भोटेकोशी बाढीपीडितका लागि बौद्ध ग्रामीण सहकारीद्वारा ३ लाख २२ हजार सहयोग

सुर्खेत ,२२ भदौ ।
रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ३ लाख २२ हजार ७५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै सहकारीले पीडितप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो।
सहकारी संस्थाका अनुसार बाढीबाट ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा प्रियजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ। साथै बाढीका कारण घाइते, बेपत्ता तथा विस्थापित भएका र घर, व्यवसाय, सम्पत्ति तथा जीविकोपार्जनको आधार गुमाएका नागरिकप्रति सहकारीले गहिरो सहानुभूति व्यक्त गरेको छ।

विपद्को कठिन घडीमा सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई आत्मसात् गर्दै सहकारी संस्थाको सञ्चालक समिति, कर्मचारी परिवार तथा संस्थाको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख २२ हजार ७५ रुपैयाँ आर्थिक सहयोग गरिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत विशाल केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सहकारीले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आफ्नो क्षमता र इच्छाअनुसार सहयोग गर्न सबैमा अपिलसमेत गरेको छ। संस्थाले विपद्को समयमा मानवीय सेवामा हातेमालो गर्दै पीडित नागरिकलाई सहयोग पुर्याउनु सबैको साझा दायित्व भएको जनाएको छ।






