कर्णालीको स्याउलगायत अर्ग्यानिक उत्पादन प्रदर्शनी

काठमाडौँ ,२२ भदौ।
कर्णालीको स्याउलगायत अर्ग्यानिक उत्पादनको यहाँ प्रदर्शनी गरिएको छ । कर्णाली प्रदेशको जुम्लाको स्याउ काठमाडौँमा बिक्री वितरणका लागि सङ्घीय र कर्णाली प्रदेशका कृषि मन्त्रालयको सहजीकरणमा भद्रकाली प्लाजास्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) परिसरमा प्रदर्शनी एवं बिक्री सप्ताह सुरु भएको छ ।
जुम्लाको स्याउ सुर्खेत र काठमाडौँमा प्रवद्र्धनका लागि चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले काम गरिरहेको छ । सो सहकारीका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले रासायनिक पदार्थ नराखी एक महिनासम्म शुद्ध र ताजा राखेर जुम्लाको अर्ग्यानिक स्याउ बिक्री वितरण थालिएको बताउनुभयो ।

जुम्लाको स्याउ ‘ग्रेडिङ’ गरी चार वर्गमा छुट्याएर बिक्री वितरण भइरहेको छ । ‘थेल्ड डेलिसियस’, ‘डेलिसियस’, ‘जनाथन’, ‘गोल्डेन’, ‘गाला’, ‘चकलेटी’, ‘इटालियन’ ९फुजी० जातका स्याउ जुम्लामा उत्पादन भइरहेको छ । जुम्लामा धेरै उत्पादन हुने फलफूल स्याउ नै भएको कार्यकारी निर्देशक पाण्डे बताउनुहुन्छ । ओखर, सिमी, मार्सी चामल, कागुनोलगायत जुम्लाका उत्पादन पनि प्रदर्शनीमा बिक्रीका लागि राखिएका छन् ।
बजारमा पाइने अन्य स्याउभन्दा गुणस्तरीय भएको कार्यकारी निर्देशक पाण्डेको भनाइ छ । सुर्खेतस्थित प्रयोगशालामा परीक्षण गरी स्याउ बिक्री गर्न राजधानी ल्याउने गरिएको उहाँले बताउनुभयो । काठमाडौँ भित्रिनुअघि जुम्लाको स्याउको बजार सुर्खेत र नेपालगञ्जमा थियो ।
नार्क परिसरमा प्रदर्शनीमा राखिएको स्याउ गुणस्तर अनुसार प्रतिकिलो रु २००, रु २५० र रु ३०० मा बिक्री भइरहेको छ । प्रदर्शनी बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म चल्ने छ । सहकारीले यस वर्ष जुम्लाको तीन लाख किलो स्याउ बिक्री गर्ने लक्ष्य राखेको छ । सहकारीले अहिले बालाजु, सुर्खेत, नेपालगञ्ज, कोहलपुर र कपिलवस्तुको शीत भण्डारमा स्याउ सुरक्षित राखी बिक्री वितरणको तयारी गरिरहेको छ ।
चन्दननाथ बहुउद्देश्यीय सहकारीका सल्लाहकार हरिहर न्यौपाने जुम्लाको स्याउ राजधानीमा बजारीकरणका लागि यस वर्ष रु पाँच करोड लगानी गरिएको बताउनुहुन्छ । झण्डै २९ हजार स्याउ उत्पादक जुम्ली किसान शेयर सदस्य भई आबद्ध रहेको उक्त सहकारीमा १९ हजार महिला शेयर सदस्य रहेका उहाँले जानकारी दिनुभयो ।
जुम्लाको स्याउ प्रदर्शनी भइरहेको नार्क परिसरमा आज कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले समेत अवलोकन गर्नुभयो । स्याउको गुणस्तर अनुसार वर्गीकरण गरेर बिक्री वितरण गर्न उहाँले सुझाव दिनुभयो । कालीमाटीबाट काठमाडौँ उपत्यकाका सबै स्थानीय बजारमा पुग्ने गरी पनि जुम्लाको स्याउलगायत अर्ग्यानिक उत्पादन पठाउन मन्त्री चौधरीले सुझाव दिनुभयो । त्यसका लागि आवश्यक सहजीकरण गर्न मन्त्रालयले सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो ।





