मुख्यमन्त्री शर्माले पाए तेस्रो पटक विश्वासको मत

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । शुक्रवार प्रदेशसभा पहिलो अधिवेशनको चौधौं बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्री शर्माले संसद समक्ष विश्वासको मत छ भनि राखेको प्रस्तावमा २९ जना सांसदले पक्षमा र १० जनाले विपक्षमा मत हालेका थिए ।

गत पुस २७ गते नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शर्माले माघ ६ मा पहिलो पटक र फागुन १७ गते राप्रपाले सर्मथन फिर्ता लिएपछि संसद समक्ष दोस्रो पटक विश्वासको मत लिएका थिए । यस्तै गत चैत २७ गते सत्ता साझेदार दल एमालेले पनि समर्थन फिर्ता लिएपछि शर्माले तेस्रो पटक विश्वासको मत लिएका हुन । शर्मालाई नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् भने एमालेले विपक्षमा मत दिएकाे छ ।






