बाँकेमा प्रदेश सरकारका १५ पुल निर्माण, स्थानीयको आवागमन सहज

बाँके, २१ भदौ ।
लुम्बिनी प्रदेश सरकारले सङ्घीयता कार्यान्वयनपछि बाँकेमा १५ वटा पक्की पुल निर्माण सम्पन्न गरेको छ । पुल निर्माणसँगै वर्षायाममा खोला तथा नाला तर्नुपर्ने बाध्यता हट्नुका साथै ग्रामीण क्षेत्रका हजारौँ स्थानीय बासिन्दाको आवागमन सहज भएको छ ।
लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सडक पूर्वाधार विकास कार्यालय, बाँकेका प्रमुख चन्द्रबहादुर शाहका अनुसार जिल्लामा १५ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । थप दुई वटा पुल निर्माण सम्पन्न हुने चरणमा छन् भने दुई वटा पुल निर्माणका लागि बहुवर्षीय ठेक्का आह्वान भइसकेको छ ।
उहाँका अनुसार बैजनाथ गाउँपालिका–६ स्थित जेठी नाला र कोहलपुरमा पक्की पुल निर्माण भइरहेको छ । स्थानीय आवश्यकताका आधारमा नयाँनयाँ स्थानमा पुल निर्माणलाई प्राथमिकता दिइएको उनले बताए । “प्रदेश सरकारले आवश्यकताका आधारमा पुल निर्माणलाई प्राथमिकता दिएको छ। स्थानीयको माग र आवश्यकताका आधारमा नयाँ स्थानमा पनि पुल निर्माणको काम अघि बढाइएको छ,” शाहले भने ।
कार्यालयका अनुसार डुडुवा नाला, जेठी नाला, किरण नाला, गौरी नाला, गेरुवा नाला, गडगैचा नाला, गन्धैला नाला, दोन्द्रा नाला र रोहिणी खोलालगायतका स्थानमा पुल निर्माण सम्पन्न भएका छन् । किरण नालाअन्तर्गत खजुरा–२, सिगाउँ, खजुरा–४, चल्तुवा, सिर्जनाटोल तथा साईगाउँमा पक्की पुल निर्माण गरिएको छ ।
सिर्जनाटोल र साईगाउँका पुल भने निर्माण व्यवसायीको ढिलासुस्तीका कारण निर्धारित समयमा सम्पन्न हुन नसकेको कार्यालयले जनाएको छ । त्यस्तै, जेठी नालाअन्तर्गत चार वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने एचगाउँमा नयाँ पक्की पुल निर्माण भइरहेको छ ।
पुल बनेपछि स्थानीय बासिन्दाले दैनिक आवतजावतमा ठूलो राहत मिलेको बताएका छन् । बैजनाथ–६ का स्थानीय रामबहादुर थारूले पुल नहुँदा वर्षायाममा खोला तर्न निकै समस्या हुने गरेको बताउँदै अहिले सहज भएको बताए । “पहिले पानी बढेपछि वारिपारि गर्न डराउनुपर्थ्यो। अहिले पक्की पुल बनेपछि मोटरसाइकल, साइकल र पैदल हिँड्न पनि सजिलो भएको छ,” उनले भने ।
त्यस्तै खजुरा–२ का स्थानीय सीता विकले पुल निर्माणपछि गाउँका विद्यार्थी, किसान र बिरामीलाई विशेष सुविधा भएको बताए । “पुल नहुँदा विद्यालय जाने बालबालिका र बिरामीलाई निकै समस्या हुन्थ्यो। अहिले जुनसुकै समयमा पनि सहजै आवतजावत गर्न सकिन्छ,” उनले भने ।
कोहलपुरका स्थानीय भिमबहादुर बुढाले पुल बनेपछि गाउँको सडक सञ्जालसँगको पहुँचसमेत सहज भएको बताए । “पहिले खोला बढेपछि बाटो नै बन्दजस्तो हुन्थ्यो । अहिले पुल बनेपछि बजार, अस्पताल र अन्य सेवा लिन जान सजिलो भएको छ,” उनले भने ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले संघीयता कार्यान्वयनपछि प्रदेश सरकारले पुल निर्माणको क्षेत्रमा उल्लेख्य काम गरेको बताए । “संघीयता कार्यान्वयनपछि लुम्बिनीमा दर्जनौँ पुल निर्माण गरिएको छ । यसबाट सवारीसाधन सञ्चालनमा सहजता भएको छ,” उनले भने ।
मन्त्री खत्रीले पुलसँगै सडक निर्माणलाई समेत प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । पुल र सडक पूर्वाधार विस्तारले ग्रामीण क्षेत्रलाई बजार तथा सेवा केन्द्रसँग जोड्नुका साथै स्थानीयको दैनिक जीवनयापन सहज बनाउन महत्वपूर्ण योगदान पुर्याएको उनको भनाई छ ।





