सिन्धुली–रामेछाप सडक जोड्ने बेलिव्रिजको शुभारम्भ हुँदै


बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदीमा जडान भएको बेलिव्रिज मंगलवारबाट शुभारम्भ हुने भएको छ । मंगलबार अपराहन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बेलिव्रिजको शुभारम्भ गर्ने भएका हुन् ।
गत असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढीले सिन्धुलीको गोलन्जोर गाउँपालिकाको खुर्कोट र रामेछापको मन्थली नगरपालिकाको सेलेघाट जोड्ने खुर्कोट पुल बगाएको थियो । पुल बगाएपछि नेपाली सेनाले बेलिब्रिज बनाएको हो । नेपाली सेनाले तीन सातामै सुनकोशी नदीमा एमपिबी (मोडुलर प्यानल ब्रिज) राखेर सिन्धुली र रामेछाप जिल्लालाई जोडेको थियो ।
निर्माण सम्पन्न भएपनि पुलको मुखमा ढलान गरिएकाले यातायात सञ्चालन भने भएको थिएन । बाढीले मन्थली, रामेछापतर्फको एउटा भाग बगाएपछि सडक सम्पर्क पूर्णरूपमा टुटेको थियो ।






