जंगली रातो च्याउ खोज्दै बेच्दै : सिंजाका महिला


धुम्म बादल, सिमसिमे झरी । जब वर्षायाम शुरु हुन्छ, खेतीपातीमा गोड्मेलमा व्यस्त हुने दैनिकी । जुम्लाका विभिन्न जङ्गलमा धेरै थरीका च्याउ पलाउन थाल्छन् । त्यही च्याउ कतिपयको गतिले आम्दानीको स्रोत बनेको छ, स्वादिष्ट तरकारी । विना लगानी प्राकृतिक रुपमा उब्जनी हुने च्याउबाट ग्रामीण क्षेत्रका महिलाहरुले राम्रो आम्दानी गर्ने गरेका छन् ।
जुम्लाको सिंजा गाउँपालिका–६ का पानसरी बुढालाई यो बेला सधैं भ्याइनभ्याइ हुन्छ । उनी साउनको झरीबाट बच्न प्लास्टिक,र्यामकोट र छाता ओढेर उनी २ हजार १ सय मिटरमाथिका विभिन्न पाटनमा साथीहरूसँग पुगीरहेकी हुन्छिन् । पाटनमा सुकेका खर्सु (डालो) रूखमा उम्रेको रातो च्याउ भेटिन्छ । यसलाई खर्सु च्याउ पनि भनिन्छ । लेकाली जंगलका खर्सुका सुकेका रूखमा मात्र रातो च्याउ उम्रन्छ । गाउँघरमा परम्परागत तरिकाले उपभोग गरिँदै आएका लेकाली जंगलमा पाइने रातो च्याउ हिजो आज बिक्री समेत हुने गर्दछ ।
पानसरीले च्याउबाट १५ हजार रुपैयाँ आम्दानी गरिन् । अहिले सिंजा गाउँपालिका–६ का महिलाहरुको दैनिकी रातो च्याउ संकलनमा बित्न थालेको छ । अर्की कल्पना बुढा पनि साथीहरुसंग रातो च्याउ खोज्न पाटनमै पुग्ने गरेकी छिन् । उनीले च्याउबाट १२ हजार रुपैयाँ आम्दानी गरेको बताइन् । गाउँघरमा परम्परागत तरिकाले उपभोग गरिँदै आएका लेकाली जंगलमा पाइने रातो च्याउ हिजोआज पोखरा,बागलुङ,काठमाडौंका होटल–होटलमा पुग्ने गर्दछ ।
यो च्याउ व्यापारीहरूले पोखरादेखि विदेशसम्म पनि पठाइरहेका छन् । व्यापारी दिनेश बुढाले रातो च्याउको माग बढ्दै गएको बताए । रातो च्याउको व्यापार गर्दै बुढा रातो च्याउ सुकाएको ३ सय रुपैयाँ प्रतिकेजी खरिद गरेको बताउँछन् । उनी भन्छन् पोखरामा ताजा च्याउ प्रतिकेजी एक हजार रुपैयाँले किनबेच भइरहेको छ । महिलाहरुका अनुसार च्याउ टिप्ने संघर्षको कथा भने बेग्लै छ ।
कल्पनाले रातो च्याउ टिप्दाको दुःख बताउँदै भनिन्, ‘खान त स्वादिलो छ तर टिप्न भने उति नै सास्ती हुन्छ ।’घरबाट टाढा जंगली जनावर भालुको आक्रमणको जोखिम हुने जंगलमा पुग्नु, अक्सर सुकेका अग्ला रूखमा उम्रेको च्याउ टिप्न ज्यान जोखिममा राखेर चढ्नु सजिलो काम नभएको उनले बताइन् । सुकेका अग्ला रूखमा चढेर च्याउ टिप्न गाउँलेको आफ्नै सीप छ । उनीहरू बलियो काठका धेरै किल्ला सुकेका रूखमा ठोक्छन् र त्यसैमा टेकेर माथि उक्लँदै च्याउ टिप्छन् । जंगली च्याउ खादा बिरामी परेको समाचारहरु दैनिक आइरहदा कतै सोही च्याउले नी बीरामी त हुने होइन भन्ने प्रश्न भने उठ्ने गरेका छन् ।
तर, सिंजा–६ का वडाध्यक्ष लालबहादुर बुढा गाउँलेले रातो च्याउ सजिलै चिन्ने भएकाले विषालु पर्ला कि भन्ने जोखिम भने नहुने बताउँछन् । ‘यतिबेला गाउँलेहरू डोको बोकेर लेकतिर च्याउ टिप्न पुगेका छन् । रातो च्याउ टिप्न टाढा हिमालमुनिसम्मै पुग्नुपर्छ,’ उनले भने, ‘यसरी टिपेको च्याउ किन्न व्यापारी हात–हातमा पैसा बोकेर घरमै आइपुग्छन् । जंगलका मुढामा पैसा फलेको छ, जति टिप्न सक्यो उति राम्रो ।’यता सोही गाउँकी चुटुकला बुढाले आफ्नो परिवारले मात्र रातो, च्याउ टिपेर एक महिनामै साढे १५ हजारभन्दा बढी आम्दानी गरेको बताउँछिन् ।
‘खेती गर्न पर्दैन, गाईबाख्राले खाइदेला भन्ने पनि हुँदैन,’भन्छिन्, ‘जाँगर भए वनभरि पैसा फलेको हुन्छ । च्याउ बेचेर ग्रामिण महिलाहरुले घरखर्चको बन्दोबस्त गर्दैछन् । उत्पादनमा आफ्नो लगानी नपरेको च्याउ दिनभरी जङ्गलमा खोजेर ल्याउने गर्छन् ।
गाउँको माथिल्लो भेगमा पर्ने खोरिया,थुम,फोट,जलजला र नागाटाली लगायतका पाटन च्याउ संकलन गर्छन् । जंगलबाट टिपेको च्याउ छिटै बिग्रने भएकाले संकलकहरू टुक्रा पारेर घाममा सुकाउँछन् ।






