असुरक्षित महशुस गर्दै राउटे समुदाय

ओम शाही
सुर्खेत, २७ असोज ।
लोपोन्मुख जाती राउटे समुदायमाथी बाह्य मानिसबाटको आक्रमण अझै रोकिएको छैन । शुक्रबार (२४ असोज) को राती मदिरा सेवन गरेर राउटे बस्तीमा पसेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मदिरा सेवन गरी संकास्पद अवस्थामा बस्ती पसेका ती युवालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार पक्राउ परेका लेकवेशी नगरपालिका स्थायी घर भएका उनीमाथी जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले राउटे बस्तीमा अनाधिकृतरुपमा प्रवेश गरेका उनीमाथि अनुसन्धान थालिएको बताए । पछिल्लो समय बाह्य व्यक्तिहरूको अनधिकृत प्रवेशले राउटे समुदाय असुरक्षित बन्दै गएको छ ।
आफुलाई जंगलको राजाको रुपमा चिनाउने राउटेहरुको बसोवासस्थलमा जथाभावी बाह्य व्यक्तिहरूको प्रवेशले विशेष गरी महिलाहरु असुरक्षित बन्न थालेका हुन् । विभिन्न बहानामा राउटे बस्तीमा जाने र अवाञ्छित गतिविधिका कारण आफुहरु असुरक्षित बन्दै गएको राउटे युवा दीपक शाहीले बताए । प्रहरीले यसअघि विभिन्न समयमा राउटे समुदायका युवतीमाथि दुर्व्यवहारमा संलग्नहरुलाई कारवाहीसमेत गरिसकेको छ ।
‘बाहिरबाट बिनाकाममा बस्तीभित्र आउने गर्दा आफूहरूलाई असहज बनाएको छ । रातिमा बस्तीभित्र बाहिरका मानिस आउन थालेपछि झनै असुरक्षित हुन थालेको छ,’ राउटे युवा शाहीले भने, ‘हामीलाई सुरक्षा चाहियो । केही दिनअघि हाम्रो बस्तीमा रक्सी खाएर एक जना मान्छे आएर हल्ला गर्यो । अरु बेलामा पनि जथाभावी मानिसहरू आउँदा हामी त्रासमा छौँ ।’
उनले दिउँसोको समयमा राउटे बस्तीमा आए पनि रातको समयमा मादक पदार्थ सेवन गरेर नआउन आग्रह गरे । त्यस्तै, राउटे समुदायको रेखदेखका लागि काम गर्दै आएका सोसेक नेपालका जोडि शिक्षक लालबहादुर खत्रीले पनि राउटे समुदायमा सुरक्षा चुनौती थपिदै गएको बताए । उनले बस्तीको सुरक्षा गर्न प्रहरीको पहरा आवश्यक रहेको बताए ।
‘राउटे बस्तीमा बाह्य मानिसहरू धेरै आउने, भिडियो बनाउनेसँगै रातिको समयमा गलत मनसाय राख्नेहरुको प्रवेश बढ्दै जाँदा सुरक्षा चुनौती बढ्दो छ,’ खत्रिले भने । उनका अनुसार राउटेहरुले बसाई सर्ने तयारीसमेत थालेका छन् । उनीहरु अहिले बसिरहेको स्थानबाट लेकवेशी नगरपालिका–८, मा बसाई सर्ने तयारी गरेको उनले बताए ।
शुक्रबार सरकारले दिने सामाजिक सुरक्षावापतको भत्ता बुझेसँगै उनीहरु बसाई सर्ने तयारी छन् । संघीय सरकारले उनीहरुलाई दैलेखको गुराँस गाउँपालिकामार्फत सामाजिक सुरक्षावापतको रकम प्रदान गर्दै आएको छ । राउटेलाई गाउँपलिकाले परिचयपत्र दिएर वडा नम्बर ८ का बासिन्दाको मान्यता दिएको छ ।
संरक्षणमा छैन ध्यान
कर्णाली प्रदेश सरकारले राउटेहरुको संरक्षणमा ध्यान नदिदा उनीहरु लोप हुने अवस्थामा पुगेका छन् । संघीय सरकारले दिने सामाजिक सुरक्षा भत्ताको अलवा प्रदेश र स्थानीय सरकारले उनीहरुको संरक्षणमा ध्यान पुर्याउनै सकेका छैनन् ।
राउटे समुदाय नेपालका एक अद्वितीय र घुमन्ते जीवनशैली अपनाउने आदिवासी जनजाती हुन् । जसले आजसम्म पनि आफ्नो परम्परागत संस्कृति, भाषा र जीवनपद्धतिलाई जोगाई रहेका छन् । पछिल्लो समय आधुनिक मानिसहरुको प्रभावका कारण सिङ्गो राउटे समुदायको अस्तित्व नै नामेट हुने अवस्थामा छ ।
अस्वस्थ जीवनशैली, मदिरा तथा सूर्तिजन्य पदार्थ सेवनका कारण राउटे समूदायका मानिसहरुमा गम्भीर प्रकृतिका स्वास्थ्य समस्या बल्झदै गएका छन् । राउटेलाई राहत दिने नाममा खुलमखुला जोकोहीलाई पनि प्रवेश गर्न दिइदा उनीहरुको सुरक्षामा समेत चुनौती थपिदै गएको अवस्था छ । कुनै समय पैसा छोए पाप लाग्छ भन्ने राउटेहरु विस्तारै आधुनिकतातर्फ मोडिदै गएको भएपनि उनीहरुको सशक्तिकरणमा राज्यको ध्यान पुग्न सकेको छैन ।
राउटेको जिविकोपार्जनका लागि राज्यले सामाजिक सुरक्षा वापतको रकम प्रदान गर्दै आएको छ । तर, नगद दिइदा राउटेहरुमा हानिकारक कुलतले प्रसय पाइरहेको बताइन्छ । सरकारी निकाय, विभिन्न संघ–संस्था तथा व्यक्तिहरुले वितरण गर्ने राहत एकद्वार प्रणालीमा नहुँदा उनीहरु परनिर्भरतातर्फ धेकेलिदै गएका छन् । नेपाल मानवअधिकार आयोगको अध्ययनले महिला र पुरुष दुवैमा अत्यधिक मदिरा सेवनको लत बसेको उल्लेख गरेको छ ।
त्यस्तै, महिलाले चुरोट पिउने र पुरुषले सुर्ती खाने गरेका छन् । उनीहरूको मान्यताअुनसार पैसा लिनु पाप हो, अर्कासँग मागेर खानु पाप हो भन्ने मान्यता राख्ने राउटेहरू हाल नयाँ मान्छे देख्यो कि पैसा माग्ने, मदिरा तथा सुर्ती, तयारीका खाद्य सामग्री किन्न लगाइहाल्ने गलत संस्कृतिको विकास हुँदै गएको छ ।
मनव बस्तीबाट टाढा रहेका भए पनि राउटेहरू काठका भाँडाकुँडाहरू मुदुस/सन्दुक, पिर्का र अन्य सामानहरू लिएर नजिकका बस्तीमा पुगेर अन्नसँग साटी जीविकोपार्जन गर्ने र जंगली जनावर बाँदरको सिकार गर्ने परम्परा अझै पनि छ ।
राउटेहरु प्रायः कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान लगायतका पहाडी जिल्लाका वन क्षेत्रमा अस्थायी टहरा बनाएर बसोबास गर्छन् । राउटेहरुको मुख्य जीविकोपार्जन काठका सामाग्रीहरू बनाएर विनिमय प्रणालीमार्फत अन्न वा अन्य सामग्री प्राप्त गर्नु हो ।
कृषि, पशुपालन वा स्थायी रोजगारीमा उनीहरूको संलग्नता छैन । उनीहरू आफ्नै भाषा बोल्छन् । मौखिक परम्परा र नृत्य, गीतमार्फत सांस्कृतिक अभिव्यक्ति गर्ने यस समुदायको नेतृत्व मुखियाले गर्छन । कल्याल, सोवंशी र रास्कोटी गरी तीन थरका राउटेहरुको हालको संख्या एक सय ३७ छ ।






