रकम वितरणमा एक महिना लाग्ने भन्दै बैकले सुचना गरेपछि भूकम्पपिडित आक्रोशित

अस्थायी आवासको रकम भुक्तानी सम्बन्धमा शिवालय गाँउपालिकामा रहेको एक मात्र हिमालयन बैक लिमिटेडले आइतवार एक सार्वजनिक सुचना प्रकाशित गरेको थियो । उक्त सुचना अनुसार भूकम्प पिडितको अस्थायी आवासको पहिलो किस्ता रकम भुक्तानी लिन अझै करीब एक महिना कुर्नु पर्ने थियो ।

सरकारले भूकम्प पिडितलाई अस्थायी आवासका लागि दिने भनेर पालिकाको खातामा पठाएको रकम पाएपछि अस्थायी घर बनाउँला भनेर कुरेर बसेका पिडित परिवारहरु बैकको ढिलासुस्तीले हैरान भएका छन् ।
सहज तरीकाले अनुदान रकम वितरण गरेर छिटोभन्दा छिटो अस्थायी आवासमा सार्ने सरकारी योजना बैकहरुको ढिलासुस्तीले गर्दा अलपत्र परेको छ । रकम वितरणमा एक महिना लाग्ने भन्दै बैकले सार्वजनिक सुचना गरेपछि स्थानिय लाभग्राही आक्रोशित भएका छन् ।
यस अघि सामाजिक सुरक्षा खाता अन्य प्रयोजनमा प्रयोग गर्न नमानेका कारण धेरै लाभग्राही भूकम्प पिडितले अस्थायी आवासकै अनुदान लिनका लागि पुनः खाता खोल्न बाध्य भएका थिए । केही समय पहिले खाता खोल्न पनि ठुलो समस्या भोगेका स्थानियले खाता खोलेर पालिकाले बैक खातामा पहिलो किस्ताको रकम पठाईसक्दा पनि अझै एक महिना कुर्न पर्ने भएको छ ।
बैक खातामा रकम जम्मा भैसक्दा पनि पिडित परिवारले रकम निकाल्न नपाएको शिवालय गाँउपालिका ७ कि पुष्पा बुढाले बताईन । ‘रकम आएर खातामा जम्मा भएको छ तर बैकले पैसा नै दिदैन । अहिले सम्म चेक पनि दिएको छैन’, उनले भनिन ‘रकम कहिले दिने हो केही टुंगो छैन । रकम नपाउँदा कसरी घर बनाउँनु ?’ समयमा रकम दिन नसक्ने बैकको के काम उनले भनिन ।
बैकको सुचनामा माघ ५ गते सम्म वडा नम्बर २, माघ ९ गते सम्म वडा नम्बर ६, माघ १२ गते सम्म वडा नम्बर ९, माघ १५ गते सम्म वडा नम्बर ७, माघ १८ गते सम्म वडा नम्बर ५, माघ २२ गते सम्म वडा नम्बर ४, माघ २५ गते सम्म वडा नम्बर १ र माघ २९ गते सम्म वडा नम्बर ३ का लाभग्राहीलाई रकम वितरण गर्ने उल्लेख गरिएको छ ।
माघ २९ गते सम्म रकम वितरणमै समय लागेपछि कहिले बन्ने हुन ? किन यति ढिलाई भैरहेको छ ? सम्बन्धित निकायलय यस सम्बन्धमा चासो दिनुपदैन शिवालय गाँउपालिका ८ कि दीपा बुढाले भनिन,‘किन यति ढिलासुस्ती र लापरवाही ? हामीले समयमा रकम पाउन पदैन ।’ तीन हजार तीन सय ९ लाभग्राही मध्य तीन हजार एक सय ४७ लाभग्राहीको खातामा रकम गईसकेको छ तर अहिले सम्म कसैले रकम पाउन सकेका छैनन् ।
यस्ता वायत सूचना सच्याउनु पर्छ हिमालयन बैंकले । जनतालाई सेवा छिटो चाहिएको छ । ५ दिनमा रकम वितरण हुनु पर्छ । एक महिना लामो कार्यतालिकाले समस्या सल्टिने होइन बल्झिने पक्का छ गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर बस्नेतले भने अनेक बाहानामा जनतालाई दुःख दिन पाईदैन ।
बैकका प्रवन्धक सन्दीप हमालले बैकको प्राविधिक समस्या र आवश्यक प्रक्रिया मिलाउन समय लागेका कारण रकम वितरणमा ढिलाई भएको स्वीकार गरे । करीब एक हजार लाभग्राहीले नयाँ खाता खोलेका छन् । खाता खोल्नका लागि सवै डकुमेन्ट स्क्यान गरेर केन्द्रमा पठाउनु पर्छ । केन्द्रबाट स्वीकृती भएपछि मात्र खाता कायम हुन्छ । डकुमेन्ट पठाउन नेट स्लो छ । नयाँ खातावाललाई बैकले अहिले सम्म खातावालालाई चेक समेत दिन बाँकी । हस्ताक्षर कार्ड अपलोड गर्न सकेका छैनौं कर्मचारी स्टाफ ४ जना मात्र छौ प्रबन्धक हमालले भने ‘राती ८ बजे सम्म पनि काम गरिरहेका छौ । वडाले गर्ने काम पनि गरिदियौ । तर पनि समयमा रकम दिन सकिरहेका छैनौं । हाम्रा पनि प्राविधिक समस्या छन् ।’
बैककै यस्तै ढिलासुस्ती र स्थानिय सरकारको ढिलासुस्तीले जाजरकोटमा अहिले सम्म २२ हजार ४ सय ६१ परिवारले मात्र पहिलो किस्ताको रकम खातामा जम्मा भएको छ । ३५ हजार १ सय ४० लाभग्राही मध्य २७ हजार ४ सय ५५ परिवार सँग अस्थायी आवासका लागि पालिकाले सम्झौता गरिसकेका छन् ।
अहिले सम्म ९ हजार ६ सय ३८ अस्थायी घर बनेका छन् । १० हजार बन्ने क्रममा छन् भने १५ हजार परिवारले रकम नपाउँदा अस्थायी आवास बनाउने सुरसार समेत गरेका छैनन् । त्रिपालको चिसोले पिडितहरुलाई सताईरहेको छ ।






