के सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य हुन्छ ?

विक्रम बुढा क्षेत्री ।
आज ३७औं विश्व एड्स दिवस, नेपालले यस वर्ष ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौं’ भन्ने नारा लिएको छ । नेपालमा एचआइभी महामारीको प्रकार र जोखिम समूह नेपालको वर्तमान एचआइभीको अवस्थालाई केन्द्रिकृत महामारीको रुपमा परिभाषित गरिएको छ ।

यसको अर्थ एक वा सोभन्दा बढी एचआइभि सर्नसक्ने जोखिममा रहेका समूहमा एचआइभि संक्रमण दर ५ प्रतिशतभन्दा बढी तर सामान्य जनसंख्यामा वा पूर्व प्रसुति सेवा लिएका गर्भवती महिलाहरुमा एचआइभि संक्रमण दर १ प्रतिशतभन्दा कम हुनु हो ।

नेपालमा एचआइभि संक्रमणको उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, जेलमा रहेका कैदीहरु, पुरुष समलिंगीहरु तथा तेस्रोलिंगीहरु र रोजगारीका लागि विदेशीनेहरु रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । यी मध्ये सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिंगी यौनकर्मीहरुमा संक्रमणदर अरु जोखिम समूहभन्दा उच्च छ ।

सन् २०२० मा सम्पन्न राष्ट्रिय सर्वेक्षण अनुसार नेपालमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरुमा ३ प्रतिशतका दरले एचआइभिको संक्रमण रहेको पाइएको थियो । यसैगरी सन् २०१७÷२०१८ मा भएका सर्वेक्षणहरु अनुसार महिला यौनकर्मीहरुमा २.२ प्रतिशत र पुरुष समलिंगीहरुमा ६.२ प्रतिशतका दरले एचआइभिको संक्रमण रहेको पाइएको नियन्त्रण केन्द्रले जनाएको छ । साथै सन् २०२४ मा सम्पन्न राष्ट्रिय सर्वेक्षण अनुसार भारतमा कामदार नेपालीहरुमा एचआइभिको संक्रमण ०.२ प्रतिशत रहेको पाइएको छ ।

तर उच्च जोखिममा रहेको सुईद्वारा लागूपदार्थ प्रयोगकर्ता र यौनकर्मीका लागि नेपाल सरकारले कत्तिको प्रभावकारी कार्यक्रम संचालन गर्न सकेको भन्ने एउटा प्रश्न हो ? यिनीहरुका लागि देशभरका २८ वटा जिल्लामा मात्र ‘क्षति न्यूनिकरण’ कार्यक्रम संचालन रहेको चेन्ज टिम लुम्बिनी प्रदेश फोकल पर्सन प्रविण विसी बताउँछन् ।

त्यसमध्ये लुम्बिनीका बाँके, बर्दिया र दाङ जिल्लामा चेन्ज टिमले र कर्णालीको सुर्खेत र सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा नेपाल रािष्ट्रय समाज कल्याण संघले ‘क्षति न्यूनिकरण’ कार्यक्रम संचालन गरेको छ ।

उनीहरुले ‘क्षति न्यूनिकरण’ कार्यक्रममार्फत सुईद्वारा लागूपदार्थ प्रयोगकर्तालाई सुई वितरण गर्ने, मेथाडन सेवनमा ल्याउने र यौनकर्मीलाई कण्डम वितरण गर्ने गरिहेको छ । ‘हाम्रो उद्देश्य भनेकै सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने र यौनकर्मीहरुलाई जसरी हुन्छ एचआइभि हुनबाट रोक्नु हो,’ विसीले भने ।

चेन्ज टिम लुम्बिनी प्रदेश सचिव यशोदा ज्ञवालीका अनुसार बाँकेमा कडा खालको लागूऔषध प्रयागकर्ताको संख्या १ हजार ७ सय ७२ रहेको छ । जसमध्ये यो वर्ष चेन्ज टिमले २ सय ३८ जनाको लक्ष्य लिएर काम गर्दा २ सय ४६ जनालाई सेवा दियो । जसमा २ सय ३४ जना पुरुष र १२ जना महिला रहेको ज्ञवालीले बताइन् । साथै बर्दियामा ६ सय ३८ पुरुष र ५ महिला र दाङमा ७ सय ५२ जना कडा खालका लागूऔषध प्रयोगकर्तालाई चेन्ज टिमले एचआइभी हुनबाट जोगाउने प्रयास गरिरहेको छ ।

त्यस्तै नेपाल राष्ट्रिय समाज कल्याणका अनुसार कर्णालीको सुर्खेतमा ४ सय ८२ जना, सुदूपश्चिमको कैलालीमा ५ सय ३९ र कञ्चनपुरमा ५ सय ६२ जनालाई एचआइभि हुनबाट जोगाउने प्रयास गरिरहेको छ ।

चेन्ज टिम फोकल पर्सन विसी सन् २०३० सम्म एड्स निर्मुल हुने कुरामा आशंका व्यक्त गर्छन् । ‘सरकारले लिएको लक्ष्य हो । यसै भन्न सकिन्छ । एड्सको उच्च जोखिममा रहेको सुईद्वारा प्रयोग गर्ने लागूपदार्थ प्रयोगकता र यौनकर्मी कति छन् भन्ने हामीसँग एकिन तथ्यांक छैन,’ विसीले भने,‘त्यसमा पनि हामीसँग भएको तथ्यांकअनुसार काम गर्न सकेका छैनौं ।’

जिल्ला स्वास्थ्य कार्यालय बाँकेले शनिबार आयोजना गरेको कार्यक्रममा एड्स हेल्थ फाउन्डेसनका कार्यक्रम संयोजक संजयकुमार पौडेलले फाउन्डेसनले एचआइभि संक्रमितहरुको प्रभावकारी उपचार र रोकथामका सवालमा सन् २०१७ जुलाइदेखि काम गर्दै आएको बताउँदै अझै पनि सचेतनाको कमी रहेको बताए ।

भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा एचआइभि फोकल पर्सन डा. संकेत रिसाल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगतबहादुर शाहीले एड्स अन्त्यका लागि सचेतना अझै पनि जरुरी रहेको बताए ।

नेपालगन्ज उप–महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले पछिल्लो समय एचआइभिको मुद्दा कमजोर हुँदै गएको बताए । सरकारको प्राथमिकतामा नै एचआइभीको मुद्दा नपरेको र संघीय र प्रदेश सरकारले एचआइभिको क्षेत्रमा बजेटनै नछुट्याएको उनको भनाइ थियो ।
सन् २०२३ मा नेपालमा एक करोड ८४ लाख अमेरिकी डलर राष्ट्रिय एचआईभी कार्यक्रमका लागि खर्च भएको थियो । त्यो कूल खर्चमा नेपाल सरकारको लगानी १० प्रतिशतमा थियो ।

नेपालमा एचआइभी संक्रमित ३० हजार बढी
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार सन् २०२३ को अन्त्यसम्म नेपालमा ३० हजार ३ सय व्यक्तिहरुमा एचआइभि संक्रमण भएको अनुमान छ । वयस्क जनसंख्याको ०.११ प्रतिशत संक्रमण छ । नेपालमा हरेक दिन १ जना मानिसमा एचआइभी संक्रमण हुन्छ ।

सन् २०२३ मा ४ सय ५७ व्यक्तिहरुमा एचआइभीको नयाँ संक्रमण भएको अनुमान गरिएको नियन्त्रण केन्द्रले जनाएको छ । जुन सन् २००० को तुलनामा ९१ प्रतिशतले घटेको छ । सन् २००० मा ५ हजार १ सय व्यक्तिहरुमा नयाँ संक्रमण अनुमान गरिएको थियो । सन् २०१० को तुलनामा ७८ प्रतिशतले कम हो ।

सन् २०२३ मामात्रै २ सय ६१ व्यक्तिहरुको एड्सको कारणले मृत्यु भएको अनुमान छ । जुन सन् २०१० को तुलनामा ८५ प्रतिशतले कम हो । सन् २०१० मा १ हजार ७ सय व्यक्तिहरुको एड्सको कारणले मृत्यु भएको अनुमान थियो ।

सन् २०२३ मा ४८ बच्चाहरुमा (०– १४ वर्ष) नयाँ संक्रमण भएको अनुमान गरिएको छ । जुन सन् २०१० को तुलनामा ७८ प्रतिशतले घटेको छ । सन् २०१० मा २ सय २२ बच्चाहरुमा नयाँ संक्रमण भएको अनुमान थियो ।

सन् २०२३ को (२०८० मंसीर) अन्त्य सम्ममा नेपालमा २४ हजार ७ सय ९३ संक्रमितहरुले एन्टीरेट्रोभाईरल (एआरभि) उपचार लिइरहेका छन् । अनुमानित कूल एचआइभी संक्रमितमध्ये ८२ प्रतिशत मात्र एआरभि उपचारमा रहेका छन् ।

एशिया प्रशान्त क्षेत्रमा एचआइभी र एड्सको अवस्था सन् २०२३ को अन्त्यसम्म एशिया प्रशान्त क्षेत्रमा ६७ लाख व्यक्तिहरुमा एचआइभी संक्रमण भएको अनुमान छ । कूल एचआइभी संक्रमित मध्ये ६७% (४५ लाख) एआरभि उपचारमा छन् । सन् २०२३ मा ३ लाख नयाँ संक्रमण भएको अनुमान गरिएकोछ जुन सन् २०१० को तुलनामा १३ प्रतिशतले घटेको छ ।

सन् २०२३ मा मात्रै १ लाख ५० हजार व्यक्तिहरुको एड्सको कारणले मृत्यु भएको अनुमान छ । सन् २०१० र २०२३ सम्ममा ५१ प्रतिशतले घटेको छ । सन् २०२३ मा १० हजार बच्चाहरुमा नयाँ संक्रमण भएको अनुमान गरिएको छ । जुन सन् २०१० को तुलनामा ५२ प्रतिशतले घटेको छ ।

विश्वमा सन् २०२३ को अन्त्यसम्म ८ करोड ८४ लाख व्यक्तिहरु एचआइभीबाट संक्रमित भइसकेका छन् । त्यसैगरी ४ करोड २३ लाख व्यक्तिहरुको एड्सको कारण मृत्यु भइसकेको छ ।

सन् २०२३ को अन्त्यसम्म संसारमा ३ करोड ९९ लाख व्यक्तिहरुमा एचआइभि संक्रमण भएको अनुमान छ । सन् २०२३ मा १३ लाख नयाँ संक्रमण भएको अनुमान गरिएको छ । जुन सन् १९९५ को तुलनामा ६० प्रतिशतले घटेको छ । सन् १९९५ मा ३३ लाख नयाँ संक्रमण थियो । सन् १९९० देखि २०२३ सम्ममा विश्वमा नयाँ एचआइभि संक्रमणको अवस्था र सन् २०२५ सम्ममा नयाँ संक्रमण घटाउने लक्ष्य देखाइएको छ ।

सन् २०२३ मामात्रै करिब ६ लाख ३० हजार व्यक्तिहरुको एड्सको कारणले मृत्यु भएको अनुमान छ । जुन सन् २०१० को तुलनामा ५१ प्रतिशतले कम हो । सन् २०१० मा १३ लाख व्यक्तिहरुको एड्सको कारणले मृत्यु भएको अनुमान थियो । सन् १९९० देखि २०२३ सम्ममा विश्वमा एड्सको कारणले मृत्युको अवस्था र सन् २०२५ सम्ममा एड्सको कारणले मृत्यु घटाउने लक्ष्य देखाइएको छ ।

नेपालमा यस्ता छन्, एचआइभीविरुद्धका कार्यक्रम
नेपालमा पनि सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलाई हाँसिल गर्न ९५ः९५ः९५ र एचआइभीको जाँच र उपचारको रणनीतिमा आधारित भएर एचआइभी तथा एड्ससम्बन्धी कार्यक्रमहरु संचालन भइरहेका छन् ।

सन् २०२३ सम्म ९५–९५–९५ लक्ष्यहरुका अर्थात ९५ प्रतिशत एचआइभि संक्रमितहरुले आप्mनो संक्रमण अवस्थाबारे थाहा पाउने, ती मध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेहरु मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुने अवस्था देखाइएको छ ।
सन् २०२६ सम्मका अनुमानित एचआइभि संक्रमित मध्ये ९५% को पहिचान गर्ने, एचआइभि संक्रमण पुष्टि भएका ९५% व्यक्तिको उपचार गर्ने, एआरटी सेवा लिइरहेका एचआइभि संक्रमित मध्ये ९५% मा भाइरल लोड सप्रेसन हासिल गर्ने, नयाँ एचआइभि संक्रमणलाई ९०% ले कम गर्ने, आमाबाट बच्चामा एचआइभिको संक्रमण उन्मूलन गर्ने, जन्मजात भिरिंगीको केस दरप्रति लाख जीवित जन्ममा ५० वा सोभन्दा कम गर्ने रहेको छ ।

विशेषतः आउटरीच शिक्षा, कण्डम र लुब्रिकेन्ट्स प्रवद्र्धन, एचआइभिको परामर्शर परीक्षण, यौन रोगको निदान र उपचार, जोखिम न्यूनिकरण, पिएमटीसीटी सेवा, एआरटी सेवा र समुदाय सहयोगका कार्यक्रमहरु सरकारी स्वास्थ्य केन्द्र र अन्य विभिन्न संघ संस्थाहरुबाट संचालन भइरहेकोछ । हाल ६३ जिल्लाका ९२ एआरटी केन्द्रहरुबाट एन्टीरेट्रोभाइरल उपचार निःशुल्क उपलब्घ गराइएकोछ ।

देशका सबै जिल्लाहरुमा आमाबाट बच्चामा हुने संक्रमण रोकथाम गर्न समुदायमा आधारित पिएमटीसीटी कार्यक्रम संचालनमा छ । जसअन्र्तगत प्रसुती केन्द्रहरुमा गर्भवती महिलाहरुमा एचआइभि निःशुल्क जाँच सुविधा छ । देशका ७७ वटैजिल्लाहरुमा अवस्थित स्वास्थ्य संस्थाहरुबाट एचआइभि परामर्श तथा परीक्षण केन्द्रहरुबाट सेवा प्रदान भइरहेकोछ ।

के सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य हुन्छ ?

सम्पादकीय : क्रिकेटले जगाएको उत्साह

के सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य हुन्छ ?

कर्णालीका किसानले दश लाखसम्म अनुदान पाउने