढ्दो छ । समाजले छिटोभन्दा छिटो मुद्दाको टुंगो लागोस् भन्ने चाहन्छ । हाम्रो ध्यान पनि निर्दोषले न्याय पाहोस् भन्नेमा नै केन्द्रीत हुन्छ ।

चार भारतीय नागरिक फरार

अदालतले मुद्दा फैसला गरिसकेका चार जना भारतीय नागरिक अझै फरार छन् । धरौटीमा रिहा भएका उनीहरु अदालतको अन्तिम फैसला हुँदा उपस्थित नभएरै फरार भएका हुन् । यस्तै कैद जरिवाना लागेका एक हजार ४० र कैद मात्रै लागेका दुईसय सात जना अँझै फरारको सुचिमा छन् ।

यस्तै जरिवानातर्फ चार सय ५१ जना फरार सुचिमा छन् । अदालतमा फैसला भइसकेका दुई सय ९५ निवेदन मध्ये एक सय ६१ मुद्दा फछ्र्यौट भइसकेका छन् । यस्तै अदातलका अनुसार चार करोड ३६ लाख १३ हजार एक सय ९३ पैंसा दण्ड जरिवनाबाट अशुल्न बाँकी छ ।

अदालतले हालसम्म ९८ लाख ७० हजार दुईसय २० रुपैयाँ अशुल गरेको छ । कैद लगततर्फ एक हजार चार सय ६६ वर्ष र नौ महिना साढे १४ दिन कैद भुक्तान मध्ये एकसय ५१ वर्ष १० महिना साढे २१ दिन कैद भुक्तान भएको छ । त्यस्तै एकसय ३४ निवेदन, तीन करोड ३७ लाख ४२ हजार ९७३ दण्ड जरिवाना रकम र एक हजार तीन सय १४ वर्ष, १० महिना २३ दिन कैद भुक्तान हुन बाँकी रहेको अदालतले जनाएको छ ।

तपाईको प्रतिक्रिया