सम्पादकीयः प्रदेश अस्पतालमा सुत्केरी मृत्यु घटना छानविन हुनुपर्छ !
वीरेन्द्रनगर स्थित प्रदेश अस्पतालमा शनिवार सुत्केरीको मृत्यु भयो । उपचारका क्रममा नै सुत्केरीको मृत्यु हुनुलाई चिकित्सकीय रुपमा सामान्य मानिएला तर स्वास्थ्यमा सुधार हुदै गरेको अवस्था जनाइएको समयमा सुत्केरीको मृत्यु हुनु भने सामान्य होइन । यस घटनाले प्रदेश अस्पतालमा सेवा प्रवाहको आन्तरिक अवस्थालाई उजागर गरेको छ ।
मृतकका आफन्तले दिएको घटना विवरणका अनुसार सुत्केरीलाई ‘वार्ड’मा राखि सकिएको थियो । वार्ड भनेको उपचारपछि अस्पतालबाट घर फर्कनु अघि स्वास्थ्य सुधार अवस्थाका वारेमा सामान्य चेकजाँच भईरहने वार्ड हो । यहाँ रहेका विरामीलाई स्वास्थ्य जटिलतामा समय समयमा निगरानीमा राखिएको हुन्छ । अस्पतालको ‘पोष्ट अप वार्ड’बाट जनरल वार्डमा विरामी पुग्दा जनशक्तिहरु पनि सोहि अनुसार खटाइएका हुन्छन् । जनरल वार्डमा दर्जनौँ विरामीका लागि दुई–तीन जना स्वास्थ्यकर्मी खटिएका हुन्छन् । मृतक सुत्केरी महिलाको शल्यक्रिया (सिएस) मार्फत शिशुलाई निकालिएको थियो । दैनिक शल्यक्रियामा सहभागि भएका चिकित्सकहरुका यो सामान्य विषय हो । तर शल्यक्रिया मार्फतको उपचार पद्दतीबाट गुज्रनु विरामीका लागि निकै पीडादायी हुन्छ । यसले उनीहरुलाई आगामी समयमा समेत स्वास्थ्य समस्या दिन सक्ने जोखिम रहिरहन्छ । अस्पतालमा मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–४ बस्दै आएकी ३० वर्षीय जानकी रेग्मी (अधिकारी) रहेकी छन् । अनका आफन्तका अनुसार जानकीलाई २९ गते अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना पश्चात् उनले शुक्रबारनै शिशुलाई जन्म दिएकी थिइन् । त्यसपछि अस्पतालले उनलाई जनरल वार्डमा राख्यो । त्यो समयसम्म उनको अवस्था सामान्य थियो । नवजात शिशुलाई उनले दुध समेत खुवाइन् । केहि समयपछि उनी एक्कासी वेहोस् भइन् । अस्पतालले उनलाई आइसियुमा राख्यो । उनको थप उपचार समेत शुरु गरिएको थियो । आईसियुमा रहेकी जानकीका लागि चिकित्सकहरुले औषधी मगाईरहेका थिए । तर सुत्केरी भएको २४ घण्टा समय पश्चात उनलाई मृत घोषणा गरियो ।
कर्णालीकै प्रतिष्ठा बोकेको प्रदेश अस्पताल अहिले प्रतिष्ठानका रुपमा विकास गर्ने तयारीमा छ । यहाँबाटै स्वास्थ्यकर्मी उत्पादन गर्ने सपना बोकेको अस्पतालमा सुत्केरीको मृत्यु हुनु अहिले सामान्य विषय भने होइन । उपचारका लागि अस्पताल पुग्ने विरामी र उनका आफन्त सधै निको हुने आशामा गएका हुन्छन् । कर्णालीसहित सुदुरपश्चिमका केहि जिल्लाबाट समेत हेलिकप्टर मार्फत सुत्केरीको उद्दार गरिने प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु घटनालाई यत्तिकै नजरअन्दाज गर्न मिल्दैन । शल्यक्रिया गर्दा गर्दैको समयमा सुत्केरीको मृत्यु भएपनि उनका आफन्तहरु यसलाई उपचारको प्रयास गर्दैगर्दा पनि असफलको उदाहरण दिन सक्थे । तर आमालाई शिशुसँग भेट गराईसकेपछि महिलाको स्वास्थ्यमा समस्या उत्पन्न हुनु चिकित्सकिय लापरवाहीको शंकामा पनि हेर्न सकिन्छ । महिलाको स्वास्थ्यमा समस्या भए पहिलेनै आईसियुमा राखेको हुनुपथ्र्यो । तर वार्डमा राखिसकेपछि ज्यानै जानेगरी स्वास्थ्य समस्या उत्पन्न हुनुलाई सुत्केरी महिलामा हुनसक्ने स्वास्थ्य जोखिमका विषयमा चिकित्सक संवेदनशिल नभएको देखिन्छ । अस्पताल प्रशासनले समेत हालसम्म घटनाका विषयमा आफ्नो कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । कर्णालीको प्रदेश सभा अन्र्तगत रहेको सामाजिक विकास समिति लगायतका सरोकारवाला निकायहरुले प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु घटनामा विषयमा छानविन गर्नुपर्छ । र, मृतकका आफन्तलाई घटनाका वारेमा जानकारी दिने तथा घटनामा कोहि दोषि ठहर भएका कानूनी कारवाहि अघि बढाउनुपर्छ ।






