जुम्लाको कृषि व्यापारको चम्किलो मोड : उत्पादन घटे पनि आम्दानी उचाे

काली बहादुर परियार
जुम्ला ,२६ साउन।
एकातिर कहिले जुम्लाको कृषि व्यापारमा उत्पादन घट्दाे भने, अर्कोतिर आम्दानी झन् चुलिँदै गएकाे छ। यही हो पछिल्लो वर्ष जुम्लाको कृषि व्यापारको कथा ।
कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा जिल्लाबाट करिब २३ हजार टन कृषि उपज बाहिरी बजारमा पठाएर ६९ करोड रुपैयाँभन्दा बढी आम्दानी गरिएको बताए ।
यस निर्यात सूचीको निर्विवाद राजा हो , स्याउ। त्यसपछि मार्सी चामल, ओखर, सिमी, कोदो, भटमास, चिनो र अन्य रैथाने कृषि उपजहरू रहेका छन् ।
जुम्लाका हरेक स्थानीय तहका सडक सञ्जाल र सञ्चार सुविधाकाे सुधारले बजार सम्मको पहुँच सहज बन्दै गएको प्रमुख अधिकारीकाे दाबि रहेकाे छ । तर, उनले भने, भण्डारण र प्रशोधन केन्द्रको कमी तथा मूल्यको अस्थिरता अझै पनि किसानको टाउको दुखाइ बनेको छ।
गत वर्ष मात्रै ९ हजार ३ सय ३१ टन स्याउ बाहिर पठाइयो, जसको मूल्य ६६ करोड ६१ लाख रुपैयाँ जुम्ला भित्रिएकाे थियाे ।
त्यसबाहेक, २ हजार ५ सय ९० किलो ओखर, ५५ हजार ८ सय ९ किलो सिमी, २ हजार ९ सय १३ किलो भटमास, ९० हजार ६ सय ६० किलो आलु, ११ हजार ५ सय ५५ किलो मार्सी चामल, ९ सय ५० किलो चिनो, ७ सय ९० किलो कागुनो, ६ हजार १ सय ५० किलो फापरको पिठो, १६ हजार ४ सय किलो कोदोको पिठो र १० हजार ४ सय ५० किलो जौको पिठो बाहिएकाे थियाे ।
हाल जुम्लामा २ हजार ७ सय ४० हेक्टरमा कोदो खेती भइरहेको छ। गत वर्ष ३ हजार ८ सय ५० टन उत्पादन भई प्रतिहेक्टर १.४१ टनको उपज प्राप्त भएको छ ।
यो नेपालकै औसत (१.३४ टन) भन्दा उच्च हो । तर धान, फापर, मकै, चिनो, कागुनो, जस्ता रैथाने बाली भने घट्दो क्रममा छन्। विशेष गरी, २०७९ सालको बाढीले १८ हेक्टर मार्सी फाँट बगाए पछि त्यसको असर अझै कायम छ।
२०८१/८२ मा कुल २४ हजार २ सय ३१ टन रैथाने बाली उत्पादन भएको छ । जुन अघिल्लो वर्षको तुलनामा करिब ८ हजार टन कम हो । तर, स्याउ उत्पादन मात्र यसको अपवाद हो ।
२०७८/७९ मा १६ हजार टन बाट सुरु भएको उत्पादन २०८१/८२ मा २१ हजार २ सय ७० टनमा पुगेको छ । जुन चार वर्षयताकै उच्च हो । केवल गत वर्ष मात्र स्याउ बाट करिब ६१ करोड रुपैयाँ आम्दानी जुम्ला भित्रिएकाे थियाे ।
उत्पादन घट्दै गए पनि, स्याउको सुनौलो चमक र बजार सम्मको सहज पहुँचले जुम्लाको कृषि व्यापारलाई अझै चहकिलो बनाइरहेको छ । जुन कथाले जुम्लाका किसानलाई कठिनाइ भित्र पनि सम्भावनाको स्वाद चखाइरहेको छ।






