गाडी चढ्ने रहर पूरा गर्दैछाैँ : तेम्बा गुरुङ्ग

डोल्पा जिल्लाका अन्य स्थानीय तहभन्दा विकासमा पछि परेको डोल्पोबुद्ध गाउँपालिकामा पूर्वाधार विकासका कार्य तीव्र्र पारिएका छन् । केन्द्र सरकारको उपेक्षाका कारण यहाँको विकासले खासै गती लिन सकेको थिएन । तर संघीय संरचनापछि स्थानीय सरकार आउँदा विकासले तीव्रता पाएको स्थानीयको बुझाई छ । स्थानीय सरकार आएपछि गाउँपालिकाको विकासका लागि सडक निर्माणलाई मुख्य जोड दिईएको गाउँपालिका अध्यक्ष तेम्बा गुरु·ले बताए । गाउँपालिकाका सबै वडामा सडकको पहुँच पु¥याउने गरी सडक निर्माणमा जोड दिइएको उनको भनाइ छ । केही वर्षभित्रै सडक निर्माणको काम सकेर नागरिकको गाडी चढ्ने सपना पुरा गर्ने बाटोमा लागेको अध्यक्ष तेम्बा गुरुङले बताए । उनीसँग गरिएको कुराकानी सारांश ।
तेम्बा गुरुङ्ग
(अध्यक्ष, डोल्पोबुद्ध गाउ“पालिका, डोल्पा)

डोल्पो बुद्ध गाउँपालिकाको अवस्था बताई दिनुहोस् न ?

डोल्पो बुद्ध गाउँपालिकामा  धो–डोल्पामा रहेको छ । साविकका दुई धो र तिन्जे गाविस मिलेर बनेको यस गाउँपालिकामा जम्मा ६ वडा रहेका छन । यो गाउँपालिका माथिल्लो डोल्पा अर्थात् भोट क्षेत्रमा पर्दछ ।

यस क्षेत्रमा भोटे जातिका मानिसको बसोबास रहेको छ । यस क्षेत्रमा करिव ६ महिना हिउँ जम्ने हुदाँ यहाँका मानिसहरुको जीवनशैली निकै नै कष्टकर छ । डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै यहाँको विकासे गतिविधिले समेत तीव्र्रता पाएका छन् ।

जिल्लाको विकासले विस्तारै गतिलिन थालेपछि डोल्पो बुद्ध गाउँपालिकाले समेत आफ्ना विकासे गतिविधिलाई तीव्र्र पारेको हो । ६ वटा वडा रहेको यस गाउँपालिकाको विकासका लागि हामी लागि परेका छौं । गाउँपालिकाको कामका लागि कहिले जिल्ला बाहिर त कहिले जिल्लाभित्रै आफ्नो ईच्छा र स्वार्थभन्दा माथी रहेर समय दिने गरेको छु । तर कहिले काँही घरायासी कामले पनि पालिकाको काम गर्न सकिएको छैन ।

यसलाई स्वभावीक ठान्नुपर्छ । मैले जति सक्दो पालिकाबाट प्रवाह हुने सेवालाई छिटो छरीतो बनाउन र जनताको सेवामा खटिन खाजेको छु । सोही अनुसार घरासायी कामभन्दा पालिकाकै कामका लागि मेरो दिनचर्या बित्नेगर्छ ।

गाउँपालिकामा विकासे गतिविधि कसरी सञ्चालन हुदैछन् ?

विकासे गतिविधिलाई हरेक वर्ष प्राथमिकताका आधारमा सञ्चालन गर्छाै । तर सडक निर्माण मुख्य प्राथमिकतामा छ । यहाँको संचार सेवा, शिक्षा र स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेका छौं । यसरी नै सडक, संचार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा क्रमश विकास पनि हुँदै जानेछ ।

सडकको विकास नभएसम्म अन्य पुर्वाधार विकास गर्न कठिनाई हुने भएकाले पहिलो प्राथमिकतामा सडक र संचार राखेका हाैँ । हरेक बेरोजगारलाई उद्यमी बनाउन कृषि, पशुपालन र अन्य व्यवसायमा अनुदान तथा आर्थिक समृद्धिका कार्यक्रम पनि जारी छन् ।

तपाइँ निर्वाचित भएपछि हालसम्म भएका नयाँ काम वा उपलब्धी के–के हुन् ?

म निर्वाचितपछि सडक र संचार क्षेत्रमा क्रमश मुख्य उपलब्धी हुँदै गएको छ । किनकी सडक नवन्दा हाम्रो गाउँपालिकामा एक ठाउँबाट अर्को ठाउँ जान, विरामीको तत्काल उद्दार गर्न, गाडीमा सामान ढुवानी गर्न निकै समस्या छ । म निर्वाचित भएपछि सडकलाई नै पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छु ।

अहिले ६ वटै वडामा सडक विस्तारको काम जारी छ । सडककै कारण सामान ढुवानीमा भोग्नुपर्ने समस्या अन्त्य गर्ने पहलमा छौं । नागरिकले घरमै बसेर खाद्य तथा निर्माण सामाग्री किन्न पाएका छैनन् । सधँै घोडा, खच्चरबाट खाद्यन्न ढुवानी गर्नुपर्ने बाध्यता छ । अर्को पहिले कुरा टेलिफोन नहुँदा एक गाउँबाट अर्को गाउँ खबर पठाउन हिडेरै जानुपर्ने अवस्था थियो ।

अहिले त्यो अन्त्य गर्ने पहलमा छाै‌ पालिकामा रहेका सबै विद्यालयमा आवश्यकता अनुसारको भौतिक संरचना तथा जनशक्ति व्यवस्थापन हुदैछ । प्रत्येक वडामा स्वास्थ्य ईकाई केन्द्र स्थपना गर्न लागेका छाै । महत्वपुर्ण अर्को कुरा आर्थिक विकास नभएसम्म समृद्ध गाउँपालिका बन्दैन भन्ने मेरो ध्येयले, कृषि, पशुपालन र अन्य व्यवसायमा अनुदान कार्यक्रम सञ्चालन गरेका छाै‌ँ ।

गाउँपालिकामा अहिले खाद्यन्न आयात, निर्यातको अवस्था के छ ?

हामी मासुजन्यमा आत्मनिर्भर नै छौं । यहाँबाट भेडाबाख्रा निर्यात हुँदै आएका छन् । तर अन्य कृषिजन्य वस्तुमा आत्मनिर्भर छैनाै । सधैँ सरकारी अनुदानको खाद्य संस्थानले दिने चामलको भरमा यहाँका स्थानीय बाचेका छन् । बहुमुलय जडिबुटी यार्सागुम्बा टिपेर आम्दानी भएको रकमले खाद्यान्न आयात गर्नुपर्ने यहाँको अवस्था हटेको छैन । त्यसैले आवश्यक कृषि उत्पादन बृद्धिका पनि कार्यक्रम गर्दैछौ ।

चिसो मौषम र यहाँको खण्डिकृत जग्गामा निर्वाहमुखी खेती पद्धति छ । त्यसैले अब पकेट क्षेत्रको रुपमा व्यवसायिक खेती प्रणाली अपनाउन जरुरी छ । यसका लागि पालिकाले आवश्यक नीति तथा कार्यक्रम बनाएर कृषि उत्पादन बृद्धिका कार्यक्रम सञ्चालन गर्नेछ ।

गाउँपालिकामा कर्मचारी नबस्ने समस्या अन्त्य भयो त ?

अहिले त खासै कर्मचारी नबस्ने समस्या छैन । तर आवश्यकता अनुसार कर्मचारी पूर्ती नहुँदा भने समस्या छ । खरिदारलाई कार्यकारी बनाउनुपर्ने पनि स्थीति आउँछ । तर अहिले यसमा सुधार हुँदै गएको छ । प्रायः कर्मचारीहरु सुगममा बस्न मान्ने तर, दुर्गममा जान नखोज्नुले पहिले समस्या थियो ।

सुगम जिल्ला सुर्खेत, जुम्ला जतिकै कर्मचारीलाई डोल्पामा पनि सेवा दिन सकिन्छ, तर कर्मचारी आउन मान्दैनन् । त्यो उनीहरुको साघुरो सोचाई र भौगोलिक विकटताकै कारण हो । तर गाउँपालिकामा आइसकेका कर्मचारी भने मज्जाले बसेर आफ्नो कर्तव्य पुरा गर्दै जनतालाई सेवा दिइरहेका छन् ।

कर्मचारी र जनप्रतिनिधिबिचको सहकार्य कस्तो छ ?

अन्य ठाउँमा जस्तो हाम्रोमा कुनै पनि बिषय बस्तुमा कर्मचारी र जनप्रतिनिधिबीच किचलो हुँदैन । कर्मचारी र जनप्रतिनिधिले एक आपसमा समन्वय र सहकार्य गरी प्रभावकारी रुपमा सेवा दिने जोड छ । कुनै पनि काम गर्दा सरसल्लाह नभई अघि बढ्दैनाैँ ।

यतिसम्मकी पहिलो गाउँसभाबाटै गाउँपालिकाको केन्द्रसमेत निर्विवाद तोक्न सफल भयौ । अहिले भवन निर्माणका लागि बजेट विनियोजन गरेका छाैँ । तर सडककै कारण यातायात सेवा नहुदाँ सामाग्री ढुवानीमा समस्या हुदाँ सोचे अनुसार निर्माणका काम गर्न सकिएको छैन ।

शिक्षक, विद्यार्थी नियमितताको अवस्थामा सुधार आयोकी उस्तै छ ?

गाउँपालिकाले शिक्षामा लगानी बढाएपछि शैक्षिक क्षेत्रको सुधारसँगै शिक्षक, विद्यार्थी नियमितता पनि बढेको छ । विस्तारै विद्यालयका आवाश्यकता पुर्ती गर्दै जानुपर्ने अवस्था छ । शिक्षक, विद्यार्थी नियमित बनाउन अझैँ केही कदम चाल्नुपर्ने स्थिती छ ।

विद्यालयमा आवशयक भौतिक संरचना निर्माणको काममा जुटेका छौं । अतिपय अभिभावकले गरीबीका कारण बालबालिकालाई विद्यालय नै पठाउँदैनन् । सानैमा विहेगरी दिने चलन पनि छ । त्यसैले यहाँका बालबालिकालाई लक्षित गरी आवासीय विद्यालय बनाउन जरुरी छ ।

विकास निर्माणमा के कस्ता चुनौती छन् ?

चुनौती त, धेरै छन् । नागरिकमा अझैँ चेतनास्तरको कमि छ । उपभोक्ता समितिमा सधैँ जान्नेबुझ्नेनै बस्छन् । तीनैले सोझा नागरिकलाई उच्काउँछन् र विकासमा अवरोध गर्छन् । तर अहिले कम हुँदै गएको छ । हामी हरेक योजनामा पारदर्शी बन्दै गएपछि अहिले नागरिकले पनि हामिलाई विश्वास गर्न थालेका छन् ।

विकासे काममा बाधा भन्दा सहकार्य गर्नुपर्छ । सडक निर्माणका लागि स्थानीयवासी मापदण्ड अनुसार जग्गा छोड्दैनन् । अर्काको जग्गा गयो भने खुसी हुने तर आफ्नो गयो भने दुखी हुने चलन छ । यसमा नागरिकले बुझेका छैनन् । हामीले पनि बुुझाउन नसकेको महशुस भएको छ । पालिकाले गर्न खाजेको काम र स्थानीयको बुझाईमा फरक पर्दा समस्या हुने गरेको छ । विशेष गरी भौगोलिक विकटताका कारण सडक नबन्दा अन्य विकासमा चुनौती छ ।

जनप्रतिनिधिमाथि सधैँ भ्रष्टाचारको आरोप लाग्दै आएको छ नी ?

यो कुरा स्वभावीक हो । किनकी सबै स्थानीय तहमा एउटै खालको विकास र लगानी भएको छैन । सोही अनुसार भएका गतिविधिबारे पारदर्शीता नहुनसक्छ ।
त्यसैले आरोप लाग्छ नै ।

तर हाम्रो गाउँपालिकामा भ्रष्टाचार शुन्य स्थितीमा छ । वार्षिक कार्यक्रम अनुसार समयमै योजना सम्पन्न गर्ने गरेका छौँ । हरेक योजनाको सार्वजनिक सुनुवाई हुन्छ । त्यसैले अन्य जनप्रतिनिधिमाथि भष्टाचार आरोप लाग्दैमा हामि आत्तिनुपर्ने स्थिति छैन ।

तपाईको बाँकी कार्यकालमा गर्नैपर्ने काम केहीछन् ?

सबैभन्दा पहिले गाउँपालिकाभर सडक निर्माण नभएसम्म अन्य विकासको अपेक्षा गर्न सकिदैन । त्यसैले मेरो मुख्य प्राथमिकता भनेकै मेरो कार्यकालभित्र सबै वडा र बस्तिमा सडक पु¥याउने भन्ने हो । म मेरो कार्यकालभित्र गाउँपालिकाका सबै वडामा गुणस्तरीय सडक पु¥याएर सवारी चल्ने बनाउने छु ।

बाँकी स्थानीयको आर्थिक विकास नभएसम्म समृद्ध गाउँपालिका र खुसि नागरिक हुनसक्दैनन् । त्यसैले आर्थिक समृद्धिका लागि पनि मेरो पहल हुने छ । कुनैपनि नागरिक भोकै मर्नुपर्ने छैन । त्यसका लागि मैले मेरो बाँकी कार्यकालभित्र गाउँपालिकामा कृषि, पशुपालन र व्यापार व्यवसाय बृद्धिका अभियान थाल्नेछु ।

तपाईको प्रतिक्रिया