जुम्लामा सात जना जुवाडे रंगेहात पक्राउ, १ लाख बढी नगद बरामद

गोल्डेन बुढा
जुम्ला,३ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले चन्दननाथ नगरपालिका–१ मा चलिरहेको जुवाखालामा छापा मार्दै सात जनालाई रंगेहात पक्राउ गरेको छ। पक्राउ पर्नेहरू जुवा खेलिरहेका बेला नियन्त्रणमा लिइएका हुन् ।भने घटनास्थलबाट १ लाख ७९ हजार २ सय ८५ नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, ३६ वर्षीय देसाङ तामाङको घरमा लुकीछिपी जुवा खेलिँदै आएको सूचनाका आधारमा प्रहरी टोलीले कार्तिक २ गते राति अचानक छापा मारेको थियो।प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन बाबु रेग्मीका अनुसार, “स्थानीय स्रोतबाट प्राप्त सूचनालाई प्राथमिकतामा राख्दै तत्काल टोली परिचालन गरिएको थियो। घटनास्थलमै सात जनालाई पक्राउ गरी नगदसहित आवश्यक सामग्री नियन्त्रणमा लिइएको छ।”सदरमुकाम क्षेत्रमा पछिल्ला दिनहरूमा जुवातास लगायतका अवैध गतिविधि मौलाउँदै गएको भन्दै स्थानीय बासिन्दाले प्रहरीको कदमको खुलेर प्रशंसा गरेका छन्।
उनीहरूले यस्ता गतिविधि नियन्त्रणका लागि निरन्तर अनुगमन र थप कडा कारबाहीको मागसमेत गरेका छन्।“अपराधीलाई नछाड्ने हाम्रो नीति हो,” डीएसपी रेग्मीले भने, “जुवा, सट्टेबाजी, लागुऔषध, र अन्य गैरकानूनी क्रियाकलाप नियन्त्रणका लागि विशेष अभियान सञ्चालनमा छौँ।”यसअघि पनि जुम्लाका विभिन्न क्षेत्रमा प्रहरीले यस्तै कारबाही गर्दै जुवातास खेल्ने व्यक्तिहरूलाई पक्राउ गर्दै आएको छ। तर, यस्ता गतिविधि दोहोरिरहनु कानून कार्यान्वयनप्रति गम्भीर प्रश्न खडा गर्छ।
स्थानीय तह, प्रहरी र समुदायबीच सहकार्य र स्थायी समाधानको खाँचो देखिएको छ।जुम्ला जस्तो शान्त, सामाजिक सद्भावयुक्त क्षेत्रमा जुवा, सट्टेबाजीजस्ता गतिविधिको विस्तार हुनु गम्भीर विषय हो। प्रहरीको सक्रियता सराहनीय छ, तर यसलाई अभियान मात्र होइन, निरन्तर प्रक्रिया बनाउनु आवश्यक देखिन्छ।






