स्मृति : उ बेलाको हाम्रो बालापन


अर्जुन प्रसाद शर्मा
वीरेन्द्रनगर-१२, सुर्खेत
बाल्यकाल भन्नासाथ आँखा अगाडि एउटा अलगै संसार झल्किन्छ, जहाँ सादगीले गहिरो रंग भरेको हुन्छ, रमाइलो कुराहरूको स्वाद छुट्टै हुन्थ्यो, र जीवनका साना घटनाहरू नै संसारका सबैभन्दा ठूला कुरा लाग्थे। त्यो समय जुन बितिसक्यो, तर कहिल्यै मेटिएको छैन।म सूर्य ज्योति निमावि सुन्तला घोरेटा स्कुलमा पढ्थें। बिहान घाम नउदाउँदै झोलो बोकेर स्कुल लागिन्थ्यो, बाटामा साथीहरूसँग बखेडा, उकाली ओराली, र कहिले-काहीं झगडा पनि।
त्यो स्कुल, जसको हरेक भित्तामा मसीको गन्ध र बालापनको उदेश्य मिसिएको थियो। कक्षाकोठा कम थिए, बस्ने ढुंगा आफैं बोकिन्थ्यो, चक आफैं भेरीको किनारमा खोजिन्थ्यो, र भित्ताको कालोपन सेलको मोसीले पोतिन्थ्यो। त्यतिबेलाका हामी क्लासमेटहरू हरि टोपेन्द्र तिलक राजकुमार काशी गणेश तेजविक्रम शारदा बलराम इन्द्रा लालबहादुर शंकर लगायतका अरु पनि असाध्यै मिल्ने साथीहरु थियौ
हामी खोलामा जान्थ्यौं, दुवाली बुझेर माछा मार्थ्यौं। पानीको धार रोकेर साना खाल्डामा माछा अड्काइन्थे अनि एकले छ्यानचुर थाप्थ्यो, अर्कोले बाल्टी ले पानी फाल्ने, कोही थाल लिएर पारी जान्थ्यो। माछा समात्न पाइयो भने सबै मिलेर बराबरी बाँड्थ्यौं, कोही कम नपाओस् भनेर ख्याल गरिन्थ्यो। त्यही माछा बेलुकाको भातसँग आमाले झोल हालेर पकाएको खाना पाउँदा खसीको मासुजत्तिकै स्वाद लाग्थ्यो।
धान रोप्ने बेला खेतका आलीहरू बनाइन्थे। आमाहरू, दिदीहरू खेतभित्र डुबेर रोपाइँमा व्यस्त हुन्थे, बुवा दाइहरू बाउसेमा ठिक्क हुन्थे हामी चाहिँ मास लगाउने। मतलब, बालबालिका हरू आलीमा टेक्दा भत्किँदैन भन्ने हुन्थ्यो र लहरे मास लगाउने जिम्मा दिइन्थ्यो।। लठ्ठी बोकेर खेतको वरिपरि हिँड्ने, र लट्ठीले प्वाल पारेर बिउ हाल्ने काम गरिन्थ्यो। कोही साथी भित्र पस्न खोजे ‘निस्की हेर’ भनेर लखेट्ने। आफूचाहिँ झार टिप्न भन्दै भित्र पस्ने, र भिजेको माटोमा खेल्दै रमाउने। त्यहाँ हिलो लाग्यो भनेर आमाबुवा दिक्क हुन्नथ्यो पिटाइको डर त हुन्थ्यो, तर रमाइलोले त्यो पनि सहिन्थ्यो।
भैँसी ग्वाला जानु हाम्रो रोजको काम थियो। बिहान दुध दोहे पछि भैँसीलाई खोलातिर लैजान्थ्यौं। भेरी नदीको छेउ पुग्दा भैँसी खोलामा पस्थे, हामी खोलाको रहमा पौडी खेल्थ्यौं। कहिलेकाहीँ भैँसीमाथि चढेर सवार हुन्थ्यौं, आफूलाई घोडचढी खेलिरहेको वीर ठानिन्थ्यो। कहिले दिदी–दाइहरूसँग जङ्गल छिर्थ्यौं, त्यहाँ हरियो झाडीभित्र कालिज, मयुर, ढुकुर देखिन्थे। सिकारको तालिम त नपाए पनि ती जनावरहरू देखेर ढुङ्गा हान्ने हाम्रो खेल हुन्थ्यो।
कसले पहिले हानेर भुइँमा ल्याउँछ भन्ने होड चल्थ्यो। कहिलेकाहीं साँच्चिकै पन्छी खस्दा त्यो हाम्रो विजय हुन्थ्यो, र आफूलाई माहिर सिकारु ठानिन्थ्यो। भेरी नदी तरेर कालीज जिउँदै छोपेका साथीहरु तिलक ,राजकुमार ,काशी ,शङ्कर डिल्ली ,तेजविक्रम लालबहादुर, लगायतका साथीहरु ले घरमा ल्याएर साथीहरू आफैँ मिलेर पकाएर खाँदा छुट्टै आनन्द आउँथ्यो|
हाम्रो स्कुल गाउँको सानो भत्किएको घर जस्तो देखिन्थ्यो। कक्षाकोठा सिमित थिए, विद्यार्थीहरू धेरै। बिहान सबेरै हिंडेर पुग्नुपर्थ्यो। शुक्रबार विशेष दिन मानिन्थ्यो, किनभने त्यो दिन कक्षाकोठा लिप्ने पालो आउँथ्यो। सबै जना माटो ल्याउँथे, पानी हालेर कक्षाको भुइँ लिपिन्थ्यो। पढ्न कता बस्ने भन्ने कुरा भने सधैं चुनौती थियो। टुटुवाको पिपल को फेदमुनि ठूला चाक्ला ढुङ्गा बोकेर ल्याउने गर्थियौं, त्यसैमा बसेर पढ्ने। कोही-कोहीको ढुङ्गा त साँच्चिकै सिँहासन जस्तै देखिन्थ्यो, सबैले हेरेर ‘यो कहाँबाट ल्यायो होला?’ भन्थे।
भित्तामा कालोमोसी लगाइन्थ्यो। नयाँ रङ किन्न सकिँदैनथ्यो, त्यसैले पुराना सेलहरू पिसेर कालो धूलो बनाइन्थ्यो, पानी हालेर त्यसैलाई मोसी बनाइन्थ्यो। अनि त्यही भित्तामा लिपिन्थ्यो र, पढाइ हुन्थ्यो। चक भने सेतो ढुङ्गा जुन भेरी किनारमा पाइन्थ्यो त्यसको जिम्मा तल्ल बगर का साथीहरूको थियो त्यो ल्याउने जिम्मा पनि पहिले नै भाग लगाइन्थ्यो। त्यस दिन जो ल्याउँथ्यो, ऊ दिनभर गर्वले मुस्कुराउँथ्यो।
खाजा भनेको टिफिन बक्सको कुरा थिएन। आमाले अघिल्लो दिन बेलुकै मुछेर राखेको गहुँ को पिठोबाट बिहान उठेर आगोमा पोलिदिएको मोटा मोटा रोटी हुन्थे। त्यससँग नुन खुर्सानीको अचार। कहिलेकाहीं बेसार, अदुवा र सागको थोरै रस मिसाइएको तिखर–चर्को अचार हुन्थ्यो, जसले झनै रोटीलाई मिठो बनाउँथ्यो। घाममा बसेर, साथीभाइसँग बाडेर खाने त्यो रोटी कुनै ‘फास्टफूड’भन्दा कम स्वादिलो लाग्दैनथ्यो।
गाउँमा ठाँटीको मेला भेरी नदी किनारमा मेला लाग्थ्यो भने त्यो हाम्रो लागी चाडभन्दा कम हुँदैनथ्यो। हामी मेलाको टहरा बनाउने काममा लाग्थ्यौं। बाँस काट्ने, ढुंगा हाल्ने, स्याउले टहरा बनाउने—यी सबै काममा हात हाल्थ्यौं। टहरा बनाएबापत ५–१० रुपैयाँ पाइन्थ्यो। घरबाट आमा बुवाले पनि २–५ रुपैयाँ दिन्थे। त्यो जम्मा पैसा लिएर हामी मेलामा पस्थ्यौं। पाँच रुपैयाँको मूल्य त्यो बेला असाध्यै धेरै थियो। त्यही पैसाले दश कोसा केरा, एक केजी सुन्तला, दुई माना बदाम किन्न सकिन्थ्यो। चिया–बिस्कुट, टाटा बिस्कुट, पिपलमेट पाइनपल बिस्कुट—यी सबै खाजा त्यो पैसाले पाइन्थ्यो।
हामीले नयाँ कपडा चाडपर्वमा मात्र लगाउँथ्यौं। दाइहरूले साना भएका लुगा हामीलाई मिल्थ्यो। कुनै बेला दाइको चप्पल सानो भयो भने त्यो चप्पल लगाएर स्कुल जानु गर्वको विषय हुन्थ्यो। किताब पनि दिदी–दाइको काम लागिसकेको हुन्थ्यो। कहिलेकाहीं त कपी मसीले लेखिएको हुन्थ्यो, त्यसलाई पानीले पखालेर फेरि लेखिन्थ्यो। यो आइडिया सिकाउने गोकुल सर र शुभलाल सर डम्बर काफ्ले सर गणेश सर ले सिकाउनुभएको थियो त्यो मेहनत अहिले सम्झँदा अचम्म लाग्छ, तर त्यतिबेला त्यही हाम्रो जीवन थियो।
घरमा कालोपाटी हुन्थ्यो, रेडियो पनि हुन्थ्यो। रेडियोमा बुबाहरू समाचार, घटना र विचार स्वस्थानी कथा, गीत सुन्ने गर्थे।
त्यतिबेला प्रेमचिठ्ठी लेख्ने चलन थियो। रेडियोबाट पत्रहरू पढिन्थे, प्रेम गीत बज्थे। बजारमा हिरो–हिरोइनका पोस्टकार्ड पाइन्थे। त्यसमा आफ्नो नाम लेखेर पठाइन्थ्यो। त्यो नै हाम्रो सामाजिक सञ्जाल थियो। हामी शिष्टाचारमा पनि पक्का थियौं। बिहान उठेपछि र साँझ बत्ती बालिसकेपछि सबै मान्यजनलाई ढोग गर्ने चलन थियो। कहिलेकाहीं “पहिले को ढोग गर्छ?” भनेर हामी बच्चाहरू दौडन्थ्यौं। कहिलेकाहीं त गाउँभर डुल्दै दाजु, काका, बाजे, बज्यैलाई भेटेर ढोग गरिन्थ्यो। डर लाग्थ्यो, तर आदर पनि हुन्थ्यो ।
त्यो बाल्यकाल, आज पनि सम्झँदा मनको कुनाकाप्चामा मीठो स्पन्दन हुन्छ। दसैं आउनु केही दिन अघि नै मनमा उल्लास पलाउँथ्यो। नयाँ कपडाको आश, निधारमा लगाइने रातो टीका र जमरा, अनि आमाको हातले पकाएको परिकार—यी स-साना कुरामा संसारको सबैभन्दा ठूलो खुसी भेटिन्थ्यो। बुबाको हातको आशीर्वादले मनभित्र अनौठो भरोसा भरिन्थ्यो, मानौँ हामी जीवनभर सुरक्षित हुनेछौं।
तिहार झन् सपनाजस्तै लाग्थ्यो। देउसी–भैलो गाउन दौडिने ती पाइलाहरू, टुकीको उज्यालोमा देखिने साथीको अनुहार, अनि प्रत्येक घरमा पाइने माया—यी सधैंका लागि मनमा कोरिएर बसेका छन्। त्यतिबेला मिठाइ ,सेलरोटी र नरिवलको स्वादमा आमा–हजुरआमाको माया मिसिएको हुन्थ्यो। पिङको लहरामा आकाश छुने सपना देख्थ्यौं, कहिले लड्थ्यौं, फेरि हाँस्दै उठ्थ्यौं। त्यो चोट पनि रमाइलो लाग्थ्यो। तीज आउँदा आमा दिदीबहिनी हरूको गीत र नाच हेरेर हामी पनि मनमनै गुनगुनाउँथ्यौं—हामी ठूलो भएपछि यस्तै रमाइलो गरौँला भनेर।
चाडपर्वहरू त्यति बेला केवल परम्परा थिएनन्, तिनीहरू भावना थिए, सम्बन्ध थिए, र हाम्रो निश्चल बाल्यपनका रंगीन पाना थिए। ती दिन फर्किँदैनन्, तर सम्झनामा कहिल्यै हराउँदैनन्। गाउँमा पहिलो पटक सडक खन्दा हामीलाई अचम्म लाग्यो। ठूला डोजर हेर्दा खेलौनाजस्तो लाग्थ्यो। गाडी आउन थालेपछि रमाइलो हुन्थ्यो। तर हामी बालकहरूमा एउटा नराम्रो बानी थियो—गाडीका सिसामा ढुङ्गा हान्ने। एकदिन सिसा फुट्दा खलासीले लखेटे, त्यसपछि बल्ल थाहा भयो—बालापनको लाहुरेपन कहिले कहिले महँगो पर्छ। त्यो पछुतो आज पनि मनमा गढेर बसेको छ।
पढाइ बढ्दै गयो, आइकम पढ्न सुर्खेत आएँ। त्यहाँ साइकल सिक्ने रहर जाग्यो र सिक्नु पर्ने भयो। एक घण्टा सिक्न पाँच रुपैयाँ लाग्थ्यो। हामी दिनभर खाजा नखाएर पैसा बचाउँथ्यौं, अनि त्यो पैसाले साइकल सिक्थ्यौं। त्यो सिकाइ, त्यो संघर्ष, त्यो रमाइलो अहिलेको मोटरसाइकलभन्दा धेरै अमूल्य लाग्छ। आज जीवन धेरै फरक छ। मोबाइल, इन्टरनेट, सपिङ्ग मल, चिटिक्क परेको क्लासरूम, ब्रान्डेड कपडा—यी सबै जीवनको हिस्सा बनेका छन्। तर मेरो मनमा आज पनि एउटा साधारण संसार बाँचिरहेको छ—जहाँ रोटीमा अचार थियो, किताबमा पसिना थियो, ढुंगामा सिट थियो, रेडियोमा प्रेम थियो र बालापनमा आत्मा थियो।






