सम्पादकीय : विदेश युवा मात्रै नपठाऊँ सिप पनि भित्र्याउँ

अहिलेको समयमा नेपालका धेरै युवाहरु रोजगारको सिलसिलामा विभिन्न देशमा गएर काम गरिरहेका छन् । केही समय विदेशमा काम गरेर केही आर्थिक उपार्जन गरेर उनीहरु घर फर्किन चाहन्छन । तर देशमा काम गर्ने वातावरण छैन, के गर्ने भन्ने कुराले उनीहरुलाई केही समय घर फर्किदा पिरोल्छ । दुईचार पैसा कमाएर घर खुशी पारेर राखेको उसलाई फेरी सोही चिन्ताले सताउन थाल्छ र फेरी केही उपाए नदेखेर उ फेरी बिदेश जान चाहन्छ । तर नेपालमा आफुले विदेशमा सिकेको सिप प्रयोग गरेर उ आफु मालिक बनेर अन्यलाई रोजगारी दिने सम्मको आँट गर्न सक्दैनन किनकी उनीहरु अरुले गराएको काम गर्न बानी परेका हुन्छन र आफुले अरुलाई काम गराउन सक्ने आँट गर्न र सोच्नतिर पनि लाग्दैनन त्यसैले उनीहरुले आफ्नो युवा जोश जाँगरलाई विदेशी भूमीमा लगाउँछन ।
यसरी आफु मालिक बन्नलाई मानसिक रुपमा कमजोर भएकै कारण नेपालमा बिदेशीएकाहरु फर्केर केही गर्ने उत्साह, जोश र आँट छैन । तर जसले आँट गरेका छन् तिनीहरु नमुना रुपले आफ्नो आर्थिक, सामाजिक र पारिवारीक प्रगती गरेका छन् । त्यसको एक उदाहरण हुन भेरीगंगा–१३, चिप्ले, सुर्खेतका भैंसीपालक किसानहरुले जसले भैँसी पालेर दुध बेच्नेमात्र आर्थिक उपार्जन गर्ने सोंच राखेर सुरुवात गरेका थिए तर अहिले भने सोचेभन्दा पनि धेरै फाईदा कमाउँदा उनीहरुले एकलाई हेर्दै आँट गरेर अन्यले समेत सोही पशुपालनबाट मनग्गे आम्दानी लिन सफल भएका उदाहरण नै काफी छैनन र ?
विदेशमा गएर वालुवामा महल बनाउने आँट गर्ने नेपाली युवाले किन आफ्नै देशमा आफ्नो परिवारसंगै बसेर, खाएर, सुख दुखमा साथ रहेर त्यही दुख गर्न सक्दैन भन्ने मानसिकता बनाउँछन् । तिनैले अर्काको देशमा अर्काको आदेशमा महल बनाउँछन जुन विश्वकै नमुना बन्छ किन ? यो प्रश्नको उत्तर कसले खोज्ने ? यसको उत्तर पाएमा के हुन्छ ? कहिल्यै यसको उत्तर खोज्यो कसैले ? खोजिएन भनि किन खोज्ने प्रयास गरिएन ? कसको के स्वार्थ लुकेको छ यस्मा ? भन्ने कुराको खोजी गर्नु जरुरी छ । विश्वमा विर गोर्खाली भनेर चिनिने हाम्रा नेपाली दाजुभाई आफ्नै देशमा हुतीहारा कसरी हुन सक्छन ? कि आमाको संस्कारमा कमी छ कि त देशको शिक्षामा कम्जोरी छ खोजी हुनु जरुरी छ । भैँसीको दुध बेचेर मात्र आम्दानी गर्ने मानसिकताका साथ सुरु गरेको भैंसीपालन दुध, घाँस, गोबर लगायतका चिजहरु बेचेर पनि आम्दानी गर्ने उपाए देखेपछी किन जान्छन बिदेश ? कि त कतै देशको कानूनले पनि युवालाई उद्यम गर्नमा प्रोत्साहन भन्दा हतोत्साहित त गरेको छैन ? राज्यले सोच्नुपर्ने विषय हो ।
त्यसैले विदेश जानु आफैमा नराम्रो होईन तर उतै पलाएन हुनु भने दिर्घकालिन रुपमा परिवार, समाज र सिङ्गो राष्ट्रका लागी समेत खतराको संकेत हो । उच्च शिक्षा अध्ययन या त रोजगारीको सिलसिलामा विदेशीएकाहरु शिक्षा र सिप लिएर आफ्नै देशमा फर्किने वातावरण सरकाले बनाउनुपर्छ भने जाने बेला नै उनीहरुलाई मानसिक रुपमा सिमित समयको लागि विदेशीन लागेको हो म आफ्नै देशमा फर्किएर आफुले बिदेशमा सिकेको सिपलाई उच्चतम् प्रयोग गरेर देशमै उद्यम गरेर बस्नुपर्छ भन्ने मानसिक तयारीका साथ पठाउनुपर्छ । यहाँ त केही छैन, केही काम छैन, काम नहुने, नेता र भ्रष्ट कर्मचारीका लागी मात्रै हो देश हामी जस्ता युवाको देशमा भविष्य छैन भन्ने खालले उनीहरुको ब्रेन वास गरिएको छ अनि कसरी फर्किन्छन त युवाहरु देशमा र बन्छ देश ?






