कांग्रेस संसदीय दल नेताका लागि आज मनोनयन, शुल्क ५१ हजार

काठमाडौं,५ पाैष ।
नेपाली कांग्रेस संसदीय दलको निर्वाचनका लागि उम्मेदवारले आज मनोनयन दर्ता गर्नुपर्ने तालिका छ।
निर्वाचन समितिले निकालेको तालिकाअनुसार मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्ने हुन्छ। मनोनयन दर्ताका लागि शुल्क ५१ हजार रूपैयाँ तोकिएको छ। संसदीय दलको चुनावका सबै कार्यक्रम सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा हुनेछ।
कांग्रेसमा संसदीय दल नेताका लागि सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र संस्थापनइतर समूहबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिने सम्भावना छ। संस्थापनइतर समूहमा सहमति भएन भने नेता शेखर कोइरालाले पनि संसदीय दल नेताका लागि उम्मेदवारी दिन सक्ने सम्भावना छ।
संस्थापनइतर समूहबाट एक जना मात्रै उम्मेदवार तय गर्न आज बिहान ८ बजेदेखि लौनचौरस्थित एम्बास्डर होटलमा शेखर–गगनसहित उक्त समूहका नेताहरू छलफलमा जुटेका छन्। संस्थापन समूहबाट भने दल नेतामा देउवा मात्रै उम्मेदवार हुने सम्भावना छ। रामचन्द्र पौडेल र प्रकाशमान सिंहले दल नेतामा दाबी गरे पनि अहिले उनीहरू पछि हटेका छन्।
कांग्रेसमा प्रतिनिधि सभातर्फ ८९ जना सांसद छन्। उनीहरूले नै बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गरेर दल नेता चयन गर्नेछन्। कांग्रेसमा दल नेता हुन ५१ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ।
हेर्नुस् चुनावी तालिकाः

सेताेपाटी





