पाटनको बाटोमै भविष्य: यार्सागुम्बाको भरमा जीविका र शिक्षादेखि समाजसम्म

गोल्डेन बुढा
जुम्ला,६ जेष्ठ ।
पातारासी गाउँपालिकाका-१ गडिगाउँका जंगबहादुर ऐडी केही दिन अघि पाटनको बाटो समाते। घरको ढोका थुनेर उनी उच्च हिमाली पाटनतर्फ लागे — यार्सागुम्बा टिप्न। स्वरोजगारको कुनै विकल्प नभएपछि वर्षदिनको खर्च टार्न उनीसहित गाउँका सयौं युवा, महिला र वृद्ध यार्साकै भरमा जीवन चलाउने बाटोतर्फ लागेका छन्।

“दुई महिनाको मेहनतले वर्षभरि खान पुग्छ,” ऐडी भन्छन्, “त्यही भएर पातारासीका हजारौं जनता पाटन जान बाध्य छन्।”
पातारासी गाउँपालिकाको १ देखि ७ वडासम्मका अधिकांश घरका युवा, किशोरी, वृद्ध र केटाकेटीसमेत यार्साको सिजनमा पाटन पुग्ने गरेका छन्। विद्यालयहरू प्रायः सुनसान छन्। सरस्वती माविका सहायक चुम्मा बोहोरा भन्छन्, “माथिल्लो कक्षाका विद्यार्थी पाटन गइसकेका छन्, आधारभूत तहका केही मात्रै उपस्थित छन्।”
कक्षा १० मा अध्ययनरत पुजा विश्वकर्मा भन्छिन्, “३ जना केटी साथी मात्रै विद्यालय आउँछौँ, अरू सबै यार्सा टिप्न गएका छन्।”
शिक्षा शाखा प्रमुख रामचन्द्र रेग्मीका अनुसार, “कक्षा ८, ९, १० का सबै कोठा खाली छन्। ८० प्रतिशत विद्यार्थी पाटन गएका छन्।” अघिल्लो वर्षको निर्णय अनुसार, निरन्तर अनुपस्थित र कम शिक्षण हुने विद्यार्थी स्वतः फेल गरिने भनिए पनि समस्या समाधान हुने सङ्केत देखिँदैन।

यो अवस्था एक दशकदेखि दोहोरिइरहेको बताइन्छ। गाउँमा खेतीपाती कम, जागिर वा व्यवसायको अवसर झन् कम। गाउँका महिलाले घर, खेत, गोठ सबै सम्हाल्नुपर्ने बाध्यता छ। “घरको कामदेखि सडक बनाउने काम पनि महिलाले गर्छन्,” वडा अध्यक्ष लालसिंह ऐडी भन्छन्, “घर चलाउन र बालबच्चा पढाउन यार्सा टिप्नैपर्छ।”
गाउँमै बिरामीको रेखदेख गर्ने मान्छे भेटिँदैन। मर्दापर्दा मलामी लैजाने पनि छैनन्। यार्साको मोह यति प्रबल छ कि वृद्ध आमाबाबु पनि छाडेर छोराछोरी लेकतिर लागेका छन्।
पातारासी गाउँपालिका–३ की शोभा बोहोरा भन्छिन्, “यार्सा टिप्न जानु कसैका लागि रहर, कसैका लागि बाध्यता हो।”
स्थानीय सरकार रोजगार प्रवर्द्धन गर्ने कार्यक्रम ल्याउन असफल भएको जनगुनासो व्यापक छ। “युवाहरूलाई गाउँमै काम दिने योजना भाषणमै सीमित छन्,” उनी भन्छिन्, “त्यसैले पाटन पुग्नु बाध्यता बनेको हो।”
यार्सागुम्बाले गाउँलेलाई जीवन धान्न टेवा दिएको यथार्थ हो। तर, शिक्षा, स्वास्थ्य, सामाजिक संरचना र भविष्यको जग बलियो बनाउन नसकेसम्म पाटनको मोहले गाउँको भविष्य कमजोर बनाउने चिन्ता दिनदिनै बढ्दो छ।






