एमालेभित्र नेता कँडेलकाे आफनो पक्षमा एकलौटी गर्ने, विराेधीलाइ सक्ने प्रबृत्तिले …

सुर्खेत, ११ चैत्र ।
नेकपा एमालेको पार्टी राजनीतिमा पार्टी केन्द्रको हरेक निर्णयमा चुनौती दिने नेताका रुपमा चिनिन्छन् नेता यामलाल कँडेल । आफू अनुकुल पार्टीमा लाइन नमिले विद्रोह गरिहाल्ने एमाले स्थायी कमिटी सदस्यसमेत रहेका दैलेख जिल्ला इन्चार्ज कँडेल पछिल्लो समय पार्टी केन्द्रीय नेतृत्वको हरेक निर्णयलाई हवाला दिदैँ कर्णालीमा हावि बन्दै जान थालेका छन् ।

कँडेलले हालसालै सम्पन्न एमाले प्रथम कर्णाली अधिवेशनदेखि जारी जिल्ला तथा पालिका अधिवेशनमा आफ्नो बर्चश्व जमाउन आफू अनुकुल कमिटी गठन गर्नमा केन्द्रित भएका छन् ।

जसका कारण एमाले कर्णालीमा विस्तारै गुट उपगुटहरु बन्दै गएका छन् । लामो समय पार्टी निर्माणमा लागि परेका पुराना नेता तथा कार्यकर्ताहरु रुष्ट बन्दै पाखा लाग्दै जान थालेको एमाले भित्र गुनासो बढ्दै गएको छ ।

जसको उदाहरण बिहिबारदेखि सुर्खेतमा जारी एमाले सुर्खेत जिल्लाको नवौं अधिवशेन र गत असोज ११ देखि १५ गतेसम्म चलेको प्रथम कर्णाली अधिवेशनलाई लिन सकिन्छ । प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै पार्टी अध्यक्ष केपि शर्मा ओलीले कर्णाली प्रदेश अध्यक्षमा कालिकोटका मिनबहादुर शाहीलाई सर्वसम्वत बनाउन सन्देश छाडेर गएका थिए ।

अध्यक्ष ओलीको निर्देशन बमोजिम पार्टी महासचिव शंकर पोखरेलले शाहीको नेतृत्वमा सर्वसम्वत प्रदेश कमिटी चयन गर्न लागि परेका थिए । तर नेता कँडेलको हठले पोखरेलको सर्वसम्वतको प्रयास असफल बनेको थियो ।

कँडेलको असहमतिपछि प्रदेश अध्यक्षका लागि दुई धार देखा प¥यो । कँडेलको नेतृत्व गर्दै प्रदेश अध्यक्षका लागि गुलावजंग शाह अघि सरे भने अर्का स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीको टिमको नेतृत्व मिनबहादुर शाहीले गरे ।

बोगटी टिम पार्टी अध्यक्ष ओलीबाट निर्देशित थियो । प्रदेश चुनावका लागि दुई धार बनेपछि कँडेलले नेताहरुलाई सहमतिमा ल्याउन कुनै चासो दिएनन् । अध्यक्ष नपाएपनि सचिव वा सम्मान जनक पद पाए बोगटी टिम सर्वसम्वत भएर जाने रणनीति थियो ।

तर कँडेलले मेजर तीन पदमा कुनै सम्झौता नहुने अड्डी थापेपछि कर्णालीमा एमाले भित्र दुई धारको राजनीति सफलीभुत भएको बोगटी निकटका एक केन्द्रीय सदस्यले दावी गरे ।

प्रदेश कमिटी चयनमा कँडेलले साविक माले ब्यूताएको झल्को दिने गरी गुटवन्दी मार्फत लामो समय पार्टी राजनीतिमा रहेका पुराना नेता तथा कार्यकर्ता माथी घात गरेको ति सदस्यको दावी छ । यति मात्रै होइन प्रदेश कमिटीको पदाधिकारी चयनमा समावेशितालाई ध्यान नदिँदा विवाद पार्टी केन्द्रसम्म पुगेको थियो ।

पदाधिकारीमा महिला सहभागितालाई बिर्सेको कँडेल टिममाथी अन्तत पार्टी केन्द्रले हस्तक्षेप गरेपछि चुनावमा उपसचिव पदमा विजयी भएका रमेश शाही बरखास्तीमा परेका थिए ।

कँडेलले प्रदेश कमिटी चयनमा विजारोपण गरेको गुट सुर्खेत जिल्लाको नवौं अधिवेशनमा समेत परेको छ । बिहिबारदेखि सुरु भएको अधिवेशनमा एमाले महासचिव पोखरेलले सर्वसम्वत नेतृत्व चयन गरेर निराश कार्यकर्तामा उर्जा थपिने गरी काम गर्न सुझाएका थिए ।

पोखरेलले अध्यक्षमा कुलमणी देवकोटा र उपाध्यक्षमा मोहन बडुवाललाई बनाउ सुझाव दिएको एमाले स्रोत दावी गर्छ । पोखरेलको संकेतपछि बोगटी टिमले सचिवसहित ४० प्रतिशत कमिटीमा भाग खोज्ने रणनीति बनाएर छलफलमा बस्यो तर कँडेल राजि भएनन् ।

सहमतीका लागि स्थायी कमिटी सदस्यहरु कँडेल र बोगटी तथा केन्द्रीय सदस्य नवराज रावत पटक–पटक छलफलमा बसेको भएपनि कँडेलले उपसचिवसहित २० प्रतिशत सदस्य दिन सकिने अडान लिएपछि जिल्ला कमिटीको नेतृत्व चुनावमा गएको एमालेको उच्च स्रोत दावी गर्छ ।

कँडेलको यो कदमले प्रदेश राजधानी र आफ्नो गृह जिल्ला भएकाले पनि कँडेल नयाँ आउने कमिटी आफू अनुकुल बनाउन चाहेको प्रष्ट देखिन्छ । तीनै नेताले सहमतिको खाका कोर्न नसक्दा बोगटी र रावत गुटको नेतृत्व विसीले गरे भने कँडेलको नेतृत्व देवकोटाले गरेर उम्मेद्वारी दर्ता गराएका छन् ।

वोगटी सुर्खेत जिल्ला ईन्चार्ज हुन् भने कँडेल र रावतको गृह जिल्ला सुर्खेत हो । सहमतिको अन्तिम प्रयास असफल भएपछि पार्टीको आठौं अधिवेशनबाट अध्यक्ष र उपाध्यक्ष एउटै टिमबाट आएका अमृतबहादुर विसी र कुलमणी देवकोटा दुई धुव्रमा उभिएर चुनावी प्रतिपस्र्धामा होमिएका छन् ।

आठौं अधिवेशनबाट विसी अध्यक्ष बनेका थिए भने देवकोटा उपाध्यक्ष बनेका थिए ।सहमति र सहकार्यका आधारमा एउटै टिममा रहेर कार्यकाल पुरा गरेका विसी र देवकोटा पार्टीका माथिल्लो तहका नेताहरुको हठका कारण अध्यक्षका लागि आम्नेसाम्ने भएको एमाले वृत्तमा चर्चा भइरहेको छ ।

यसको मुख्य कारण एमाले स्थायी कमिटी सदस्यहरु यामलाल कँडेल, गोरख बोगटी र केन्द्रीय सदस्य नवराज रावतको प्रतिष्ठाको लडाईँ रहेको एमालेका एक नेताले दावी गरे ।

अध्यक्ष, उपाध्यक्ष र सचिवमा दावि गरेको कँडेल टिम टसको मस नहुँदा बोगटी टिमले पनि प्यानलै खडा गरेर चुनावी प्रतिस्पर्धा रोजेको थियो । नेताहरुको छलफलमा सहमतिबाट नेतृत्व छनौंटका लागि बोगटी टिमले सचिवसहित ४० प्रतिशत सदस्य मागेको थियो । तर कमिटी सञ्चालनमा असहज हुने भन्दै कँडेल टिमले सचिव पनि आफूहरुले नै पाउनुपर्ने दावि प्रस्तुत गरेपछि सहमति हुन नसकेको नाम नबताउने सर्तमा एक नेताले बताए ।

बोगटी टिमले सचिवका लागि अगाडि सारेका सम्भावित नेताहरुबाट जिल्ला कमिटी चलाउन असहज हुने कँडेल टिमको ठम्याई छ । यो टिमबाट पदाधिकारीका लागि अगाडि सारिएका नेताहरु विद्रोही स्वभावका भएकाले कमिटी सञ्चालनमा झमेला हुने भन्दै तीनै महत्वपूर्ण पद कँडेल टिमले अगाडि सार्नु र बोगटी टिमले सचिवसहित ४० प्रतिशत हिस्सा माग गर्नु नै विवादको प्रमुख जड भएको ति नेताको दावी छ ।

‘उनीहरूको टिमभन्दा बढी नेताहरू यतै भएकाले व्यवस्थापन गर्न समस्या भएपछि सहमतिमा खास कुरा मिल्न सकेन तर उप–सचिवसहित २० प्रतिशत सदस्य लिनुहोसभन्दा नमानेपछि अधिवेशन चुनावमा गएको हो,’ ति नेताले भने, ‘उनीहरूले खोजे जसरी दिन सकिने अवस्था भएन अब निर्वाचन बाटै नेतृत्व छनौंट हुन्छ ।’

तर वोगटी टिमका नेताहरूले भने अमृत विसीसहितको टिमलाई सम्मानजनक रूपमा व्यवस्थापन नगरिँदा चुनावमा होमिन परेको बताउँछन् । ‘स्वभावै उनीहरूको दवदवा छ तर हामी नेता कार्यकर्ताहरूको पनि उचित सम्मान हुनु पर्याे भनेर सचिवसहित केही सदस्य मागेका थियौं, तर त्यो नभएपछि अन्तत हामी पनि चुनावमै जाने निर्णय ग¥यौं, चुनावको परिमाण जे आउँछ हामी स्वीकार्छाैं,’ ती नेताले भने ।

एमाले सुर्खेतमा आएको विवाद यो नौलो भने होइन । गत ४ मंसिर २०७९ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा सुर्खेत जिल्ला कमिटीले सुर्खेत क्षेत्र नम्बर २ (क) को टिकट खड्क बहादुर खत्रीलाई दिएको थियो । जनस्तरमा राम्रो प्रभाव भएको र चुनाव जित्न सक्ने भन्दै पार्टीको जिल्ला कमिटीले खत्रीलाई टिकट दिएको थियो ।

खत्रीलाई जिल्ला कमिटीले दिएको टिकटमा चित्त नबुझेको भन्दै डण्डीप्रसाद शर्माले पार्टी केन्द्रबाट टिकट लिएर आएपछि एमाले सुर्खेतमा भाँडभैलो नै मच्चिएको थियो । शर्मालाई पार्टी केन्द्रले दिएको टिकटका विषयमा सुर्खेत जिल्ला कमिटीले आधिकारिक उम्मेदवार खड्क बहादुर खत्री भएकाले शर्मालाई जिताउन नसकिने निर्णय नै सार्वजनिक गरेको थियो । त्यसयता शर्मा रिसाउँदै आएका छन् ।

सोही विवादका कारण आठौं अधिवेशनमा विसीसँग हारेका शर्मा नवौंमा आउँदा उनै विसीलाई साथमा लिएर चुनावी मैदानमा होमिका छन् । कँडेलको पक्षबाट अध्यक्षका लागि हाल उपाध्यक्ष रहेका कुलमणि देवकोटा र वोगटी टिमबाट वर्तमान अध्यक्ष अमृत बिसी छन् ।

कर्णालीबाट एमालेको स्थायी कमिटी सदस्यद्धय कँडेल र बोगटीसँगै, पोलिटब्यूरो सदस्यहरुमा मुगुका मोहन बानियाँ, जाजरकोट भैरवसुन्दर श्रेष्ठ, दैलेखका लक्ष्मीप्रसाद पोखरेल लगायत २१ जना केन्द्रीय सदस्यहरु छन् ।

एमाले कर्णालीका अधिकांश नेताहरू यामलाललाई नरुचाएर पनि नेता मान्नुपर्ने बाध्यतामा छन् । कँडेलले पार्टी केन्द्र अर्थात केपी शर्मा ओलीविरुद्ध विद्रोह समूह नै बनाएर कर्णालीमा गतिविधि गरिरहेको एमाले नेताहरु नै बताउँछन् ।

यति मात्रै होइन नेता कँडेलले कर्णाली प्रदेशसभाको अघिल्लो कार्यकालमा सत्ता लोभले आफ्नै समर्थनमा रहेको नेकपाको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । जसका कारण एमाले र माओवादी केन्द्रको एकिकरण पछि बनेको नेकपा विभाजन हुन पुग्यो । यतीमात्रै हैन् जसका कारण प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको पद समेत गुमेको थियो ।

एमालेभित्र नेता कँडेलकाे आफनो पक्षमा एकलौटी गर्ने, विराेधीलाइ सक्ने प्रबृत्तिले …

YUGAAWHAN NATIONAL DAILY (2080-12-11)

एमालेभित्र नेता कँडेलकाे आफनो पक्षमा एकलौटी गर्ने, विराेधीलाइ सक्ने प्रबृत्तिले …

कर्णालीका ६ गेमचेन्जर आयोजना समावेश हुँदै