मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात भाँचिदिए गाडी चालकले

पोखरा,१६  माघ ।

मदिरा सेवन गरेर गाडी चलाएका पोखराका व्यवसायी सौरभ थापाले चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन्। थापाले जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी हवल्दार चित्रबहादुर वलीको हात भाँचिदिएका हुन्।

पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्प अगाडि गत बिहीबार बिहान ३ बजे प्रहरी हवल्दार चित्रबहादुर वली लगायत चेकिङमा बसेका थिए। मदिरा सेवन गरेर मातेका थापालाई प्रहरी हवल्दार वलीले रोक्न खोज्दा पनि नरोकी छलेर गाडी हुँइकाएको एक प्रहरी अधिकृतले बताए।

‘मदिराले मातेर गाडी चलाएको थाहा पाएपछि रोक्न खोजिएको थियो, स्टन्ट गरेर भागे,’ उनले भने, ‘फेरी फर्केर आएर प्रहरीलाई लक्ष्य गर्दै ठक्कर दिएको देखिन्छ।’ प्रहरीले रोक्न खोज्दा भागेका थापा फर्केर आउँदा फेरी प्रहरीले रोक्न खोजेको र गाडीको ढोकाले ठक्कर दिएर हात भाँचिदिएको ती अधिकृतले बताए।

मदिरा सेवन गरी गाडी चलाएर प्रहरीमाथि आक्रमण गर्न खोजेका थापालाई शुक्रबार नै प्रहरीले पक्राउ गरेर अदालतबाट ५ दिन म्याद थपेको छ।

गाडी चालक थापा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष ध्रुव थापाका छोरा हुन्। पश्चिमाञ्चल डिलर्स एसोसिएसनका मनोनित सदस्यसमेत रहेका थापा पोखरामा अटो व्यवसाय संचालन गर्छन्। २५ वर्षे थापाले पोखरामा यसअघि पनि गाडी स्टन्ट गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ।

ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई आक्रमण गर्नेगरी सवारी फर्काएर ठक्कर दिँदासमेत कास्की प्रहरीले भने अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ। कास्की प्रहरीका इन्स्पेक्टर सुवास तिमल्सिनाले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए।

‘गाडीको ठक्करले हाम्रा प्रहरी हवल्दार घाइते हुनु भएको छ,’ उनले भने, ‘ठक्कर दिनेलाई अभद्र व्यवहारमा अनुसन्धान गरिरहेका छौं।’

सेताेपाटी 

महाविद्यालयको वार्षिक खेलकुद सप्ताह सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds