परम्परागत कृषि छाडेर व्यवसायिक भैंसीपालनबाट मनग्य आम्दानी


सुर्खेतमा पछिल्लो समय किसान व्यवसायिक भैँसीपालनतर्फ आकर्षित भएका छन् । कुनैबेला जीविकोपार्जनका लागि मात्र भैँसी पाल्दै आएका किसान अहिले व्यवसायिक बन्न थालेका हुन् । सामान्यतया भैँसी दूध उत्पादनका लागि पालिन्छ ।

भँैसीको दूधबाटै मनग्य आम्दानी गर्ने किसानको संख्या पनि धेरै छ । यसको उदाहरण बनिरहेका छन् पूर्वि सुर्खेतका किसान । सुर्खेतको भेरीगंगा नगरपालिका–११ चिप्लेका किसान टोपेन्द्र रानासँग हाल ३१ वटा भैँसी छन् । जसमा ११ वटा दुहुना छन् । दूधबाट मासिक एक लाख रुपैयाँ आम्दानी हुन्छ । तर टोपेन्द्रले दूध मात्र होइन, भैँसीको गोबर बेचेर लोभलाग्दो आम्दानी गरिरहेका छन् । गोबरबाट समेत मनग्य आम्दानी हुन थालेपछि उनले भैँसीपालन व्यवसायलाई थप विस्तार गर्ने योजना बनाएका छन् ।

‘भैँसीबाट त मालामाल नै भयो, दूधसँगै गोबर पनि बिक्री हुन थाल्यो,’ टोपेन्द्र भन्छन्, ‘अचेल दूध मात्र होइन, भैँसीको गोबर किन्न आउनेको संख्या पनि उत्तिकै छ ।’ आफूले पालेको भैँसीबाट बर्षमा ४० ट्याक्टरभन्दा बढी गोबर उत्पादन हुने गरेको उनले सुनाए । उनका अनुसार एक ट्याक्टर गोबर सात हजार रुपैयाँमा बिक्री हुन्छ । ‘यो बर्ष मैले १० ट्याक्टर गोबर बेचिसकेँ, त्यसबाट ७० हजार रुपैयाँ आम्दानी भयो । गोबरको माग धेरै छ, तर हामीले आफ्नै खेतबारीमा प्रयोग गरेर बचेको गोबर मात्र बिक्री गर्छौं’ उनले भने ।

रोजगारीका लागि तीन बर्षसम्म कुबेत बसेका टोपेन्द्रले गाउँ फर्किएर भैँसीपालन थालेका थिए । ‘कमाउनका लागि विदेश नै जानुपर्दो रहेनछ’ टोपेन्द्र भन्छन्,‘गाउँमै बसेर गोबरबाट नगद कमाउन थालेको छु, घाँस र दूधबाट पनि राम्रै आम्दानी भइरहेको छ । अब के को लागि विदेश जानु ?’ उनले यसबाट भएको आम्दानीले गाउँमै थप जग्गा र गरगहना जोडेका छन् । केही आम्दानी भैँसीपालनमै लगानी गरेका छन् । पछिल्लो समय चिप्ले गाउँका प्रायः किसानले भैँसी पालेका छन् । प्रत्येक किसानसँग कम्तीमा पाँचदेखी बढीमा ३१ वटासम्म भैँसी छन् ।

टोपेन्द्र मात्रै होइनन् चिप्ले गाउँकै किसान राधिका बुढाथोकीले पनि भैंसीको दूधसँगै गोबरबाट मनग्य आम्दानी गरिरहेकी छिन् । राधिकाले पाँच वटा भैँसी पालेकी छन् । उनले दैनिक १० लिटर दूध बिक्री गर्दै आएकी छन् । उनी भन्छिन्, ‘भैँसीपालनबाट दोहोरो–तेहोरो फाइदा छ, दूधसँगै गोबर पनि बिक्री हुन्छ ।

गोबर बेचेरै हामीले नगद कमाएका छौं, गोबरको मलले गर्दा हाम्रो खेती पनि पहिलेको भन्दा फस्टाउन थालेको छ ।’ दूध र गोबर बेचेरै भएको आम्दानीबाट उनले छोराछोरीको पढाइखर्च टारेकी छन् । भैँसीपालनमा सघाउने मान्छे राखेर रोजगारी पनि दिएकी छन् । भैँसी पाल्ने गाउँको रुपमा चिनिने यो गाउँले दूधमात्र होइन, अहिले गोबर पनि निर्यात गरिरहेको छ ।

स्थानीयका अनुसार यो गाउँमा बर्षमा दुई सय ट्याक्टर भन्दा बढी गोबर मल उत्पादन हुन्छ । मुख्यगरी यहाँ उत्पादन भएको गोबर मल छिमेकी गाउँका किसान, व्यवसायिक तरकारी खेती गर्नेहरु र कृषि विषय पढाउने क्याम्पस तथा विद्यालयले खरिद गर्दछन् । स्याउला र घाँसपात नमिलाइएको शुद्ध गोबर मात्र भएकाले जिल्लाभित्र र जिल्लाबाहिर समेत यहाँका गोबर निर्यात हुने गरेको हो ।

त्यस्तै, सुर्खेतकै लेकवेशी नगरपालिका–१० साटाफाँटका किसानले पनि गोबर बेचेर आम्दानी गरिरहेका छन् । स्थानीय अगुवा किसान हुमप्रसाद लामिछाने भन्छन्, ‘भैँसी पाल्न थालेपछि गाउँमा आम्दानीको स्रोत बढ्यो, यहाँका किसानले दूध र गोबर बेचेर थुप्रै आम्दानी गरिरहेका छन् ।’ गाईभैँसी नपालेका किसानले खेतीमा मलको रुपमा प्रयोग गर्न आफूहरुबाट गोबर किन्ने गरेको उनले सुनाए । उनका अनुसार यहाँ उत्पादन भएको गोबर छिमेकी गाउँ र कर्णालीको राजधानी वीरेन्द्रनगरका किसानले समेत खरिद गर्दछन् ।

गोबरबाट समेत आम्दानी हुन थालेपछि गाउँका अन्य किसानहरु पनि विस्तारै भैँसीपालनतर्फ आकर्षित हुन थालेको उनको भनाइ छ । उनका अनुसार गोबर मलको प्रयोग गर्न थालेपछि किसानको उत्पादनमा पनि बृद्धि भइरहेको छ ।

धेरै उत्पादन हुने लोभमा अहिले पनि अधिकांश किसानले रासायनिक मलको प्रयोग गर्छन् । रासायनिक मल र बिषादीका कारण माटोको उत्पादन क्षमता घट्ने र वातावरणमा समेत क्षति पुग्ने कृषि प्राविधिक बताउँछन् । तर गोबर मल वातावरणमैत्री भएकाले यसको माग बढेको कृषि प्राविधिको भनाई छ ।

कृषि प्राविधिक हस्त बिक भन्छन्, ‘गोबरले माटोको उर्बरा शक्ति बढाउँछ, वातावरणलाई पनि कुनै हानी गर्दैन । माटोलाई उब्जाउ बनाउने भएकाले गोबर मलको माग बढ्दो छ, अर्कोतर्फ गाईभैँसीको पिसावले खेतीमा अर्गानिक बिषादी र सिँचाइकोसमेत काम गर्दछ ।’

भैंसीपालनमा प्रोत्साहन
कृषि क्षेत्र विकास कार्यक्रमले आर्थिक तथा प्राविधिक सहयोग गर्न थालेपछि आफूहरुले व्यवसायिक रुपमा भैँसी पाल्न थालेको किसानको भनाई छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित यो कार्यक्रम अन्तर्गत किसान र सरकारको आधा–आधा लगानी हुन्छ ।

चिप्ले गाउँकै किसान भूमिका राना भन्छिन्, ‘कुल लागतको आधा लगानी सरकारले गर्ने भएकाले पनि व्यवसायिक रुपमा भैँसीपालन गर्न सहज भयो, गाउँका सबैले अचेल व्यवसायिक रुपमै भैँसी पाल्न थालेका छन् ।’

कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतका सञ्चार अधिकृत रत्नबहादुर बुढाले किसानलाई व्यवसायिक बनाउन सहयोग गरिएको बताए । उनका अनुसार किसानलाई भकारो निर्माण, दुध बोक्ने सामान र घाँस काट्ने मेसिन, औषधि, प्राविधिक तालिम, नश्ल सुधार तथा बीमा लगायतका काममा सहयोग गरिन्छ ।

कार्यक्रममार्फत सहयोग पाउन थालेपछि विगतमा गुजराका लागि मात्र एक÷दुई वटा भैँसी पाल्दै आएका किसानले हिजोआज व्यवसायिक रुपमा पाल्न थालेका हुन् । किसानहरु हाल भैँसीपालन कृषक समूह नै गठन गरी संगठित भएका छन् ।

परम्परागत कृषि छाडेर व्यवसायिक भैंसीपालनबाट मनग्य आम्दानी

सम्पादकीय : जनताको जग्गा फिर्ता गर नभए

परम्परागत कृषि छाडेर व्यवसायिक भैंसीपालनबाट मनग्य आम्दानी

सम्पादकीय : विदेश युवा मात्रै नपठाऊँ सिप