रोजगारी छैन, अब कमाउन कालापहाड !


जुम्लाको सिंजा–६ का देवीलाल रावत वर्षमा दुई पटक मात्रै घर आउँछन् । हरेक वर्ष दसैं –तिहार सकिनेबित्तिकै उनी झोला बोकेर कालापहाड लाग्छन् ।

मकै,कोदो,सिमी,जौँ,गहुँ र आलु लगायतका बाली भण्डार गरिसकेपछि उनी कार्तिक पहिलो साता (९)गते कमाउन भारत हिँड्छन् । यतिबेला गएका उनी फागुन वा चैत महिनाताका घर फर्किन्छन् । दसैंमा आएका उनी बाली भण्डार गर्नेबित्तिकै फेरि कालापहाडतिरै लाग्छन् । उनको यो क्रम दशकौंदेखि चलिरहेको छ ।

जुंगाको रेखी बस्नेबेलादेखि नै रोजगारीका लागि भारतका विभिन्न क्षेत्रमा धाउन थालेका देवीलालको रोजीरोटीको दौडाइ अहिलेसम्म रोकिएको छैन । ‘उतिबेला पढ्न पाइएन । कमाइका लागि गाउँका सबै जाने भारत नै हो । म पनि उनीहरुसँगै लागेर जान थालेँ । कतिपटक गएँ याद छैन’, उनी भन्छन् । काम पाए त गाउँमै बस्ने मन उनलाई पनि छ । तर, गाउँमा आउने केही सीमित योजना पनि अहिले जनप्रतिनिधिका वरिपरिकालाई काम गराउँछन् ।

जसका कारण रावतजस्ता कैयौं आफ्नो रोजीरोटीका लागि भारतमै धाउन बाध्य छन् । देवीलाल त एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्ता सिंजा क्षेत्रका हजारौं पुरुषहरुको मुख्य रोजगारीका गन्तव्यस्थल भारत नै हो । अझ उनीहरुले त कालापहाड नै भन्छन् । यहाँका पुरुषहरु चैत्रमा फर्किन्छन् । फेरि बर्खेबाली लगाएपछि असार अन्तिम या साउन पहिलो सातातिर भारत छिर्छन् ।

यतिबेला नेपालगन्जको रुपडियाँ नाकामा रोजगारीका लागि भारत जाने जुम्ला लगायत कर्णालीका सैयौं पुरुष भेटिन्छन् । परिवारका लागि एकसरो भए पनि नयाँ लत्ताकपडा र खर्च जोहो गर्ने सपना बोकेर सीमा पार गर्नेहरु लस्करै भेटिन्छन् । घर खर्च जोहो छोराछनेरी पढ्ने खर्च जोहो गर्न पुरुषहरु काम खोज्दै भारतर्फ जान लागेका हुन् । आफ्नै ठाउँमा सितिमिति काम नै पाउँदैन। पाइए पनि काम अनुसारको ज्याला पाइँदैन ।

कम्तिमा चार पाँच महिना नै भए पनि केही बचत हुने भएका कारण यहाँका पुरुषहरु भारत जाने गर्छन् । यस्तै अर्का मनोज बुढा पनि बाली भित्र्याएर काम खोज्दै भारतर्फ गएका छन्। उनी पहिल्यैदेखि भारतको विभिन्न ठाउँमा काम र व्यापार गर्दै आएका छन् । ‘दसैं मनाउन आएको थिएँ । मनाइयो काम पनि सकियो, अब घर बसेर के गर्नु? पहिल्यैदेखि त्यहीँ काम गर्न बानी परेकाले पनि होला घर बस्न मन लाग्दैन’, उनी भन्छन् ।

यस्तै दिनेश बुढा पनि बर्सेनि रोजगारीका लागि भारत जाँदै आएका छन्। गाउँमा भनेजस्तो काम नपाइने र पाएको कामको पनि उचित पारिश्रमिक नपाइने उनको गुनासो छ । ‘यहाँ भनेजति ज्याला पाइँदैन । यहाँ थोरै ज्यालामा काम पाइए पनि घरमै हुँदा पैसा जोगिँदैन । भारतमा हुँदा केही महिनासम्म बचत हुन्छ । घर आउँदा एकैपटक ऋण तिर्न र अन्य खर्च चलाउन पनि सहज हुन्छ’, उनी भन्छन् ।

गाउँमा गरेको कामले परिवारलाई एकसरो कपडा दिलाउन पनि मुस्किल पर्ने उनको भनाइ छ । सिंजा क्षेत्रका मात्रै होइनन्,यतिबेला सिंगो कर्णालीका विभिन्न गाउँ –घरका पुरुषहरु पनि रोजगारीका लागि भारत गइरहेका छन् । कोही त परिवारसहित पनि जाने गरेका छन् । आफ्नो खेतीपाती नभएकाहरु बालबच्चा र पत्नीसहित रोजगारीका लागि भारत जाँदै आएका छन् ।

यतिबेला उमेर ढल्केकादेखि सिंजाका युवायुवतीसमेत कमाइका लागि भारततर्फ गएका छन् । कर्णालीका युवाको मुख्य रोजगारीको गन्तव्य नै भारत हो । कोही घरखर्च चलाउन त कोही आफ्नो पढाइ खर्च जोहो गर्न पनि काम गर्न भारत जाने गरेका छन् । जुम्लाका अधिकांश गाउँमा अहिले महिला तथा वृद्धवृद्वा मात्रै भेटिन्छन् ।

युवादेखि वृद्धसम्म सबै पुरुष धन कमाउन कालापहाड ‘भारत’ गएपछि महिलाले मात्र गाउँ कुरिरहेका छन् । गाउँमा पुरुष नहुँदा कुनै अप्रिय घटना नघटोस् भनेर महिलाले पूरै गाउँको रातदिन रेखदेख गर्नुपर्ने स्थानीय जोवना बुढा बताउँछिन् ।

सिंजा–६ वडामा मात्रै ४ सय ४१ घरधुरीको बसोबास छ । यहाँका अधिंकासं पुरुष मजदुरीका लागि भारत पुगेको सिंजा–६ का वडा अध्यक्ष लालबहादुर बुढाले बताए । ‘यति बेला गाउँमा युवा कोही छैनन् । ज्याला मजदुरी गर्नसक्ने उमेरका सबै पुरुष भारत पसेका छन्, उनले भने, ‘गाउँमा महिला,वृद्धावृद्व र बालबालिका मात्रै छन्।स्थानीय सरकार गाउँ–गाउँ भने पनि आफ्नै ठाउँमा रोजगारीको कुनै सम्भावना नदेखेका कारण युवाहरू कालापहाड जान बाध्य भएका हुन् ।

स्थानीय सरकारले रोजगारी सृजना गर्न नसकेको उनीहरु बताउँछन् । व्यवस्था परिवर्तन भएपनि आफूहरूको दैनिकी नफेरिएको जुम्लाका युवाहरूको पिडा छ । गाउँमा रोजगारीका लागि अवसर नै नहुँदा मजदुरीका लागि भारत जानुपर्ने बाध्यता रहेको युवाहरूको दुखेसो छ ।

रोजगारी छैन, अब कमाउन कालापहाड !

आन्तरिक तयारीमा जुटे कर्णालीका राजनीतिक दल

रोजगारी छैन, अब कमाउन कालापहाड !

दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन