सामुदायिक स्वास्थ्य इकाइ स्थापना


जुम्लाको हिमा गाउँपालिकाले दुर्गम गाउँमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेपछि स्थानीयले सहज रुपमा सेवा पाउन थालेका छन् । कुनै पनि नागरिकले सामान्य स्वास्थ्य सेवा लिनका लागि ८ घण्टा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गाउँमा स्वास्थ्य इकाईका स्थापना गरेको हो ।

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाले सेवालाई थप प्रभावकारीसमेत बनाउन थालेको छ । गाउँपालिकाले–२ रिखीदेउमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेको हो । जुम्ला र कालिकोटको सिमानामा पर्ने रिखीदेउ भौगोलिक रुपमा निकै विकट भएकोले सामान्य चोटपटक र ज्वरो आउककदा चाहिने सिटामोल र जीवनजल लिनसमेत ८ घण्टाको पैदलयात्रा गर्नुपर्ने बाध्यता थियो ।

स्थानीय जयबहादुर रोकायाले सामुदायिक स्वास्थ्य इकाइ स्थापनाले गाउँमा खुसी छाएको बताए । उनले भने, ‘सामान्य स्वास्थ्य सेवा नपाउककदा निकै दुःखी थियौं तर सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएपछि खुसी छौं ।’

हिमा–२ ओदी गाउँमा आधारभूत स्वास्थ्य केन्द्र थियो, तर उनीहरु त्यहाँसम्म पुग्न सकिरहेका थिएनन् । हिमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर रावतले अब सामान्य बिरामीको जाँच औषधि उपचार गाउँमै हुने बताए । ‘सामुदायिक स्वास्थ्य इकाइमा एक जना अनमी र कार्यालय सहयोगी व्यवस्था गरिएको छ । रिखीदेउवासीलाई औषधि किन्न र बिरामी जाँच गर्न कठिन थियो,’ स्वास्थ्य शाखा प्रमुख रावतले भने,‘अब सहज होला ।’ हाल ३० घर रहेका रिखीदेउमा स्थापना भएको सामुदायिक स्वास्थ्य इकाइमा ४६ प्रकारका औषधि राखिएको छ । यो सँगै हिमामा ९ वटा स्वास्थ्य संस्था छन् ।हिमा गाउँपालिकाको पहल र केन्द्रीय सरकारको ३८ लाख रुपैयाँको लागतमा सामुदायिक स्वास्थ्य इकाइको भवनसमेत बनेको छ । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले भवनको उद्घाटनसँगै सेवा सुरु भएको घोषणा गरेका थिए । अध्यक्ष शाहीले भवन निर्माण र स्वास्थ्य सेवा एकैसाथ सुरु भएकोले निकै सहज भएको प्रतिक्रिया दिए ।

उनका अनुसार त्यो सामुदायिक स्वास्थ्य इकाइदेखि कालिकोटका बासिन्दाले समेत स्वास्थ्य सेवा लिन पाउनेछन् । आम नागरिकलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको अध्यक्ष शाहीले बताए । अब कोही पनि नागरिक सामान्य उपचारका लागि घण्टौँ लगाएर स्वास्थ्य संस्था पुग्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

अध्यक्ष शाहीले स्वास्थ्यमा सुधार हुँदै आएको छ, अहिले पनि हामीहरूले नयाँ प्रयासहरु गरिरहेको बताए । दशक अगाडिसम्म बिरामीलाई डोला र ढोकोमा बोकेर अस्पताल अवस्था रहेकामा अहिले नजिकको स्वास्थ्य संस्थामा उपचार गराउन पाएको स्थानीय बताउँछन् । गाउँमा स्वास्थ्य संस्था स्थापना भएपछि उपचारका लागि निकै सहज भएको भन्दै स्वास्थ्यमा ठूलै समस्या नआएसम्म टाढा जानुपर्ने अवस्था नभएको पदमकला रावतले बताइन् ।

पहिले गाउँमा स्वास्थ्य संस्था नहुँदा समयमा उपचार नपाउँदै धेरैले ज्यान गुमाउनु स्मरण गरिन् । “पहिला हात, खुट्टामा चोटपटक लाग्यो भने ८ घण्टा लगाएर सदरमुकाम जानुपथ्र्यो, अहिले घर छेउमै सामुदायिक स्वास्थ्य इकाइ खुलेको छ, सानातिना घाउ, चोटपटक र सामान्य बिरामीको उपचार यही गराउने छौँ”, “पहिलेको जस्तो दुःख छैन, गाउँमै बाटो आयो, मोटर गाडी गुड्छन्, विकास यही होला।”खेती–किसानी गर्दा, घाँस–दाउरा गर्दा कहिलेकाहीँ चोटपटक लागे पनि घर छेउमै उपचार गराउन पाएको भन्दै स्थानीयले खुसी व्यक्त गरे ।

यता स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । प्रदेशमा २५ नगरपालिका र ५४ गाउँपालिका छन् । जम्मा ७९ स्थानीय तहमा सात सय १८ वडा छन् । जुम्लामा स्वास्थ्य चौकीको सङ्ख्या २९ छ । प्राथमिक स्वास्थ्य केन्द्र एउटा छ । यहाँ जिल्ला अस्पताल छैन । सङ्घीय सरकार मतहातको कर्णाली स्वास्थ्य प्रतिष्ठान सञ्चालनमा छ । जसले कर्णालीमा स्वास्थ्य उपचार सहज बनाएको छ । यहाँ आठ स्थानीय तह छन् ।

आठ स्थानीय तह रहेको डोल्पामा १५ शय्याको जिल्ला अस्पताल र २३ वटा स्वास्थ्य चौकी छन् । यहाँका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण हुन सकेको छैन । मुगुमा एक जिल्ला अस्पताल छ, भने २४ वटा स्वास्थ्य चौकी छन् । यहाकाँ चार स्थानीय तहमा कुनैमा आधारभूत अस्पताल निर्माण हुनसकेका छैनन् । हुम्लामा २६ वटा स्वास्थ्य चौकी छन् भने एउटा जिल्ला अस्पताल छ । यहाँ सात स्थानीय तह छन् । कालिकोटमा २७ स्वास्थ्यचौकी र जिल्ला अस्पताल एक रहेको छ । नौ स्थानीय तहमध्ये पाँच वटामा प्राथमिक अस्पताल छन् । दैलेखमा प्राथमिक अस्पतालको सङ्ख्या चार रहेको छ भने स्वास्थ्य चौकीको सङ्ख्या ५५ छ । यहाँ ११ वटा स्थानीय तहमा चार वटा प्राथमिक अस्पताल छन् ।

सामुदायिक स्वास्थ्य इकाइ स्थापना

देश कंगाल पार्नेहरुलाइ नै पटक पटक मत

सामुदायिक स्वास्थ्य इकाइ स्थापना

जुम्लामा भित्रियो धान काट्ने मेसिन