मुगुमा बाढी–पहिरोबाट ८ सय परिवार विस्थापित

मुगु,३१ असोज ।
मुगुमा गत साता गएको भीषण बाढी–पहिरोका कारण ८ सय २० परिवार पूर्ण रुपमा विस्थापित भएको जिल्ला विपद् तथा व्यवस्थापन समितिले जनाएको छ । बाढी–पहिरोबाट छायाँनाथ रारा नगरपालिकाबाट ४ सय १९ परिवार, सोरु गाउँपालिकाबाट १ सय ४७ परिवार र खत्याड गाउँपालिकाबाट २ सय ६४ परिवार पूर्ण रुपमा विस्थापित भई खुला चौरमा टेन्ट राखेर बस्न बाध्य भएका छन् ।
उक्त बाढी–पहिरोबाट जिल्लाको चारवटै स्थानीय तहमा करिब ४ हजार १ सय ८२ जना विस्थापित भएका छन् । समितिले गरेको सर्वेक्षण अनुसार छायाँनाथ रारा नगरपालिकाबाट २ हजार ८ सय १५ जना, सोरु गाउँपालिकाबाट ७ सय ९७जना र खत्याड गाउँपालिकामा १हजार ६ सय ७२ जना बाढी–पहिरोबाट विस्थापित भएको जिल्ला विपद् तथा व्यवस्थापन समितिले जनाएको छ ।
![]()
बाढी–पहिरोबाट छायाँनाथ रारा नगरपालिकाको सालिम गाउँमा ८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बाढीपहिरोबाट नगरपालिकामा १ सय ८, सोरु गाउँपालिकामा ६० र खत्याड गाउँपालिकामा ६८ घर पूर्ण रुपमा क्षति भएको समितिले जनाएको छ । यस्तै नगरपालिकामा २ सय २६, सोरु गाउँपालिकामा ५७ र खत्याड गाउँपालिकामा १ सय १७ घर बाढी–पहिरोबाट उच्च जोखिममा रहेको पाइएको छ ।
उक्त भीषण बाढी–पहिरोबाट मुगुमा ७४ वटा पशु चौपाय वस्तुको मृत्यु भएको छ । बाढी–पहिरोबाट विस्थापित परिवारलाई प्रदेश सरकारले त्रिपाल कम्मल उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । चौरमाटेन्टमा कष्टकर जीवन बिताइरहेका बाढी–पहिरो पीडित परिवारलाई खाद्यान्न अभाव चिसोले रुघाखोकी जस्ता समस्याले ग्रसित हुन थालेका छन् ।
कान्तिपुर





