तरकारी खेतीले, घरमै रोजगारी


जुम्लाको तिला गाउँपालिका–६ रिपी गाउँका ३० वर्षका डिल्लीबहादुर रावतको दैनिकी तरकारी बेच्ने र स्याहारसुसारमै बित्ने गर्दछ । उनको आम्दानीको स्रोत नै खेतबारी हो । डिल्लीका धेरै साथीहरू रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी मजदुरी गर्न भारत तिर भौँतारिरहेका छन् । उनले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन् । “मेरो जागिर भने पनि रोजगारी भने पनि यही तरकारी खेती हो । बिहानदेखि साँझसम्म यहीँ काम गर्छु”, आफूले गरेको तरकारी खेती देखाउँदै रावतले भन्ने, “आफ्नो घरमा बसेर तरकारी खेती गर्दै आएको छु कुनै सिजनमा सोचेभन्दा राम्रो आम्दानी हुन्छ, कहिले अलि थोरै हुन्छ ।”
डिल्लीबहादुरले अन्य साथीहरुलाई पनि तरकारी खेती गर्न सल्लाह दिन्छन् । तरकारी खेतीबाटै जीवन निर्वाह गर्दै आएका उनले वार्षिक झन्डै ४ देखि ६ लाखसम्म कमाई गर्ने गरेको बताए ।
व्यावसायिक तरकारी खेतीमा दैनिक श्रम गर्ने उनलाई आफ्नै खेतबारीमै विदेशमा पाइनेभन्दा उत्तम रोजगारी मिलेको अनुभूति हुन्छ । विगतमा उनी निर्वाहमुखी खेती गर्दै आएपनि पछिल्लो दुई वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आइरहेका छन् । उनको जुम्लाको सदरमुकाम खलंगा (चन्दननाथ नगरपालिका–४ भारतीबाडामा) एनआर फलफूल तथा जडिबुटी नर्सरी उद्योग खोलेर व्यावसाय गर्दछन् ।
१४ देखि १८ सय बर्ग मिटर लिजमा लिएका छन् । वार्षिक ३८ हजार भाडा तिर्छन् । बाह्रैमास उनको खेतबारी हराभरा देखिन्छ । मौसमी र बेमौसमी तरकारी खेती गर्ने उनको दैनिकी पनि निकै व्यस्त हुन्छ । “परिवारसँगै हाँसीखेली काम गर्न पाइएको छ, परिवारमा दुःख पर्दा सहयोग हुन्छ”, डिल्लीले भने, “कोही बिरामी पर्दा विदेशबाट भनेकै बेला सहयोग गर्न घर आउँछु भन्न पाइँदैन, सबै परिवार घरमा हुँदा एकअर्काका लागि पनि निकै सहयोग पुगेको छ ।”
अहिले उनको खेतबारीमा काँक्रा, गोलभेँडा, फर्सी, खुर्सानी काउली बन्दा,प्याज,धनीँया, साग,मुला गाजर लगायत तरकारी फलाएर बिक्री गर्ने भइरहेका छन् । खुर्सानी, प्याज र टमाटर प्रति केजी १ सय रुपैयाँमा बिक्री हुन्छ । भने फुल काउली,गाजर,बन्दा काउली र मुला प्रति केजी ८० रुपैयाँ र बन्दा काउली प्रति केजी ५० रुपैयाँ बेच्छन् । यस्तै,भेन्टा,धनिया र साग प्रति मुठ्ठा १० रुपैयाँ बिक्री गरिन्छ ।
रोजगारीको खोजीमा युवा जनशक्ति विदेश पलायन बढ्दो छ । स्वदेशमा रोजगारीको सम्भावना नभएको भन्दै विदेश पस्ने युवाका लागि रावत प्रेरणाको स्रोत बनेका छन् । उत्पादित कृषि उपज घरबाटै बिक्री हुने गरेको उनले सुनाए । “मेहेनत र काम गर्ने इच्छा शक्ति हुने हो भने पैसा कमाउन विदेश नै जानुपर्दैन । यहाँ पनि सम्भावना छन् । मेहेनत गर्न सके बाँझो रहेको जग्गाबाटै लाखौँ आम्दानी गर्न सकिन्छ”, डिल्लीले भने, “धनआर्जनका लागि सरकारी जागिर खानैपर्छ वा विदेश पुग्नुपर्छ भन्ने सोच मसँग छैन ।”
बारीमा तरकारी रोपेर पनि स्वरोजगार बन्न सकिने भन्दै उनका अनुसार यसमा सरकारले प्रोत्साहन गर्न जरुरी छ । विगतमा गहुँ,कोदो,धान,सिमी,मकै लगाउने जग्गामा उनले अहिले लिजमा लिएर मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै छन् ।
परिवारका लागि मुख्य आयस्रोत भनेकै तरकारी खेती हो । “विदेश बसेर भन्दा घरमा बसेर तरकारी खेती गर्दा आनन्द छ । परिवारसँग बस्न पाइएको छ, खान पाइएको छ, मेहेनत गरे घरमै बसेर तरकारी खेतीबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ”, उनले भने, “विदेशमा पसिना बगाएर कमाएको पैसा घरखर्च मै सकिने हुन्छ, तरकारी खेती गरेर वर्षमा लाख रुपैयाँ बचत हुँदा किन विदेश गएर पैसा कमाउने सपना देख्ने ? विदेशमा पनि रुखमा पैसा फल्ने होइन, जहाँ गरिनि दुःख गर्नैपर्ने हो ।”
उनको तरकारी खेती देखेर अहिले रिपी गाउँका अन्य किसान पनि व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । रोजगारीका लागि विदेश नै पुग्नुपर्छ भन्ने मानसिकता युवा पुस्ताले हटाउनुपर्ने बताउँछन् ।
यस्तै जुम्लाको चन्दननाथ नगरपालिका –६ छिना गाउँका चार जना युवाले पनि संयुक्त रूपमा तरकारी खेती गरिरहेका छन् । १२ रोपनी जग्गामा तरकारी खेती गरिएको बसन्तनाथ योगीले बताए । कमल थापा, सुशील रावल, डम्बर थापा र बसन्तनाथ योगीले संयुक्तरूपमा गरेका हुन् । छिना कृषि उद्योग जुम्ला खोलेका छन् ।






