मातृभाषा पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं, १२ असार ।

नेवा पत्रकार राष्ट्रिय दवु काठमाडौंले मातृभाषामा पत्रकारिताको अवस्था विषयक एक दिने मातृभाषी पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंमा आइतबार भएको अन्तरक्रिया कार्यक्रममा मातृभाषी पत्रकार तथा विज्ञहरुले आफ्नो प्रस्तुती गरेका थिए ।

सोअघि लेखक राकेश महार्जनद्वारा लिखित ‘आमसञ्चार व नेपाल भाषाया पत्रकारिता किताव’ लोकार्पण गरिएको थियो । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, नेवा पत्रकार राष्ट्रिय दवुका केन्द्रीय उपाध्यक्ष रचना श्रेष्ठ, फोनिज काठमाडौं शाखाका अध्यक्ष शैलेश डंगोल तथा लेखक महर्जनले संयुक्तरुपमा लोकार्पण गरे ।

अन्तरक्रिया कार्यक्रममा काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख विद्यासुन्दर शाक्यको पनि सहभागिता थियो । सो अवसरमा उहाँले मातृभाषा पत्रकारिताको संरक्षणका आवश्यकता रहेको बताउनुभयो । आफू महानगरको प्रमुखको जिम्मेवारीमा रहँदा नेपाल भाषा संरक्षण तथा यहाँको संस्कृतिको सम्बर्धनमा सहयोग गरेको बताउनुभयो । आगामी दिनमा पनि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भाषा साहित्य तथा संस्कृति हरेक समुदायको पहिचान र अस्तित्व भएकाले त्यसको संरक्षणमा लाग्नु सबैको कर्तव्य भएको बताए । महानगरले यसअघिदेखि सो क्षेत्रमा काम गरिरहेको र आफू महानगरको नेतृत्वमा रहँदा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नेवा पत्रकार राष्ट्रिय दवु काठमाडौं शाखाका अध्यक्ष अर्विन्द्रमान सिंहको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न मातृभाषी पत्रकार तथा साहित्यकारहरुले आफ्नो भाषा साहित्य तथा संस्कृतिको बारेमा संक्षेपमा जानकारी गराएका थिए  । मातृभाषा साहित्य तथा पत्रकारिता प्रवद्र्धनमा राज्यको लगानी शुन्यप्राय भएकाले त्यसमा राज्यको लगानी बढाउन माग गरे ।

सो अवसरमा संस्कृत भाषाका डा. नवराज कट्टेल, धिमाल भाषाका डा. सोमबहादुर धिमाल, थारु भाषाका लक्की चौधरी, शेर्पा भाषाको आङदावा शेर्पा, उर्दू भाषाका अब्दुल सलाम खान, मैथिली भाषाका मनोज झा, जिरेल भाषाका सुरज जिरेल, राजवंशी भाषाका अन्जु राजवंशी, डोटेली भाषाका दीपसागर पन्त, लिम्बु भाषाका विमला लिम्बु, मगही भाषाको राजकुमारी महतो, अवधि भाषाको हंसावती कुर्मी, राई भाषाको तिलक चाम्लिङ राई, नेवा भाषाको सुरेश किरण मानन्धर लगायतले मातृभाषा पत्रकारिताको अवस्था र राज्यले गर्नुपर्ने विषयमा सुझाव दिएका थिए ।

स्रोत  : गोरखापत्र

तपाईको प्रतिक्रिया