कर्णालीबाट चितुवा तस्करी धेरै, १५ जिल्लाका तस्करको संलग्नता


गत वर्ष चितुवाको छाला तस्करी गरेको आरोपमा डिभिजन वन कार्यालय, सुर्खेतले ६ जना विरुद्द मुद्दा दायर ग¥यो । सुर्खेतका चार जना र दैलेखका दुई जना विरुद्द कार्यालयले २०७९ जेठ २६ गते अदालतमा मुद्दा दायर गरेको थियो ।
मंसिर २९ गते फैसला गर्दै अदालतले चितुवाको छाला तस्कर गरेको आरोपमा उनीहरु सबैलाई जरिवाना सहितको सजाय गरेको थियो ।
२०७९ मंसिर २९ गते नै डिभिजन वन कार्यालय, भेरीले पाँच जना विरुद्द चितुवाको छाला नै तस्कर गरेको आरोपमा अदालतमा मुद्दा दायर गरेको थियो । दुईवटा फरक फरक मुद्दामा दैलेखका एक जनालाई प्रतिवादी बनाउदै कार्यालयले मुद्दा दायर गरेको थियो । दोस्रो मुद्दामा भने अछामका तीन जना र दैलेखका एक जना गरी चार जनालाई प्रतिवादी बनाइएको थियो । हाल यो मुद्दा फैसला हुन बाँकी नै छ ।
कर्णालीमा वन्यजन्तु चोरी सिकारीतर्फ १५ जिल्लाका तस्करहरु संलग्न छन् । कर्णालीका १० जिल्ला सहित छिमेकी प्रदेश लुम्बिनी र सुदुरपश्चिमबाट समेत तस्करहरु यहाँ वन्यजन्तुको चोरी सिकारीका लागि आई पुग्छन् ।
वन्यजन्तु सम्बन्धि अदालतमा परेका मुद्दाहरुमा खासगरी १२ प्रजातीका वन्यजन्तु सम्बन्धि मुद्दाहरु समावेश छन् । जसमध्य चितुवा सम्बन्धि मुद्दाहरुको संख्या धेरै नै छ । संख्यात्मक आधारमा हेर्दा चितुवा पछि पाटेबाघ, निर बिरालो, डाँफे र कालिज चोरी सिकारी सम्बन्धिका मुद्दाहरु अदालतमा परेका छन् ।
कर्णालीको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्यांक अनुसार विगत १२ वर्षको अवधिमा हालको कर्णाली प्रदेश क्षेत्रमा कुल एक सय १७ जना तस्करहरुलाई वन्यजन्तु सम्बन्धिका मुद्दाहरुमा अदालतमा उपस्थित गराइएको छ ।
मन्त्रालयले गरेको एक अध्ययन अनुसार वन्यजन्तु मुद्दामा संलग्न तस्करहरुको वर्गिकरण गर्दा सल्यान जिल्लाका सबैभन्दा धेरै सल्यानमा ३३ जना आरोपितहरु पक्राउ परेका छन् । त्यसैगरी जाजरकोटका १७ जना, कालिकोटका १० जना, मुगु र सुर्खेतमा आठ/आठ जना तस्करहरु पक्राउ परेको मन्त्रालयका सूचना अधिकार निरज श्रेष्ठले जानकारी दिए । मन्त्रालयद्वारा प्रकाशित ‘कर्णालीका अवैध रुपमा तस्करी हुने वन्यजन्तुको जानकारी पुस्तिका’ अनुसार दैलेखमा सात जना, बाँकेमा तीन जना अछाम र रुकुम पश्चिमका दुई–दुई जनालाई वन्यजन्तु ओसारपसार मुद्दामा पक्राउ गरिएको थियो । डोल्पा, दाङ्ग, बाजुरा, रुकुम पूर्व र हुम्लाका एक–एक जना लगायतका तस्कर पक्राउ परेका थिए ।
कर्णाली प्रदेशको हालसम्म ४५ प्रकृतिका मुद्दामा एक सय १७ जना तस्कर संलग्न रहेका थिए । यि मुद्दाहरुमा सल्यानको डिभिजन वन कार्यालयमा सबैभन्दा धेरै दर्ता भएका छन् । त्यसैगरी तस्करहरुको संख्यात्मक आधारमा जाजरकोटको डिभिजन वन कार्यालयमा सबैभन्दा धेरै तस्करहरु विरुद्ध मुद्दा अघि बढाइएको थियो ।
कहाँ कति मुद्दा ?
वन डिभिजन कार्यालयहरुको क्षेत्र अनुसार कार्यालयले ४५ वटा मुद्दा अदालतमा पुर्याएका छन् । हुम्लाको डिभिजन कार्यालयले हालसम्म एउटा मुद्दा अदालतमा दर्ता गरेको छ ।
चरी बाघ सम्बन्धिको यो मुद्दा कार्यालयले २०७८ चैत्र १० गते अदालतमा दर्ता गरेको थियो । मुद्दा दर्ताको करिव एक वर्षपछि फैसला गर्दै अदालतले दोषिलाई एक लाख रुपैयाँ जरिवाना गरेको थियो ।
डोल्पाको कार्यालयले भने कस्तुरीको बिना सम्बन्धि एउटा मुद्दा दर्ता भएको छ । दैलेखमा चितुवाको आखेटोपहार, चितुवाको छाला, जंगली बँदेल मारेको र रेड पाण्डाको छाला ओसारपसारमा मुद्दा अघि बढाएको छ ।
मुगुमा भालुको पित्त तस्कर लगायतका ७ वटा मुद्दा, जुम्लामा कस्तुरीको बिना सम्बन्धिको एउटा मुद्दा, कालिकोटमा घोरलको आखेटोपहारलगायतका तीन वटा मुद्दा र रुकुम पश्चिममा रतुवा मृग तस्कर सहितको पाँच वटा मुद्दा दर्ता भएका छन् ।
सल्यानमा चितुवाको छाला सहितका ६ वटा मुद्दा, जाजरकोटमा निर बिरालो सहितका नौं वटा मुद्दा, डिभिजन कार्यालय भेरीमा चितुवाको छाला सहितका दुई वटा मुद्दा वन कार्यालयहरुले अदालतमा दर्ता गरेका छन् ।
डिभिजन वन कार्यालय सुर्खेतले कालो भालुको छाला र हड्डी सहितका ६ वटा मुद्दा दर्ता भएका छन् ।
तस्करीमा परेका वन्यजन्तुहरु
कर्णालीबाट तस्करी गर्न थालिएका वन्यजन्तुहरुमा छालाको लागि अवैध तस्कर हुने हाब्रे (रेड पाण्डा) सहित २०७५ यता पाँच वटा मुद्दा अदालतमा दर्ता भएका थिए । २०७१ यता कस्तुरी मृगको बीना तस्करी सम्बन्धिको चार वटा मुद्दा दर्ता भएका छन् ।
हिउँ चितुवा तर्फ यसको छाला, हड्डी र बोसोहरु तस्करी हुने गर्छ । त्यसैगरी २०६६ यता चितुवाको छाला तथा हड्डी तस्करीमा ११ वटा मुद्दा दायर भएका छन् ।
कालो भालुको पित्त, हड्डी र छाला तस्करी तर्फ तीनवटा मुद्दा दर्ता भएको देखिन्छ । चरी बाघको छाला तस्करी सम्बन्धि मुद्दा संख्या एक रहेको छ । घोरलको मासु, हड्डी र सिङको तस्करी तर्फ सात वटा मुद्दा दर्ता भएका छन् ।
रतुवा तस्करीमा तीन वटा र डाँफे तस्करीमा एक वटा मुद्दा अदालतमा दर्ता भएको मन्त्रालयले जनाएको छ ।





