सम्पादकीय: मानसिक गरिबिले निम्ताएको आर्थिक गरिबी

कर्णालीलाई परापूर्व कालदेखी नै गरिब र पिछडिएको क्षेत्र भनेर भजाईखान पाउनेहरुले राम्ररी भजाएर खाए । त्यसैलाई निरन्तरता दिँदै हालसम्म पनि स्वघोषित अगुवा, सामाजिक अभियान्ताहरुले अनेक नामाकरण गरेर कर्णालीलाई भजाएर आफ्नो दुनो सोभ्mयाएकै छन् ।
अझै कति भजाउने हुन त्यो उनीहरु नै जानुन । तर तिनले आफ्ना स्वार्थ अनुकुल भजाईरहदा यहाँका नागरिक भने गरिबमाथी गरिब बन्दै गएका छन् । आर्थिक गरिबी त मापन गर्न सकिएला हामी कर्णालीबासीको मानसिक गरिबी पनि यति भयो कि मापन यन्त्र नै नहुने भयो । कर्णालीबासीलाई संधै दुरदराज कर्णाली भनेर सहानुभूती राखेझै गरेर देलान र खाँउला भन्ने बनाईयो । सधैं कर्णाली नाम र गरिब कर्णालीबासी भनेर डलर भजाएर खाने र अलिअलि खुवाउने बानि पारे ।
यसरी आउला र खाउँला भनेर आँ गरेर बस्ने बानी परेकाले हामी कर्णालीबासीलाई पहिला आर्थिक गरिब देखाएर मानसिक समेत गरिब बनाईयो । हाम्रो नगद पैसा गरिबिलाई कसी लगाईवरी मानसिकता समेत गरिब बनाईएको यथार्थ कसले स्विकार्ने ? कसले बुझ्ने ? कसले वास्तविकतालाई केलाएर हेर्ने र सहि गलत छ्ट्याउने ? गाउँमा अहिले पनि कुनै कार्यक्रमको चिठी पुग्यो वा कार्यक्रम छ भनेर बोलाईयो भने भत्ता कति छ भन्नेले कार्यक्रमका सहभागी कति हुने भन्ने कुरा निर्धारण गर्छ ।
कार्यक्रमको उपयोगिता, व्यक्ति, समाज र सिङ्गो देशका लागी त्यस कार्यक्रमले दिन खोजेको सन्देश र उद्देश्य त स्वयम् आयोजकलाई समेत मतलब हुन्न । बस् कार्यक्रम सक्काएर आयोजकले जागिर खाने र सहभागीले मःम, चाउमिन र भत्ता खाने हुन्छ । यसरी कर्णालीबासीलाई शारिरिक श्रम र मानसिक समेत श्रम गर्नमा अल्छि बनाएको यथार्थता कसले बुझ्ने ? नियामक निकाय नभएका पनि होईनन तर ति नियामक निकायमा पनि धेरै हामी कर्णालीबासी नै छौं हाम्रो दिमागमा यसै त्यहि चिज सेट भएको छ ।
बाह्य ठाँउबाट आएका व्यक्ति मानसिक रुपमा अलि तिखा छन् । उनारुले यसो २ फन्को लगाएर चिहाए भने हाम्रो दरिद्रता कहाँ छ फ्याट्टै पत्ता लगाएर त्यहींबाट सबैका कमजोरी अनुसारका व्यबहारले आफ्ना अनुकुल काम सक्काएर उ गयो भने बल्ल हामीलाई थाहा हुन्छ । एनजिओ आईएनजिओको नाममा देशमै सबैभन्दा बढी सहयोग आउने ठाउँहोला सम्भवत कर्णाली । तर यहीं किन गरिबीको दर झन् झन् बढेको छ भनेर कसले खोजिदिने ?कसले चिन्ता गरिदिने ? चिन्ता गरेर पनि के हुने ? यि र यस्तै प्रश्नको उत्तर खोज्दाखोज्दै कर्णालीबासीका कति पुस्ताको ईतिहास लेख्ने, लेखिने ?
केही योजना आयो सबैको ध्यान त्यहीँ जान्छ, केही कार्यक्रम आयो सबैको चासो त्यहिँ हुन्छ । त्यो बानि बनाइदिएका छन् हाम्रा अगाडीकाहरुले । घरमा आप्mनो काम गर्दा एक हजार कमाई हुने काम हुन्छ तर तीन सय भत्ता पाउने कार्यक्रम भयो भने मानिस घरको काम छोडेर त्यो कार्यक्रममा गएर पुरा दिन बिताएर मःम खाएर, भत्ता लिएर आउँछ ।
यसैले हामी आर्थिक रुपमा गरिब भए मानसिक रुपमा केही गर्न नसक्ने त पक्कै छैनौ । तर भएको दिमाग पनि खाली आउँला र खाउँला भन्ने बाहेक अन्तः नलाग्ने भएर हामी आर्थिक रुपमा गरिब कि हाम्रो मानसिकता र प्रबृत्तिले हामीलाई झनझन गरिब बनाएको छ भन्नेकुरा हामीले नबुझेसम्म कर्णालीमा गरिबी प्रतिशत घट्ने होईन बिभिन्न शिर्षक देखाएर बढ्नेचाँही निश्चित छ । कर्णालीबासीलाई डलर सहयोग होईन मानसिक मजबुत बनाउने सहयोग चाहिएको छ ।
कर्णालीमा रहेका हिरा चिनेर त्यो हिराको विश्वबजार खोजेर बिदेशी मुद्रा आर्जन गर्ने मानसिकता मजबुत बनाउने उपाए चाहिएको छ । घरमा उत्पादित स्वास्थ्यका लागी बहुमुल्य औषधीजन्य खाद्य पदार्थ खाँदा जिब्रोको स्वाद फेरेर उत्पादित अन्नलाई खानेकुरा नमानेर चामल अभावलाई खाद्यान्न अभावको संज्ञा दिने हाम्रो मानसिकता गरिब कि आर्थिक गरिबि ? मानसिक गरिबी नहटेसम्म आर्थिक समृद्धि सम्भव छैन ।






