दशैं लक्षित गरेर गाउँका बाटो सुधार्दै अध्यक्ष बुढा


जुम्लाको गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा बाटो बनाउन डोजर लिएर गाउँमा पुगेका छन् । वर्षाले भत्काएका र खाल्डाखुल्डी बनेका सडक मर्मत गर्न उनी आफै गाउँमा पुगेका हुन् ।
पहिरोका कारण अधिकांश बाटाहरु सडकले बन्द भएका थिए । भएका बाटाहरु समेत खाल्डाखुल्डीका कारण सवारीसाधन आवागमन गर्न कठिन थियो । कार्यपालिका बैठकमा निर्णय गरेर गाउँका बाटाहरु खोल्न उनी आफै डोजर र ट्याक्टर लिएर पुगेको गाउँपालिकाले जनाएको छ ।
पालिका अध्यक्ष आफै गाउँमा पुगेर सडक मर्मत गर्दा स्थानीय समेत खुशी भएका छन् । गुठिचौर–२, कोल्ते गाउँका मुनबहादुर ऐडी डोजर ल्याएर गाउँका बाटाहरु बनाइरहेको भन्दै अध्यक्ष दानबहादुरले प्रशंसकीय कार्य गरेको बताए ।
उनले भने, ‘जनप्रतिनिधिहरु जितेर गएपछि गाउँ नफर्केका कैयन उदाहरणहरु छन् । तर गुठिचौरका अध्यक्ष डोजर लिएर गाउँमा घरदैलो गरिरहेका छन् । यो राम्रा जनप्रतिनिधिको छनक हो ।’
वर्षाले गाउँको सडक छिन्नभिन्न थियो । सवारीसाधन ल्याउन समेत निकै कठिन थियो । गाउँमा बिरामीका लागि सहज रुपमा एम्बुलेन्स जान सक्दैनथ्यो तर अध्यक्ष आफै पुगेर सडक मर्मत गरेपछि अहिले सहजै रुपमा सवारी सञ्चालन हुन थालेका छन् ।
नागरिकलाई सुरक्षित बनाउन सडकहरु मर्मत गर्न लागिएको अध्यक्ष बुढाले जानकारी गराए । सुरक्षित पालिकाका लागि पहिलो चरणमा मदिरा नियन्त्रण अभियान थालिएको थियो । कार्यविधि बनाएर मदिरा सेवनकार्डको व्यवस्थापन गरिएको छ । दोस्रो चरणमा बाटाहरु मर्मत भएर गाडीहरु गाउमा पुर्याउन थालिएको हो । गाउँपालिकामा २३ गाउँहरु छन् ।
अहिले गुठिचौर ४ देखि सुरु भएको अभियान १५ वटा गाउँभन्दा बढि गाउँहरुमा पुगेको छ । अध्यक्ष बुढा गाउँका बाटाहरु फराकिलो बनाइरहेको र खाल्डाखु्ल्डी पुरिरहेको अवस्था भेटिन्छन् । गाउँमा किसानहरु काममा व्यस्त भइरहेको बेला उनी सडक खनिरहेका हुन्छन् । दसैं अगावै हरेक गाउँमा सवारी पु¥याउने लक्ष्य रहेको पालिकाले जनाएको छ ।

यहाँका अधिकांस मानिसहरु जिल्ला बाहिर बस्छन् । उनीहरु गाडी, मोटरसाइकल मार्फत गाउँमा आउने गर्छन् । यो पटक दसैंमा हरेक गाउँहरुमा गाडीघोडाहरु पुग्नेछन् । गुठिचौरमा पाँच वटा वडाहरु छन् ।
अध्यक्षले गाउँमा सुरक्षित गुठिचौर अभियानका बारेमा छलफल चलाउने, पालिकाको काममा जनताको सहयोगको लागि आग्रह गर्ने र जनता र जनप्रतिनिधि बिचको सुमधुर सम्बन्ध स्थापित गर्न पहल गरिरहेका छन् ।






