“बर्दियामा १० घडियाल गोहीको पुनःस्थापना : प्रजनन केन्द्रमा हुर्केका गोहीहरू अब प्राकृतिक वासस्थानमा”

बर्दिया ,२ कार्तिक।

बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १० वटा घडियाल गोहीलाई निकुञ्जभित्रकै खौराहा खोलामा आइतबार छोडिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेल र नेपाली सेनाको वन्यजन्तु आरक्ष निर्देशनालयका सहायक रथी पुरनभक्त घलेको उपस्थितिमा गोहीहरूलाई प्राकृतिक वासस्थानमा पुनःस्थापना गरिएको हो।

योसँगै बर्दियामा तेस्रो पटक घडियाल गोही प्राकृतिक वासस्थानमा छोडिएको हो। खौराहा खोलामा छोडिएका गोहीमध्ये पाँच भाले र पाँच पोथी रहेका छन्। निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामका अनुसार ती गोही तीनदेखि आठ वर्ष उमेरका रहेका छन्।

हाल बर्दिया राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा करिब १४० ठूला र ७० साना गरी ११० वटा घडियाल गोहीका बच्चा रहेका छन्। निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा सन् १९८२ (२०३९ साल) मा गोही प्रजनन केन्द्र स्थापना गरिएको हो भने सन् २०१५ (२०७२ साल) देखि घडियाल गोहीको प्रजनन सुरु गरिएको थियो।

२०७४ सालमा पहिलो पटक बर्दियाको बबई नदीमा १३ र बाँकेको राप्ती नदीमा १० गरी जम्मा २३ वटा गोहीका बच्चा प्राकृतिक वासस्थानमा छोडिएको थियो। अहिले केन्द्रमा दुई भाले र चार पोथी गरी छ वटा प्रजननयोग्य घडियाल गोही रहेका छन्। यसै वर्ष केन्द्रमा एकै पटक ११५ भन्दा बढी बच्चा जन्मिएका थिए।

वरिष्ठ संरक्षण अधिकृत डा. रामका अनुसार प्रजनन केन्द्रमा हुर्काइएका गोहीका बच्चाहरू तीन वर्ष पुगेपछि मात्र प्राकृतिक वासस्थानमा छोडिन्छन्। “गोहीका बच्चा प्राकृतिक वातावरणमा बाँच्न सक्षम भएपछि मात्र नदीमा पुनःस्थापना गरिन्छ, जसबाट गोहीको सङ्ख्या वृद्धिमा सहयोग पुग्छ,” उहाँले बताउनुभयो।

घडियाल गोही स्वच्छ पानी र ताजा माछा खाने संरक्षित जीव हो। बर्दिया राष्ट्रिय निकुञ्जले यसको वासस्थान संरक्षण, चोरी–सिकार नियन्त्रण र गोहीको प्रजनन तथा पुनःस्थापना कार्य निरन्तर गर्दै आएको छ। बर्दियाको कर्णाली र बबई नदीमा घडियाल गोही पाइन्छन्।

नेपाल सरकारले वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत घडियाल गोहीलाई संरक्षित घस्रने जन्तुको रूपमा सूचीकृत गरेर संरक्षण गर्दै आएको छ।

 

 

“बर्दियामा १० घडियाल गोहीको पुनःस्थापना : प्रजनन केन्द्रमा हुर्केका गोहीहरू अब प्राकृतिक वासस्थानमा”

घुयँत्राे:“आन्दोलनमा हीरो, सत्तामा जीरो — जेनजीहरूको नयाँ

Leave a comment

Your email address will not be published. Required fields are marked *