आर्थिक संकटले थलिदैः जुम्लाको प्राविधिक शिक्षालय


झन्डै ७ हजार प्राविधिक जनशक्ति उत्पादन गरेको राजधानीबाहिरको जेठो कर्णाली प्राविधिक शिक्षालय पूर्वाधार र जनशक्ति व्यवस्थापन नहुँदा संकटमा पर्दै गएको छ ।
सञ्चालनको झन्डै चार दशक बित्दा शिक्षालय पुरानै जीर्ण भौतिक संरचनाका भरमा चलेको छ ।भने प्रयोगशाला र प्रशिक्षकको समेत अभाव झेलिरहेको छ । पूर्वाधार अभावमा पछिल्लो समय शिक्षालयमा विद्यार्थीको मोह पनि घट्दै गएको छ ।शिक्षालयको व्यस्थापनमा अहिले बजेट अभाव मुख्य समस्याका रूपमा देखिएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र सरोकारवाला निकायले चासो नदिँदा पश्चिम पहाडको प्राविधिक शिक्षाको केन्द्र थलिँदै गएको हो । प्रदेश सरकारले संघ सरकार मातहतमा रहेको भन्दै बजेट दिन मानिरहेको छैन। भने संघीय सरकारको पनि प्राथमिकतामा नपर्नुले समस्या भइरहेको शिक्षालय प्रमुख टेकेन्द्र थापाले बताए । ‘केन्द्रमा सीटीईभीटीमार्फत र प्रदेशमा सांसदहरूमार्फत हरेक वर्ष बजेटको माग गरिरहन्छौं,’ उनले भने, ‘तर, कुनै निकायबाट उपयुक्त सम्बोधन हुन सकिरहेको छैन ।’बजेट अभावले ४० वर्ष पुरानो संरचनाकै भरमा शिक्षालय सञ्चालन भइरहेको छ । अधिकांश भवनमा पानी चुहिन्छ भने एक दर्जन छात्रावास भवन भत्किने अवस्थाका पुगेका छन् ।
जुम्लाको चन्दननाथ–३ को ६ सय ५२ रोपनी जग्गामा फैलिएको शिक्षालयमा अहिले ५८ वटा भवन छन्,। तीमध्ये अधिकांश चुहिने र भत्किने अवस्थामा पुगेका हुन् । २०४० सालमा स्थानीय जनशक्तिबाट ढुंगा र माटो प्रयोग गरेर भवन बनाइएका थिए । संघीयतापछि शिक्षालयको विकासमा संघीय र प्रदेश सरकार झन्झन् अनुदार देखिएको शिक्षालय प्रमुख थापाले बताए । सीटीईभीटीबाट तलबभत्ता र प्रशासनिक खर्चमात्र उपलब्ध हुने भएकाले पूर्वाधार व्यवस्थापनमा समस्या भइरहेको हो ।
शिक्षालयमा अहिले तीनवर्षे डिप्लोमा तहमा ६ वटा विषय र १८ महिने टेक्निकल स्कुल लिभिङ सर्टिफिकेटमा २ विषयको पढाइ हुन्छ । डिप्लोमातर्फ सिभिल इन्जिनियरिङ, फार्मेसी, फरेस्ट्री, एग्रिकल्चर विषयको पढाइ भइरहेको छ । इन्जिनियरिङतर्फ ४८ जना र अन्य विषयमा ४०÷४० जनाको कोटा छ । प्रि–डिप्लोमाअन्तर्गत जेटीए र सबओभरसियरमा ४०÷४० जना विद्यार्थी पढाइरहेको शिक्षालय प्रमुख थापाले बताए ।
चिकित्सा शिक्षा आयोगले १ सय बेडको अस्पताल भएपछि मात्र पढाउन मिल्ने प्रावधान ल्याएपछि दुई वर्षयता अनमी र सीएमए विषयको पढाइ रोकिएको छ । यो वर्ष शिक्षालयमा साढे ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । जीर्ण छात्रावासमा २ सय ५० जना विद्यार्थी कोचिएर बस्न बाध्य छन् । ‘कुनै पनि बेला भवन भत्किएको खण्डमा विद्यार्थीको ज्यानकै जोखिम छ,’ शिक्षालय प्रमुख थापाले भने, ‘राज्यले जीर्ण संरचनाको स्तर वृद्धिमा ध्यान नदिने हो भने दुर्घटनापछि हेलिकोप्टर लिएर उद्धार गर्न आउनुको औचित्य रहने छैन ।
झशिक्षालयमा प्रशिक्षक र कर्मचारी गरी ५७ जनाको दरबन्दी छ । कर्मचारीतर्फ ३० जना कार्यरत छन् भने प्रशिक्षकतर्फ २७ जना आवश्यक भएकामा शिक्षालय प्रमुखसहित २० जनामात्र कार्यरत छन् । १० वर्षदेखि सीटीईभीटीमा जनशक्ति माग गरिरहे पनि पदपूर्ति गरिएको छैन । जेनतेन शिक्षण कार्य चलिरहेको छ । डिप्लोमा तहमा फार्मेसी तेस्रो वर्षमा अध्ययनरत कमलबहादुर मल्लले शिक्षालयमा आर्थिक संकट भएको असर विद्यार्थीले पनि भोगिरहेको बताए । उनी शिक्षालय बाहिर कोठा लिएर बस्छन् । ‘चुहिने अवस्थामा रहेका पुराना भवनहरूले काम चलिरहेको छ ।
भिरालो जमिनमा यस्ता जीर्ण भवन भए उहिल्यै भत्किएर काम नलाग्ने भइसक्थे होला,’ उनले भने, ‘जीर्ण कक्षाकोठा र उपयुक्त ल्याब नहुँदा पर्याप्त मात्रामा प्राक्टिकल गर्न पाइएको छैन ।’शिक्षालयमा प्रयोगशालाहरूको अवस्था पनि नाजुक छ । इन्जिनियरिङ विषयको प्रयोगशाला कामचलाउ खालको छ । ‘फार्मेसी, एग्रिकल्चर र फरेस्ट्रीको ल्याब बल्लतल्ल सेटअप गरेका छौं,’ शिक्षालय प्रमुख थापाले भने, ‘इन्जिनियरिङको ल्याबको एउटै मेसिनको करोड रुपैयाँ पर्ने हुँदा व्यवस्थापन गर्न सकेका छैनौं ।
ल्याब व्यवस्थित बनाउन स्रोत जुटाउने प्रयास भइरहेको छ ।’गत आर्थिक वर्षमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट मर्मतका लागि प्राप्त ५० लाख रुपैयाँबाट ६ वटा भवनका जस्तापाता फेर्ने, जीर्ण बनेका पर्खालमा चुना लगाउने, शौचालय र स्नानगृह मर्मतको काम गरिएको थियो । चालु आर्थिक वर्षमा पनि ५० लाख रकम मर्मतका लागि विनियोजन भएको प्रमुख थापाले बताए । यो बजेट पनि छाना र शौचालय मर्मतमै प्रयोग गर्नुपर्ने अवस्था छ । गत वैशाख ११ गते सुर्खेतमा प्रदेश मन्त्री र सांसदहरूबीच सम्पन्न कार्यशाला गोष्ठीमा शिक्षालय मर्मत सम्भारका लागि कम्तीमा १ करोड रुपैयाँ माग गरिएको थियो ।
उपस्थित सबैले शिक्षालय मर्मतमा चासो देखाउँदै सकारात्मक बने पनि ५० लाख रुपैयाँमात्रै छुट्याइएको छ ।प्रमुख थापाका अनुसार शिक्षालयबाट चालु शैक्षिक सत्रसम्म आइपुग्दा करिब ७ हजार दक्ष जनशक्ति उत्पादन भइसकेका छन् । ‘शिक्षालयबाट उत्पादित दक्ष जनशक्ति राज्यका विभिन्न उच्च ओहदामा मात्र पुगेका छैनन्, सांसद र मन्त्रीसमेत भएका छन्,’ उनले भने, ‘तर, शिक्षालयको अवस्थाबारे कसैलाई वास्ता छैन ।’ यहींबाट इन्जिनियरतर्फको सबओभरसियर पढेका कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले शिक्षालयमा संघ, प्रदेश र स्थानीय तह मिलेर लगानी गर्नुपर्ने बताए । ‘यो शिक्षालय जुम्लाको शैक्षिक पर्यटकीय गन्तव्यसमेत हो,’ उनले भने, ‘जुम्ला आएका सबै पर्यटक यहाँ नपुगी फर्कंदैनन्, त्यसैले कर्णालीको इतिहास बोकेको शैक्षिक संस्थाको उन्नतिका लागि सबैको चासो हुन जरुरी छ ।’
स्थापना कालमा साबिक कर्णाली अञ्चलका ५ जिल्लाका साथै जाजरकोट, दैलेख, सुर्खेत, सुदूरपश्चिमको बझाङ र बाजुराका विद्यार्थी यहाँ अध्ययनका लागि आउँथे । बीचमा बझाङ र बाजुरा हटाएर सात जिल्ला कायम गरिएको थियो, अहिले कर्णाली प्रदेशका १० जिल्लामा कार्यक्षेत्र छ ।
शिक्षालयको इतिहास
युनाइटेड मिसन टु नेपाल (यूएमएन) मार्फत २०३७ सालमा कर्णाली शिक्षालयको स्थापना भएको हो । २०३४ मा झन्डै आधा दर्जन विदेशी पर्यटक नेपालगन्ज हुँदै जहाजमा जुम्ला झरेका थिए । यूएमएनमा आबद्ध उनीहरूले त्यहाँबाट राराताल जाने क्रममा बिहानको खाजा खलंगास्थित घुँघुतीगाउँमा खाए । खाजा खाएको केही समयमै उनीहरूलाई पखाला लाग्यो । औषधि खोजी गर्दा कतै पाइएन ।
त्यहाँबाट सदरमुकाम खलंगा पुग्न कम्तीमा एक घण्टा लाग्थ्यो । अन्य उपचारको सम्भावना नभएपछि उनीहरू गाउँमै घरेलु उपचार गराएर रारा गए । तिनै विदेशीको अवधारणामा कर्णाली प्राविधिक शिक्षालय स्थापना भएको चन्दननाथ नगरपालिका–२ का कर्णबहादुर भण्डारीले बताए । भण्डारी ०३९ देखि ०५९ सालसम्म शिक्षालयमा स्टोर शाखा प्रमुखका रूपमा कार्यरत थिए।
जुम्लाको खलंगादेखि रारा उक्लिँदा घुँघुतीगाउँ हुँदै हिँड्नुपर्थ्यो । अहिले पनि जुम्लाबाट पैदल रारा जानेहरू यही बाटो भएर हिँड्छन् । यहाँबाट रारा पुग्न पर्यटकलाई दुई दिनसम्म लाग्छ । दुर्गमको स्वास्थ्य समस्या निराकरण गर्न प्राविधिक धारको शिक्षालय यहाँ खोल्नुपर्ने देखेर रारा घुमेर फर्किसकेपछि यूएमएनको टोलीले काठमाडौं फर्किएपछि शिक्षालयका लागि दाता खोजी गरेको थियो । त्यसपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् स्थापना भएको हो ।
‘यहाँ आएका पर्यटककै पहलमा स्वास्थ्यकर्मी, पशु प्राविधिक र अन्य दक्ष जनशक्ति उत्पादन गर्न शिक्षालय स्थापना गरिएको हो,’ पूर्वस्टोर शाखा प्रमुख भण्डारीले भने, ‘अहिले शिक्षालयबाट उत्पादन भएका कुनै पनि जनशक्ति बेरोजगार बस्नुपरेको छैन ।’शिक्षालय स्थापनाकालमा कृषि, पशु र स्वास्थ्य विषयको पठनपाठन सुरु गरेको शिक्षालयले कर्णालीमा आवश्यक सबैखाले प्राविधिक जनशक्ति उत्पादनमा जोड दिँदै आएको छ । ‘कुनै बेला कर्णालीलाई चाहिने दक्ष जनशक्ति यहीँका उत्पादन हुन्,’ भण्डारीले भने, ‘यहाँ पढेका झन्डै ६० प्रतिशत विद्यार्थी अहिले पनि कर्णालीमै कार्यरत छन् भने करिब ४० प्रतिशत कर्णालीबाहिर जागिर गरिरहेका छन् ।’शिक्षालय स्थापनाको तीन वर्षपछि स्थायी संरचना निर्माणको काम सुरु गरिएको थिए । भवनको बाहिरी भाग सजावटका लागि पातारासीको लुम र लोर्पा गाउँबाट चुना ल्याइएको थियो ।
त्यस्तै पातारासीको बढेखोली र कनकासुन्दरीको छालाचौरदेखि काठ तथा चन्दननाथको भदालीबाट सिलौट ल्याएर भवनका छाना छाइएको हो । ‘त्यसबेला फरक–फरक ठाउँबाट ल्याएका सामग्रीको एकीकृत सम्मिश्रणबाट बनेका यहाँका घर निकै आकर्षक थिए,’ स्थानीय कविराम भण्डारीले भने, ‘भवनको डिजाइन गर्न चार जना यूएमएनका इन्जिनियर खटिएका थिए ।
उनीहरूले सिकाएका आधारमा डाँडाकोट, उमखोला, गर्ज्याङकोट, उखाडी र खल्लाबाडा गाउँका झन्डै १५ सय कामदारले एक वर्षसम्म रोजगारी पाए ।’ उनका अनुसार ०४८ सम्म शिक्षालयमा ५८ वटा भवन निर्माण भएका थिए । त्यसबेला शिक्षालय निर्माण गर्ने क्रममा निर्माण सामग्री संयुक्त राष्ट्रसंघ परियोजना (यूएनडीपी) को जहाजबाट ओसारिएको थियो ।०५७ कात्तिक २७ गते माओवादीले जुम्ला सदरमुकाम खलंगा आक्रमण गरेपछि शिक्षालयको प्रगति पथमा ठेस लागेको स्थानीय रामबहादुर परियारले सुनाए ।
‘त्यतिबेला शिक्षालयमा आक्रमण त भएन तर केही समयपछि यूएमएनका कर्मचारीलाई विभिन्न धम्की दिन थालेपछि संस्थाले जुम्ला नैछाड्यो,’ उनले भने, ‘संस्था नै नभएपछि पूर्वाधार निर्माण र शैक्षिक विकासमा ठूलो असर परेको हो, जसका कारण शिक्षालय अहिलेको अवस्थामा आइपुग्यो ।’ उनका अनुसार यूएमएनले शिक्षकको क्षमता विकासका लागि उनीहरूलाई विदेश पठाउँथ्यो । कर्मचारीको दैनिक कामकाजको निगरानी गर्थ्यो भने पूर्वाधार निर्माणका लागि बजेट व्यवस्था गर्थ्यो । जुम्लाका घरघरमा शौचालय बनाउने अभियान पनि संस्थाले नै सञ्चालन गरेको थियो । जसका लागि संस्थाले विभिन्न गाउँमा ४२ जना स्वयंसेवक खटाएको थियो।
स्थानीय र विद्यार्थी असन्तुष्ट
शिक्षालय व्यवस्थापनमा सरोकारवाला निकायले चासो नदेखाएको भन्दै स्थानीय र विद्यार्थी आक्रोशित छन् । नागरिक समाजका अध्यक्ष राजबहादुर महतले पुरानो शिक्षालयका रूपमा रहेको कर्णाली प्राविधिक शिक्षालयलाई उपेक्षा गरिएको बताए । ‘दुर्गमको दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने कारखाना हो यो तर सरकारी उपेक्षाले जीर्ण बनिरहेको छ,’ उनले भने, ‘अब स्थानीय, प्रदेश र संघीय सरकारले प्राथमिकतामा पार्न ढिला गर्नु हुँदैन ।’शिक्षालयमा व्यवस्थित तारबार नहुँदा विद्यार्थी निगरानी गर्न कठिन छ भने चौपाया विद्यालय परिसरमा पस्ने क्रम बढिरहेको छ ।
‘भरपर्दो तारबार नहुँदा विद्यार्थीले बेलाबेला कक्षा छाडेरै चौपाया धपाउन खटिनुपरेको छ,’ फरेस्ट्रीतर्फ अध्ययनरत सुनिता बमले भनिन्, ‘शिक्षालय जस्तो पवित्रस्थलमा बजेट नआउनु भनेको दुःखको विषय हो ।’कर्णाली प्राविधिकजस्ता अहिले देशभर ६५ वटा शिक्षालय छन् । ०५४ सालमा १४ वटा थिए । ती शिक्षालयका लागि ९ सय ३२ कर्मचारीको दरबन्दी थियो । अहिले दरबन्दी बढेको छैन ।
प्राविधक शिक्षालयको विस्तार गर्ने भन्दै नेता र मन्त्रीको जोडबलमा सरकारले धमाधम शिक्षालय खोलिरहेको हो । तर, ती सबैजसोमा पर्याप्त जनशक्तिको भने अभाव छ । कर्णाली प्राविधिक शिक्षालय पुरानो र महत्त्वपूर्ण भए पनि बजेट अभावमा छटपटाइरहेको सीटीईभीटीका सूचना अधिकारी एकराज अधिकारीले बताए । ‘जीर्ण भवन मर्मत सम्भारदेखि नयाँ निर्माणका लागि प्रस्तावहरू सरकारसमक्ष राखिन्छ तर निकै कम बजेट आउने गर्छ,’ उनले भने, ‘यसकारण शिक्षालयको माग सम्बोधन गर्न कठिन छ ।’ कर्णालीका स्वास्थ्य संस्था जनशक्ति अभावमा समस्यामा पर्दा त्यसको माग कर्णाली प्राविधिक शिक्षालयले धानेको नागरिक अगुवा रामप्रसाद न्यौपानेले बताए । ‘पशु प्राविधिक र सव–इन्जिनियरको कर्णालीभरिको माग पनि शिक्षालयले नै धानेको हो,’ उनले भने, ‘हेर्न लायक यहाँका आकर्षक संरचना थोत्रिएका छन्, स्थानीय ढुंगाबाट बनेका सिलौट छानामा जस्तापाताले टालिएको छ ।’






