कोपिला भ्यालीलाई ‘समाज कल्याण शिक्षा पुरस्कार’

सुर्खेत ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वीरेन्द्रनगर स्थित कोपिला भ्याली सेवा समाजलाई पुरस्कृत गर्ने भएको छ । शिक्षा दिवस, २०८० का अवसरमा मन्त्रालयले कोपिला भ्यालीलाई तीन लाख रुपैयाँ नगद राशीको समाज कल्याण शिक्षा पुरस्कार सहित सम्मान गर्ने भएको हो ।
सडक बालबालिका, एचआइभि एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुर्याएका संस्थाहरूमध्ये नेपालभरबाट दुई वटा संस्था समाज कल्याण शिक्षा पुरस्कारका लागि छनौट भएका थिए ।
समाज कल्याण शिक्षा पुरस्कारबाट पुरस्कृत हुनेहरुमा कोपिला भ्याली सेवा समाज सहित एसओएस बालग्राम, भक्तपुर रहेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा संघ संस्थाका नामावली सार्वजनिक गरेको हो ।
मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार, पुरस्कृत हुने राष्ट्रिय शिल्ड तथा नगद पुरस्कार एक लाखदेखि तीन लाख रुपियाँसम्म प्राप्त गर्ने छन् ।






