आगलागीबाट जनधनको क्षति बढ्दै, ४५१ घटनामा ४३ जनाले ज्यान गुमाए


घटना–१
गत चैत २ गते कालीकोटको खाडाँचक्र नगरपालिका–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी एकै परिवारका बाबु छोरीको मृत्यु भयो । उक्त घटनामा परी घाइते भएका ५० बर्षिय नन्दराम चौलागाईँको उपचारका क्रममा चैत ७ गते दिउँसो मृत्यु भयो । उनकी १२ बर्षिया छोरी हेमन्ती चौलागाईको चैत ५ गते उपचारका क्रममा मृत्यु भएको थियो ।

घरमुनिको वनमा बाख्रा चराउन गएका बुवालाई दिउँसोको खाजा रोटी पु¥याउन गएकी छोरी हेमन्ती पनि वनमा लागेको डढेलोमा परेर जलेकी थिइन् ।

आगलागीमा चौलागाईँका ४५ वटा बाख्रा पनि जलेर मरेका थिए । घाइते बाबुछोरीलाई चैत ३ गते बेलुकी हेलिकप्टरबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएपनि उनीहरुलाई बचाउन सकिएन । बाबुछोरीलाई चार दिनसम्म सघन उपचार कक्ष (आइसीयू) मा राखेर उपचार गरेपनि बचाउन नसकिएको अस्पतालका डाक्टर केएन पौडेलले बताए ।

घटना–२
गत चैत २६ गते डोल्पाको ठुलीभेरी नगरपालिका–४ तिप्लामष्टाको भवानी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा तीन जना सैनिकको ज्यान गयो । डढेलोमा परेका चार जनामध्ये जुम्लाको तातोपानी गाउँपालिका–४ स्थायी घर भइ देविदत्त गुल्म दुनैमा कार्यरत २८ वर्षीय हेमन्त रावतको घटनाको केहिबेरपछि मृत्यु भएको थियो । भने गुल्ममा कार्यरत काभ्रेका ३८ वर्षीय जम्दार केशव बहादुर दर्जा मगर र हुम्लाका २३ वर्षीय आशिष बुढाको काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।

नेपाली सेनाको हेलिकप्टरमार्फत घाइतेहरुको उद्दार गरी छिट्टै अस्पताल पु¥याएपनि बचाउन नसकिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । उनका अनुसार आगो निभाउने क्रममा घाइते भएका अन्य १२ जनाको जिल्ला अस्पताल डोल्पामा उपचारपछि गुल्ममा फर्किएका छन् । सुरक्षाकर्मीहरूसँग अग्नी नियन्त्रणका लागि पर्याप्त उपकरण नहुनु र तीव्र गतिमा चलेको हावाका कारण बढी क्षति हुन पुगेको उनले बताए ।

घटना–३
गत चैत २९ गते डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागी हुँदा डढेलोमा परी तीन जना बालबालिकाको मृत्यु भयो । स्कुल बिदाको समयमा गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका तीनै बालबालिकाले आगलागीबाट ज्यान गुमाए ।

उपचारको क्रममा १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौँमा मृत्यु भएको थियो । भने १० बर्षिय सुलश बुढाको जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । उनीहरुको उद्धार गर्ने क्रममा हेलिकप्टर भाडामात्रै १६ लाख ५० हजार रुपैयाँ खर्च भएको कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए ।

माथिका यी घटना उदाहरण मात्रै हुन् । तर प्राकृतिक तथा मानविय लापरवाहीका कारण कर्णालीमा आगलागीका घटनासँगै ठुलो जनधनको क्षति बढ्दो क्रममा छ । विगत तीन ३ बर्षको अबधिमा मात्रै कर्णालीमा चार सय ५१ आगलागीका घटनामा परी ४३ जनाको मृत्यु भएको छ । भने ५१ जना घाइते भएका छन् ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आगलागीबाट पाँच सय दुई घर नष्ट हुँदा सवा ५६ करोड बराबर क्षति भएको छ । प्रहरीका अनुसार चालु आर्थिक बर्ष मात्रै एक सय ४३ वटा आगलागीका घटना भएका छन् । जसमा परी १७ जनाले ज्यान गुमाइसकेका छन् । भने ११ जना घाइते भएका छन् । झण्डै १२ करोडको क्षति भएको आँकडा छ ।

सामान्य लापरवाहीले जान्छ ज्यान
सामान्य लापरवाहीले घरमा आगलागी हुने र मानिसको ज्यानैसम्म जाने घटना हुन थालेका छन् । घरमा बालेको आगो राम्रोसँग ननिभाउने, कोठाभित्र संवेदनशिल स्थानमा आगो बाल्ने, वनमा डढेलो लगाउने जस्ता कार्यले मानिससँगै जीवजन्तुको पनि मृत्यु हुने गरेको छ ।

आगलागीको मुख्य कारण नै असावधानी हो । जसको एक उदाहरण हो हुम्लाको सर्केगाड गाउँपालिका–८ रादेउका ५५ वर्षीय हर्के ऐडीले आगलागीबाट ज्यान गुमाउनु । गत चैत २८ गते राति गाउँभन्दा झण्डै अढाई घण्टा पैदल दूरीको कुरिल्ला लेकको भेडीगोठमा उनको आगलागीबाट मृत्यु भएको थियो । राती सुत्दा आगो ननिभाइकन सुतेका उनी आगो फैलिँदा उनीसँगै गोठमा रहेका ६० वटा भेडासमेत मरेका थिए ।

त्यस्तै गत बर्ष माघ २३ गते जुम्लाको चन्दनाथ नगरपालिका–१ ठिन्के निवासी लोकबहादुर भण्डारीको घर आगालागी हुँदा उनकी १४ वर्षीया छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको थियो । आगो ननिभाईकनै सुतेका भण्डारी परिवारमा तीन जना घाइते भए । आगो घरको दोस्रो तलाबाट सल्किँदा घरको तेस्रो तलामा सुतेकी बन्दनालाई स्थानीयले बचाउन सकेनन् ।

डिभिजन वन कार्यालय सुर्खेतका अनुसार आगोजन्य वस्तु असावधानीवस वन क्षेत्रमा छोडिदिँदा ठूलो क्षति हुने गरेको छ । कार्यालयले हाल सचेतना फैलाउने र घटनामा संलग्न ठहरिए कारबाहीको दायरामा ल्याउने काम गरिरहेको छ । वन क्षेत्रमा चुरोट खाएर जथाभाबी फाल्दा, आगो लगाएर स्याउला नष्ट गर्न खोज्दा र वनभोज लगायत प्रयोजनमा बालिएको आगो ननिभाउँदा पनि वन क्षेत्र मासिने गरेको छ ।

टुकी ननिभाई सुत्दा, भान्साको आगो ननिभाउँदा र विद्युत् सर्ट हुँदा पनि आगजनी हुने गरेको छ । कर्णालीमा अधिकांश घर काठका हुने र कोठाको उचाई कम हुँदा पनि आगोले छिटो टिप्ने र फैलिने गरेका घटना छन् ।

आगो नियन्त्रण र उद्दारमा ढिलाई
कर्णालीमा हुने अधिकांश आगलागीका घटनामा आगो नियन्त्रण र उद्दारमा ढिलाइ हुने गरेको छ । अधिकांश स्थानीय तहमा बारुण यन्त्र नहुनु, भौगोलिक विकटताका कारण घटना स्थलमा पुग्न ढिलाई हुनु र आगो निभाउने उपकरण र पानीको स्रोत नजिक नहुँदा पनि ठूलो क्षति हुने गरेको छ ।

कर्णालीका जिल्ला सदरमुकाममा रहेका दमकलसहित सेना तथा प्रहरीको टोलीसमेत आगलागी हुँदा समयमै पुग्दैनन् । प्रदेश राजधानी सुर्खेतमै आगलागी हँुदा समयमै नत दमकल पुग्छ, नत उद्दार टोली नै । त्यसैमा झन् पानीको चरम अभावले आगो नियन्त्रणमा सकस पर्ने गरेको छ । भने अन्य जिल्ला र गाउँमा हुने आगलागी नियन्त्रण गर्न सजिलो छैन ।
यही बैशाख २ गते दिउँसो वीरेन्द्रनगरमा भएको आगलागी नियन्त्रणमा समेत जिल्ला प्रशासन कार्यालय सुर्खेतको समन्वय अभावले ठुलो क्षति भोग्नु प¥र्यो ।

वीरेन्द्रनगर–६ खोर्केखोला नजिकै रहेको ज्वाला टे«डर्सको गोदाममा आगलागी हँुदा भवन रंगरोगन तथा प्लम्बिङका लाखौं मुल्यका सामानसहित गोदामसँगै जोडिएको यज्ञपिस बोर्डिङ स्कुलको तीन कोठे भवन समेत जलेको छ ।

आयो नियन्त्रणका लागि समयमै दमकल तथा तालिम प्राप्त सशस्त्र प्रहरी, नेपाली सेना लगायत जनशक्ति परिचालन गर्न जिल्ला प्रशासनको समन्वय कमजोर देखियो । सुख्खायाम सुरु भएसँगै हाल कर्णालीका दर्जनौ स्थानमा आगलागीका घटना भइरहेका छन् । आगलागीका घटना हुन नदिन र भइहालेमा आगो नियन्त्रण तथा उद्दारमा ढिलाइ नगर्न सबैले आआफ्नो ठाउँबाट भुमिका खेल्न जरुरी छ ।

आगलागीबाट जनधनको क्षति बढ्दै, ४५१ घटनामा ४३ जनाले ज्यान गुमाए

वडाद्वारा चार सय घरधुरीको घर बीमा

आगलागीबाट जनधनको क्षति बढ्दै, ४५१ घटनामा ४३ जनाले ज्यान गुमाए

चार महिना भित्र पेट्रोलियम पदार्थको परिमाण पत्ता