सम्पादकीय : स्याउमा लगानीको खाँचो !

२०६२ सालतिर सुर्खेत, दैलेख हुँदै जुम्लातर्फ उक्लँदै गरेको कर्णाली राजमार्गले केवल सडकको ट्र्याक तानेको थिएन, उसले जुम्लाको भविष्य पनि तानेको थियो । सडकसँगै स्थानीय अर्थतन्त्र चलायमान बन्यो—खाद्य पसल, खुद्रा व्यापार, साना होटल र कृषि उपजको कारोबार सुरु भयो । ३१ चैत २०६३ मा जब कर्णाली राजमार्गले जुम्लालाई औपचारिक रूपमा छिचोल्यो, त्यसै दिन जुम्लाको जीवनयात्रा नयाँ अध्यायमा प्रवेश गर्‍यो । त्यसयता जुम्लाको नाम स्याउको राजधानीको रूपमा चिनिन थाल्यो । आज जुम्लाको स्याउ केवल एउटा फल होइन, कर्णालीको गर्व हो । रेड, रोयल, गोल्डेनदेखि फुजी र गाला जातका स्याउले जुम्लाको पहिचान विश्व बजारसम्म पुर्‍याएका छन् । सडक सञ्जाल गाउँसम्म पुगेपछि किसानले आफ्नो बगैचामा फलेको स्याउ गाउँमै बेच्न थालेका छन् । पहिले खेर जाने स्याउ अहिले लाखौँ आम्दानीको स्रोत बनेको छ । सिंजा गाउँपालिकाका हिराबहादुर, जगबहादुर, लालबहादुरजस्ता किसानहरूले यो सिजनमा लाखौँ रुपैयाँ कमाएका छन् । केवल जोडु गाउँबाटै ५५ लाखभन्दा बढीको स्याउ बिक्री भएको छ ।

जुम्लाबाट यस वर्ष भदौ र असोजमा मात्र ३३ करोड रुपैयाँ बराबरको स्याउ निर्यात भएको छ । कृषि विकास कार्यालयका अनुसार कार्तिक मसान्तसम्म यो आँकडा ४५ करोड पुग्ने अपेक्षा गरिएको छ । हाल १३ हजार मेट्रिकटनभन्दा बढी स्याउ उत्पादन भइसकेको छ । यद्यपि, मनसुनी असरका कारण केही क्षति पनि भएको छ । गत वर्ष १९ हजार मेट्रिकटनभन्दा बढी स्याउ उत्पादन भएको र ६१ करोड बराबरको स्याउ बिक्री भएको तथ्यांकले देखाउँछ । पछिल्ला वर्षहरूमा किसानको स्याउ खेतीप्रतिको आकर्षण उल्लेख्य रूपमा बढेको छ । २०७८/७९ देखि २०८०/८१ सम्म किसान संख्या झण्डै २६ प्रतिशतले बढेको छ । फुजी र गाला जस्ता उच्च उत्पादक प्रजातिका स्याउ लगाउने चलन बढेको छ । अहिले जुम्लाको स्याउ सुर्खेत, नेपालगन्ज हुँदै पोखरा, काठमाडौं, बुटवल र धरानजस्ता ठूला बजारमा पुग्छ । तर, स्याउ खेतीका बगैचादेखि बजारसम्म धेरै चुनौती अझै बाँकी छन् ।

स्याउको मूल्य शृंखलामा प्रणालीगत अवरोधमा छ । भण्डारण, प्रशोधन र निर्यातमा संरचनागत समस्या कायम छन् । किसानले उत्पादन राम्रो गरे पनि उचित मूल्य र स्थायी बजारको ग्यारेन्टी छैन । यसर्थ, कर्णाली प्रदेश सरकार र स्थानीय तहले स्याउ प्रशोधन उद्योग, शीत भण्डारण, यातायात र बजार व्यवस्थापनमा लगानी बढाउन जरुरी छ । सरकारले किसानमैत्री नीतिमार्फत संरचनागत तथा नीतिगत अवरोध हटाउन सके स्याउले जुम्लाको मात्र होइन सिङ्गो कर्णालीको अर्थतन्त्रलाई समृद्ध बनाउन सक्ने प्रसस्त आधार छन् । कर्णाली राजमार्गले जुम्लासम्म विकासको बाटो खोलेको थियो ।

अब त्यो बाटोले जुम्लाबाट सम्पन्नताको यात्रा सुरु गराउँदै छ, भन्दा अन्यथा नहोला । जुम्लाको स्याउ केवल उत्पादन र विक्रिसँग मात्र जोडिदैन । यो कर्णालीको पहिचान पनि हो । जसले दुर्गम गाउँमा रोजगारीसँगै आम्दानी र आत्मनिर्भरताका नयाँ गन्तव्य कोर्दै लगेको छ । यसर्थपनि जुम्लामा उत्पादन हुने स्याउमा राज्यबाट लगानीको खाँचो छ ।

सम्पादकीय : स्याउमा लगानीको खाँचो !

नेपालगन्जमा चाडपर्वको बेला बजार अनुगमन नहुँदा उपभोक्ता

सम्पादकीय : स्याउमा लगानीको खाँचो !

राप्ती प्रादेशिक अस्पतालः नाम प्रादेशिक, सेवा थपिएन

Leave a comment

Your email address will not be published. Required fields are marked *