चार वर्षपछि सार्वजनिक भईन् तिलागुफाकी तत्कालीन उप–प्रमुख

सुर्खेत ।
कालीकोटको तिलागुफा नगरपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उप–प्रमुख पदमा निर्वाचित दन्ता नेपाली चार वर्षपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष सार्वजनिक भएकी छन् । २०७६ कात्तिकमा एक कार्यक्रमका लागि अमेरिका पुगेकी नेपाली त्यसपछि सम्पर्कविहीन थिइन् ।
दन्ता नेपालीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको तस्बिर सार्वजनिक गरेकी हुन् ।

उप–प्रमुख नेपाली सम्पर्कमा नआएपछि सञ्चार माध्यमले अमेरिकामै लुकेर बसेको समाचार सम्प्रेषण गरेका थिए । समाचार प्रकाशित भएपछि तत्कालीन उपमेयर नेपालीले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएकी थिइन् ।
उनले आफू बिरामी भएका कारण नेपाल फर्किन नसकेको र उपचारका लागि अझै पाँच महिना बस्नुपर्ने बताएकी थिइन्, चार वर्षअघि नै । तर, अहिलेसम्म उनी नेपाल फर्किएकी छैनन् ।
‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई अमेरिकामा हार्दिक स्वागत छ । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गर्नुभएको छ’, उनले लेखेकी छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू तथा भ्रमण दलका सबै सदस्यहरूलाई भ्रमण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं । अमेरिकामा हार्दिक स्वागत । अमेरिकाको बसाइ सुखद रहोस्, हार्दिक शुभकामना !’
उप–प्रमुख जस्तो सार्वजनिक पदधारण गरेकी दन्ता एकाएक अमेरिकामा पुगेर गायब भएपछि उनको पार्टी नेकपा माओवादीले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।






